शरीर स्वस्थ छ सबै छ, स्वस्थ छैन केही छैन

शरीर स्वस्थ छ सबै छ, स्वस्थ छैन केही छैन

नियमित योग र ध्यानमार्फत जीवन शक्तिको विकास हुन्छ। यसबाट शरीरका ८० प्रतिशत रोग नियन्त्रण गर्न सकिन्छ


रोगी भएपछि अझ एकपछि अर्को रोग थपिँदै गएको बेला थाहा हुन्छ, ‘शरीर स्वस्थ ठिक छ सबै छ, स्वस्थ छैन केही छैन।’ जो बिरामी भयो, पीडा उसैलाई थाहा हुन्छ। हो, यो जगत्मा स्वास्थ्यजस्तो अर्को महŒवपूर्ण चिज केही छैन। अहिले शरीरमा अलिअलि तागत बल हुञ्जेल हामी केही कुराको पनि वास्ता गर्दैनौं। हाम्रा अग्रजहरूले यी सबैको हितमा काम गरेका छन्। त्यसलाई समेत हामीले बुझेर दैनिक जीवनमा प्रयोग गर्न सकेका छैनौं। नयाँ पुस्ता हामीले त्यसभन्दा एक फड्को मार्नुपर्ने हो। खै कहिले ?

नागरिकको प्रतिनिधि भनिएका हाम्रा नेतालाई आफ्नो स्वास्थ्य कति प्यारो छ ? उपचारका लागि के गर्नुहुन्छ ? कहाँसम्म पुग्नुहुन्छ ? छर्लंगै छ। यथार्थ पनि त्यही हो, उहाँहरू स्वस्थ भए मात्र हामीले सेवा लिन पाउने हो। उहाँहरू नै अस्वस्थ भइदिनुभयो भने हामी सबै नागरिकको हात के होला ? नेताहरूले पनि नागरिकको स्वास्थ्य ख्याल राख्नुपर्छ। किनकि यदि देशका नागरिक नै अस्वस्थ भए भने उहाँहरूले गरेको विकास कसका लागि ? त्यो के प्रयोजनमा आउला ? हामी नागरिकले नेताको र नेताहरूले नागरिकको स्वास्थ्यको ख्याल राख्नु एकआपसमा कर्तव्य हुन आउँछ। आफ्ना नागरिक नै अस्वस्थ छन् भने नेताले गर्ने कुनै पनि कामको अर्थ हुँदैन। त्यसैले भनेको हुँ, स्वास्थ्य सर्वोपरि हो। हामीले स्वास्थ्य शरीरका लागि नगरेको त होइन, दिनहुँ गरेकै छौं। कति स्वास्थ्य चौकीहरू खुलेका छन्, अस्पताल बनायौं। तर त्यहाँभित्र पनि व्यापार देखिन्छ।

समाज बदल्न नागरिकलाई स्वस्थ राख्नै पर्छ। धर्मको मूल आधार भनेकै स्वस्थ हो। शरीर, मन, भावना र चेतना चारै तहमा शुद्ध बनाउने निर्विकल्प उपाय हो, ऊर्जा ध्यान।

अचम्म लाग्छ, यहाँ अस्पताल चल्छ कि चल्दैन ? नाफा हुन्छ कि हुँदैन ? यसमा हामी केन्द्रित छौं। स्वास्थ्य पनि व्यवसाय बन्यो। अर्काको पीडाबाट फाइदा कमाउने ! कहिले को बिरामी होला भनेर कुरेर बस्नुपर्ने व्यापार ? सेवा हुनुपथ्र्यो तर अफसोच ! कमाउने साधन बनेको छ अस्पताल। ठीक छ जस्तो छ, अस्वस्थ भएपछि गर्नै पर्‍यो उपचार त। चाहे त्यो जतिसुकै महँगो होस्। बिरामी भएपछि ‘नाइँ’ भन्न मिलेन। भए वा नभए पनि खर्च त गर्नै पर्‍यो किनकि स्वस्थ हुनु छ। त्यसका लागि अस्पताल र स्वास्थ्य चौकीहरू बनाएर सहयोग पुर्‍याउनु भएको छ, संघ, संस्था, स्थानीय र केन्द्रीय सरकारहरूले। मात्र एउटा सल्लाह दिन चाहन्छु, जसरी यहाँहरूले अस्पताल र स्वास्थ्य चौकी आदि निर्माणका लागि काम र खर्च गर्नुभएको छ ठिक त्यसैगरी योगका लागि पनि काम गर्नुहोस्।

