साम्यवाद स्वैरकल्पना

साम्यवाद स्वैरकल्पना

मानवता आफ्नो सर्वोच्च पराकाष्ठामा पुग्नेछ। सुन्दै सुखद लाग्ने मानवताले ओतप्रोत आनन्ददायी समाज हो साम्यवाद।


यस्तो मानव समुदाय जहाँ न पुलिस हुनेछ न त वकिल। यस्तो समाज जहाँ न धनी, न गरिब, न शोषक, न त शोषित। न कोही ठूलो न सानो, न सम्मान न अपमान। न मालिक न नोकर, न सेवक न सेवित, न राजा न प्रजा, न देश न सिमाना। न सम्पत्तिको चिन्ता, न त लोभ र आशक्ति। त्यससमुदायमा प्रत्येक मनुष्यले हरेक मनुष्यको हित हेर्नेछ। त्यहाँ स्वार्थमय वर्गीय चेतनाको अस्तित्व हुनेछैन। यही हो साम्यवाद, समाजवादको चरम परिणति।

साम्य अर्थात् सम या बराबर। रागहीन, द्वेषहीन, क्रोधहीन, लोभहीन, निष्पक्ष, निष्कपट, शान्त र अविकृत समाज। त्यहाँ दमनको प्रतीक राज्य रहने छैन। प्रत्येक मनुष्य आफ्नो क्षमता अनुरूपको कार्य गर्न स्वयं प्रेरित हुनेछ। हरेक व्यक्तिले आवश्यकता अनुसारको सुविधा पाउनेछ। सारा सम्पत्ति समुदायको हुनेछ। श्रमको संस्कृति स्थापित हुनेछ। मानवता आफ्नो सर्वोच्च पराकाष्ठामा पुग्नेछ। सुन्दै सुखद लाग्ने मानवताले ओतप्रोत आनन्ददायी समाज। तथापि कोही किन साम्यवाद शब्द सुनेरै तर्सिन्छ ? यहाँ साम्यवाद शब्दमा उत्साहित र त्रसित हुने दुवैथरी मानिस छन्। परन्तु भनिन्छ, सत्य कुरा त के हो भने कम्युनिस्ट शब्द सुनेर कोही पनि उत्साहित हुनु आवश्यक छैन। किनकि त्यो आउँदैन। कम्युनिस्ट शब्द सुनेर कोही पनि त्रसित हुनु आवश्यक छैन किनकि त्यो आउँदैन।

त्यो आउँदैन किनकि त्यो यति सुन्दर र आदर्श छ कि त्यसलाई ल्याउने क्षमता मनुष्यसँग छैन। तैपनि समयको फेरले फेरि आदिम साम्यवाद जस्तै समतामा आधारित समाज स्थापना हुने सम्भावनालाई इन्कार गर्न सकिन्न। मानवीय प्रयत्नका साथै परिवर्तनको शाश्वत नियमअनुसार त्यो समाज स्थापना हुनसक्छ। मानव इतिहासको गर्भमा त्यसको भ्रूण रहेको हुँदा साम्यवादलाई फगत स्वैरकल्पना र मनको लड्डु मात्र भन्न मिल्दैन। किन्तु त्यो आदिम साम्यवाद जस्तै नभई विज्ञान र प्रविधिको युगअनुरूप झन्डै त्यस्तै प्रकारको हुनेछ। प्लेटोले पनि साम्यवादको परिकल्पना गरेका थिए। उनको अभिमत के थियो भने पारिवारिक चिन्ताले पीडित सरकारी अधिकारी र सैनिक राज्यको सच्चा सेवक हुन सक्दैन। त्यसैले उच्च सरकारी अधिकारी र सैनिकलाई व्यक्तिगत सम्पत्ति र वैवाहिक जीवनबाट वञ्चित राख्नुपर्छ। सबै मानव समान छन् भन्ने सिद्धान्तबाट नभई एक आदर्श राज्यको परिकल्पनाबाट प्रेरित भएर प्रतिपादन गरिएको हुँदा त्यसको व्यावहारिक प्रयोग गर्ने उपक्रम कहिल्यै पनि भएन। परन्तु त्यसको शास्त्रीय अध्ययन र परिचर्चा सधैं भइरहनेछ।

