प्रदेश २ को काङ्ग्रेस सभापतिमा कृष्ण यादव विजयी
जनकपुरधाम : प्रदेश २ को नेपाली काङ्ग्रेस सभापतिमा कृष्ण यादव विजयी भएका छन् । शुक्रबार बिहान सकिएको मतगणनामा प्रतिस्पर्धी रामसरोज यादवलाई १४१ मतले पछि पार्दै कृष्ण यादव कांग्रेसको प्रदेश २ सभापतिमा निर्वाचित भएका हुन् ।
यद्यपि औपचारिक रुपमा निर्वाचन समितिले उनलाई निर्वाचित भएको घोषणा गर्न भने बाँकी छ।
रामसरोज विमलेन्द्र निधि पक्षका उम्मेदवार हुन् भने उनलाई शेखर कोइरालाको समूहले पनि समर्थन गरेको थियो। निर्वाचन समितिका अनुसार बिहीबार राति सकिएको मतदानमा कूल १८८१ मत खसेको थियो।
तीमध्ये ३० मत बदर भए भने विजयी कृष्ण यादवले ९९६ मत पाए, पराजित रामसरोजले ८ सय ५५ मत ल्याए।
निर्वाचनमा संस्थापन पक्षबाट कांग्रेस रौतहटका सभापति कृष्ण यादव र निधि समूहबाट कांग्रेस प्रदेश नम्बर २ संसदीय दलका नेता रामसरोज यादवले प्यानलसहित उम्मेदवारी दिएका थिए।