कमसेकम एउटा टोलमा एउटा ध्यान योग प्रयोगशाला चाहिन्छ। मानिसलाई बिरामी हुनबाट बचाउने हो भने। यसको अर्थ यो होइन कि योग गर्नेबित्तिकै सबैथोक ठिक हुन्छ। सबैका आआफ्ना क्षेत्र छन्। कसैलाई पनि हामीले अलग गर्न मिल्दैन। डाक्टरहरूको आफ्नो भूमिका छ, वैद्यको पनि आफ्नै भूमिका छ। घरको भान्छामा हुने मरमसला औषधि पनि हुन् तिनको समेत रोग उपचारका लागि आफ्नै भूमिका हुन्छ। योग प्राणायामको पनि भूमिका यस्तै फरक खालको छ, विशिष्ट छ। योग गर्‍यो भने भाँचिएको खुट्टा पनि ठिक हुन्छ, म यो भन्दिनँ, होइन पनि। त्यसका लागि प्लास्टर गर्न अस्पताल पुग्नैपर्छ। यस्तै केही उपचारका लागि अस्पताल चाहिन्छ नै। तर, जति मानिसले अस्पतालमा गएर खर्च गरेका छन्, दुःख पाएका छन्। यदि नियमित रूपमा योग, प्राणायाम र ध्यान गर्ने हो भने आफ्नो जीवन शक्तिको विकास हुन्छ। जसले शरीरका ८० प्रतिशत रोग नियन्त्रण गर्न सक्छौं। यो अनुसन्धानले पुष्टि गरेको विषय हो।

अहिलेका मानिस ३०, ३२ वर्ष भएको छैन, रोग लागेको भेटिन्छ। के भयो ? भनेर सोध्दा प्रेसर बढ्यो, सुगर भयो आदि भनिहाल्छन्। भन्छन्, यही उमेरमा यो पनि खानु भएन, त्यो पनि खानु भएन। खाउँ खाउँ भन्ने उमेरमै मन लागेका खानेकुरा बारेर बस्नु परेको छ। बिडम्बना यहाँ भन्दा नमजा जीवनमा के होला ? योग, प्राणायाम र ध्यान गर्‍यो भने यो अवस्था आउँदैन। जसले जे दिन्छ, मजाले खाए हुन्छ। यो रोग ऊ रोग भनेर गन्थन गरेर बस्नु पर्दैन। ६ दशक पुगें, रोग भनेको के हो ? अहिलेसम्म भोग्नु परेको छैन। छैन त छैन। गरे त हुँदो रहेछ नि। के के न गर्नुपर्छ भन्ने लाग्छ योग नगर्नेलाई। बिहानको डेढ घण्टा ५ बजेदेखि साढे ६ बजेसम्म धेरैको त सुत्ने नै समय हो। बिहान धेरै सुतेर रोग किन निम्त्याउने ? डेढ घण्टा छिटो उठे के बिग्रन्छ ? बरु धेरै कुरा सप्रन्छ।

मान्छे धर्मका कुरा गर्छन्। वेदव्यासले १८ पुराण लेखे। पुराणको सार के छ भने, ‘अरूको हितमा काम गर्नु नै पुण्य हो। अरूको अहितमा काम गर्नु पाप हो।’ धर्म भनेको फोटो अगाडि राखेर पूजा गर्नु मात्र होइन। जसले परोपकारका लागि खर्च गर्छ ऊ धार्मिक हो। सेवा नै शान्तिको मूल हो। सेवाले नै भवसागर तार्छ। जुनसुकै व्यक्ति वा संस्था हुन्, जसले अरूलाई स्वस्थ हुन सिकाउँछ, सहयोग गर्छ उसैलाई पुण्य मिल्छ। मुलुकभरका सबै स्थानीय सरकार सुरुआतमा हरेक वडामा कम्तीमा एउटा योग प्रशिक्षण केन्द्रका लागि भवनमा लगानी गरून्, नागरिक स्वस्थ बनाऊन्। एउटा ठूलो अस्पतालमा गर्ने लगानीले हरेक टोलमा योगका लागि ससाना भवन बनाउन पुग्छ। अस्पतालमा जस्तो बर्सेनि खर्च पनि गरिरहनु पर्दैन। न डाक्टर र कर्मचारीलाई तलब दिनुपर्छ। बरु नागरिकले रोग निको पार्न खर्च गर्दैनन् र रोग लागेर दुःख पनि पाउँदैनन्।

जहाँ जहाँ फोहोर जम्मा हुन्छ, त्यहाँ त्यहाँबाटै रोगको उत्पत्ति हुन्छ। पेटमा जम्मा भएको फोहोर सहज निष्कासन भएन भने कब्जियत हुन्छ। अनि बिरामी सुरु हुन्छ। रगतमा फोहोर भयो भने पनि मान्छे बिरामी हुन्छ। हामीभित्र भएका ७२ करोड नाडीबाट ऊर्जा सञ्चालन हुन्छ, शक्ति सञ्चालन हुन्छ। त्यहाँ कहीँ कतै फोहोर जम्मा हुन दिनु हुँदैन। फोहोरको सफाइबाट सबै प्रकारका रोगको अन्त्य हुन सक्छ। हाम्रा अग्रजहरूले फोहोर सफा गर्ने विधि सिकाएका छन्। जसलाई धर्म भनिन्छ। संसार भनेको फोहोर जम्मा गर्ने विधि हो, अध्यात्म भनेको फोहोर सफा गर्ने विधि हो।