प्लेटोको साम्यवाद बुद्धिविलासमा सीमित भयो। तर कार्ल मार्क्सले कल्पना गरेको साम्यवादले मनुष्य जातिको हृदयलाई छोयो। उनको शास्त्र राजनीतिक सिद्धान्तको अध्ययनमा मात्र सीमित रहेन अपितु त्यसले मानवीय मथिंगललाई तरंगित पारिदियो। आज समयक्रममा मार्क्सको आह्वानको बुलन्द आवाज किञ्चित मन्द भएको छ। उपादेयता भने खत्तम भएको छैन। मानव इतिहासमा जे जति न्याय र समानताको रेखा कोर्ने काम भएका छन्, त्यसमा मार्क्सको ठूलो योगदान छ। विद्यालय जाने उमेरका कलिला बालबालिकालाई अमानवीय श्रममा लगाइएको दृश्य देखेर उनी द्रवीभूत हुन्थे। ती लाचार र मजबुर बालश्रमिकबारे मार्क्सले उतारेका शब्दचित्रहरू मानिसको हृदयमा बज्र जस्तै बनेर ठोकिन्थे। उनी लेख्ने गर्दथे, प्रत्येक मनुष्य आफ्नो जीवनको मालिक आफैं हुन पाउनुपर्छ। हरेक व्यक्तिलाई आफूले रोजेको काम गर्ने हक छ। उनले मानव मात्रलाई गरिने भेदभाव, वञ्चना र हेपाहा प्रवृत्तिको प्रखर विरोध गरे। सरकार, धनाढ्यहरू र मिडियाको साँठगाँठबारे उनले निकै खोज, अनुशीलन र भण्डाफोर गरेका थिए। उनको बुलन्द आह्वान थियो, यो समाज शासक, धनाढ्य व्यक्तिहरू या पुरोहितले बदल्ने छैनन्। समाज बदल्न त क्रान्ति गर्नुपर्छ। ‘हे विश्वका मजदुरहरू हो ! एक बन ! तिमीले गुमाउनुपर्ने तिम्रो बन्धनबाहेक केही पनि छैन।’ तमाम अवगुण र व्यक्तिगत कमजोरीका बाबजुद कार्ल मार्क्स संसारको जुनसुकै कुनामा बस्ने पीडित मानवका आशाका केन्द्र हुन्।

तथापि मार्क्सको आह्वान किन सार्थक हुन सकेन ? किन महान् बोल्सेविक क्रान्ति बेकाम साबित भयो ? किन आज पनि सर्वहारा भनिने सरकार रहेको देशमा मनुष्यलाई स्वेच्छले रुने र हाँस्ने अधिकार पनि छैन ? समानतामा आधारित समाज निर्माणको अभियानबीच नै किन मनुष्यको देवत्वकरण हुन्छ ? किन सर्वहारा क्रान्तिको माध्यमबाट स्थापित चीनको जनवादी सरकारले युगान्तकारी नीतिगत र व्यावहारिक प्रस्थान गरेर उन्नतिको शिखर चुम्न सफल भयो ? कार्ल मार्क्सको अनुमान र आह्वान इमान्दार प्रयास हो। परन्तु सायद त्यसमा आक्रोश, भावुकता, करुणा र आदर्शको मात्रा ज्यादा छ। जसरी महात्मा गान्धीको विषयमा भन्ने गरिन्छ, उनले सारा मनुष्यलाई आफूजस्तै साधु देखे। सायद कार्ल मार्क्सले पनि सोचे कि उनले निर्धारण गरेका हरेक नियमको पालना हुनेछ। सायद लेनिनले पनि सोचे होलान् कि उनको क्रान्ति कालान्तरसम्म सफल भएर अन्तत; संसारभरि कम्युनिज्म स्थापना गर्ने महान् प्रस्थानबिन्दु हुनेछ। उनले सोचे होलान्, उनका अनुयायीहरूले उनले निर्धारण गरेको मार्गको अनुसरण गर्नेछन्। तर विडम्बना ! जटिल स्वस्थका कारण बोल्नसमेत नसक्ने अवस्थामा पुगे केवल घोचपेच सुनिरहन विवश भए।

मार्क्सले राज्यसत्तामाथि सर्वहारा क्रान्तिकारीको कब्जालाई ‘क्रान्तिको सर्वोपरि घटना’ भने।सुरुमा सर्वहारा क्रान्ति मजदुरको संगठित प्रयासमा एकै समयमा धेरै देशमा फैलिने अनुमान गरिएको थियो। मार्क्सले औद्योगिक प्रगति हासिल गरेका देश मात्र क्रान्तिका लागि परिपक्व हुने अनुमान गरे। लेनिनले उनको अनुमानलाई गलत साबित गरिदिए। सफलता हासिल गरेको बोल्सेविक क्रान्तिका दुई उद्देश्य थिए। पहिलो थियो, सत्ताच्युत वर्गलाई मुन्टो उठाउन नदिएर निमिट्यान्न पार्ने र प्राप्त उपलब्धिको रक्षा। दोस्रो, अन्यान्यमा परेका देशमा पनि क्रान्तिको वातावरण तयार गर्न आवश्यक वातावरण तयार गर्ने।

