काठमाडौंमा चासोक तङ्नाम
काठमाडौं : चासोक तङ्नामका अवसरमा ताप्लेजुङ समाजले विषेश कार्यक्रम गर्ने भएको छ। काठमाडौंको धुम्बाराहीमा रहेको एसआर पार्टी प्यालेसमा पुस १० मा चासोक मनाउने निर्णय गरिएको समाजका कार्यवाहक अध्यक्ष रमेश बरालले जानकारी दिए।
काठमाडौंमा रहेका ताप्लेजुङवासीबीच एकता कायम गर्दै संस्कृति प्रवद्र्धनका लागि सामूहिक रुपमा चासोक मनाउन लागिएको हो। चासोक लिम्बू समुदायको मौलिक चाड हो।
कार्यक्रममा लिम्बू समुदायको धर्म, संस्कृति, भाषा, भेषभूषा र परम्पराको अवलोकन गर्न पाइने छ। कार्यक्रममा साँस्कृतिक झाँकी, धाननाच, बिजुवानाच, च्याब्रुङ नाच, स्यार्बो नाच, तामाङ सेलो, साकेला र बालन तथा संगिनी नाचसमेत प्रस्तुत गरिने कार्यवहाक अध्यक्ष बरालले जानकारी दिए।
यसैगरी ताप्लेजुङका मौलिक उत्पादन ढाका कपडा, राडी, पाखी, गलैंचा, छुर्पी र अलैंचीका स्टल पनि राखिने छ। चासोक तङ्नामलाई न्वागी पर्व पनि भनिन्छ। यो नयाँ अन्नबाली चढाउने पूजा पनि हो।