अध्यात्मले सफाइ मात्र गर्छ। सफा बन्यौं भने स्वस्थ भयौं भने हामी आनन्दित हुन्छौं। सुखी बन्छौं र खुसी रहन सक्छौं। त्यसैले अध्यात्मले दिने आनन्द र सुखको आधार भनेकै सफाइ हो। योग, प्राणायाम र ध्यान गर्‍यौं भने शरीर शुद्ध हुन्छ। शरीर शुद्धिले मन र चेतनाको पनि शुद्धीकरण हुन थाल्छ। ध्यानले यसलाई माझ्दै लैजान्छ। शरीर, मन र वातावरण यी तीनवटै कुरा सफाइ गर्दै गयौं भने रोगले स्थान नै पाउँदैन। धेरैलाई थाहा नहुन सक्छ, शरीर मात्र होइन, मनमा पनि फोहोर हुन्छ र मानिस अस्वस्थ हुन्छ। मनको फोहोर भनेको काम, क्रोध, लोभ, मोह, ईष्र्या र द्वेष हुन्। यी सबैले मनलाई दूषित बनाउँछन्। मानिसमा नकारात्मक भावना जन्माउँछन्।

जब मानिस नकारात्मक बन्छ तब उसले न आफूलाई सही बनाउँछ न अरूलाई सही बाटोमा हिँड्न नै दिन्छ। म सक्दिनँ, मबाट हुँदैन, सम्भव नै छैन आदि विचार जन्माउँछ र हरेक काममा असफलता देख्छ। जब योग, प्राणायाम र ध्यानको बाटो समात्छौं, तब हामी स्वस्थ्य हुन्छौं र सकारात्मक बन्छौं। जब मानिस सकारात्मक बन्छ, ऊ म सक्छु, म गर्छु, मबाटै सम्भव छ भन्ने बाटोमा पुग्छ। हरेक काम समयमै गुणस्तरीय ढंगले सफलतापूवर्क काम गर्न थाल्छ। चित्त शुद्ध भए ध्यान सम्भव हुन्छ। यसपछि शान्ति, समृद्धि, सुख र सफलता प्राप्त हुन थाल्छ।

स्वस्थ नागरिकले नै हो देश विकासमा सहयोग गर्ने पनि। सबैले सबैका लागि मिलेर काम गर्नुपर्छ। स्वस्थ्य व्यक्तिबाट मात्र सेवा सम्भव छ, त्यसैले समाज बदल्न नागरिक स्वस्थ राख्नै पर्छ। अस्वस्थ व्यक्तिले सेवा दिन सक्दैन। धर्मको मूल आधार भनेकै स्वास्थ्य हो। शरीर, मन, भावना र चेतना चारै तहमा शुद्ध बनाउने एउटै मात्र निर्विकल्प उपाय हो, ऊर्जा ध्यान। ध्यानले मात्र पनि पुग्दैन, ऊर्जा ध्यान अनिवार्य हुनुपर्छ। जुन सिटामोलभन्दा पनि अगाडि छ। सिटामोललाई परिणाम दिन आधा घण्टा लाग्छ। ऊर्जा ध्यान गर्नुहोस्, टाउको दुखेको पाँच मिनेटमै ठीक हुन्छ। ऊर्जा ध्यान उधारो होइन, तँ धर्म गर मरेपछि स्वर्ग पुग्छस् भनेजस्तो होइन। ऊर्जा ध्यान नगद हो, अहिले ध्यान गर्नुहोस् अहिले नै परिणाम लिएर जानुहोस्।

ऊर्जा ध्यानको कला सिक्नुहोस्। ऊर्जा तीन प्रकारका हुन्छन्, जगत् ऊर्जा, जीवन ऊर्जा र परम ऊर्जा। जसका कारण सबै ऊर्जा छ। हामी बोलीमा भरोसा गर्दैनौं, परिणाममा भरोसा गर्छौं। हामी बुझाइलाई होइन, भोगाइलाई महŒव दिन्छौं। आफैंले भोगेर आफ्नो भोगाइमा वास्तविकता जोडेर भरोसा गर्छौं। हामी सबैलाई आफूभित्रको जीवन शक्तिमा भएको जीवन ऊर्जालाई चिन्ने अवसर प्राप्त होस् भन्ने चाहन्छौं। आफ्नो जीवन ऊर्जालाई प्रयोग गरेर आफ्ना सम्पूर्ण समस्या समाधान गर्ने अवसर प्राप्त होस्। सबैलाई शुभकामना।

लेखक जीवन विज्ञानका संस्थापक एवं जीवन विकास विशेषज्ञ हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.