सुन्तलाको मूल्य दोब्बर
धरान : पूर्वी नेपालमा उत्पादित सुन्तलाको मूल्य सिजनको सुरुवातमै उच्च भएको छ। गत वर्ष ७० देखि ८० रुपैयाँ रहेको होलसेल मूल्य यो बर्ष १ सय ३० देखि ४० रुपैयाँ प्रतिकिलो पुगेको छ। यसले उपभोक्ता मारमा परेका छन्। बिचौलियाका कारण सुन्तलाको मूल्यवृद्धि भएको धरान–८ का बसन्त बजगाईं बताउँछन्।
बिचौलियाहरूले बोटमै खरिद गरी बजार भित्र्याएपछि सुन्तलाको मूल्य बृद्धि भएको किसानको गुनासो छ। नियन्त्रणमा सरकारले चासो नदेखाएको उपभोक्ताहरू बताउँछन्। कृषि उपज बजार धरानका व्यवस्थापक लक्ष्मण भट्टराईका अनुसार सुन्तलाको खुद्रा मूल्य १ सय ५० रुपैयाँ पुगेको छ। धनकुटा, भोजपुर, खोटाङ, तेह्र्रथुम, संखुवासभा, पाँचथर, इलाम, उदयपुरलगायत जिल्लामा उत्पादन भएका सुन्तलाको मुख्य बजार धरान हो।
पुसको सुरुवातमै मूल्य अचाक्ली बढेको भन्दै ग्राहकले आक्रोश पोखेका छन्। पूर्वको सुन्तला देशका विभिन्न जिल्ला र भारतसमेत जाने गरेको छ। गत वर्ष धरानबाट ७१ करोडको सुन्तला बिक्री भएको थियो। व्यावयीले किसानका घरमै गएर सुन्तला खरिद गर्ने गरेकाले पनि मूल्यवृद्धि भएको धनकुटाका सुन्तला कृषक सुरेन्द्र चेम्जोङले बताए ।