कल्याणकारी सुख, न्याय र समृद्धि नचाहने को होला ? तर कम्युनिज्मसम्म पुग्ने बाटो कम्युनिस्ट नेताले नै अवरुद्ध गरे। साध्य सही थियो, परन्तु साधन गलत भयो।

सर्वहारा वर्गको शासन कम्युनिस्ट क्रान्तिको गन्तव्य होइन। यो साम्यवादमा पुग्ने यात्राको पहिलो र सर्वाधिक महत्त्वपूर्ण सोपान मात्र हो। क्रान्तिपछि पार्टीको आवश्यकता पर्छ कि पर्दैन ? भन्ने सवालमा के भनियो भने सर्वहारा शासनलाई टेवा पुर्‍याउन र सहजीकरण गर्न पार्टीको सान्दर्भिकता रहन्छ। पार्टी साम्यवादसम्म पुग्ने यात्राको एक साधन मात्र हो। जब वर्गको अन्त्य हुनेछ, पार्टीको पनि आपसेआप अवसान हुनेछ। त्यसकारण पार्टीमा कठोर अनुशासनको आवश्यकता छ। स्टालिनको समयमा गएर बोल्सेविक पार्टीमा रहेसहेको उदारता पनि समाप्त भएर गयो। तर्क, प्रश्न र सुझावको कुनै स्थान रहेन।

सर्वहारा क्रान्तिबाट स्थापना हुने शासन पनि सर्वहाराबाटै सञ्चालन हुन्छ भन्ने मूल सिद्धान्त हो। कालान्तरमा क्रान्तिकारीहरू नोकरशाहीबाट विस्थापित भए। जनवादी केन्द्रीयता नोकरशाही केन्द्रीयतामा परिणत भयो। क्रान्तिकारी सर्वहारा बढारिए। भनिन्छ, स्टालिनको पालामा एउटा पोलिटब्युरो थियो, तर त्यो ब्युरो स्टालिनको मुखबाट मात्र बोल्दथ्यो। कम्युनिस्ट पार्टीभित्रको कठिन कुरा नै सुझबुझपूर्ण र प्रज्ञावान् कम्युनिस्टहरूको मेसिनीकरण हो। मनुष्यको ज्ञान, इच्छाशक्ति, चरित्र, मानवीय गरिमा र प्रतिष्ठाको असम्मान हुँदा साह्रै चित्त दुख्छ। प्रश्न गर्ने छुटको समेत अभाव भएपछि मानिस कि पलायन हुन्छ, कि सहेर बस्छ कि लौ त नि जो हात सो साथ भनेर फाइदाको बाटो रोज्छ। यो नैतिक क्षयीकरणको रोगले संसारभरिका कम्युनिस्ट नेताहरू ग्रस्त थिए र अहिले पनि ग्रस्त छन्।

कल्याणकारी सुख, न्याय र समृद्धि नचाहने को होला ? तर कम्युनिज्मसम्म पुग्ने बाटो कम्युनिस्ट नेताले नै अवरुद्ध गरे। साध्य सही थियो, परन्तु साधन गलत भयो। साम्यवाद भन्छ, राज्यको उत्पत्ति दमनका लागि भएको हो। राज्यको काम नै मुठ्ठीभर अल्पसंख्यकको हितको रक्षाका लागि बहुसंख्यक जनताको दमन हो। परन्तु क्रान्तिपछिको राज्य पनि दमनकै प्रतीक बनेर उदायो। क्रान्ति सर्वहारा वर्गबाट सम्पन्न भए तापनि शक्तिमा पुगेपछि कोही सर्वहारा रहेन। राज्यशक्तिको साँचो आफ्नै हातमा हुनेहरूलाई व्यक्तिगत सम्पत्ति हुनु र नहुनुले केही फरक पर्दो रहेनछ। पूर्वी युरोप र एसियाका कतिपय कम्युनिस्ट नेताहरू शक्तिका मात्र नभई सम्पत्ति र विलासिताका अभूतपूर्व नमुना बने। उनीहरूले क्रान्तिको हुर्मत लिए। मानव जातिलाई साम्यवादरूपी आनन्दमयी स्वर्गमा पुर्‍याउन भनी चालिएको पहिलो पाइलोमै सारा सपना भंग भए।
यसले के देखायो भने मानिस स्वभावैले स्वार्थी हुन्छ। शक्तिमा पुगेको व्यक्ति झन् शक्तिशाली हुन चाहन्छ। शक्तिमा कायम रहिरहन थप शक्ति सञ्चयको दरकार पर्छ। यही अवस्थालाई विचार गरेर अचेलका कम्युनिस्ट पार्टीहरू व्यावहारिक र बहुदलीय प्रतिस्पर्धी समाजवादोन्मुख दलमा परिणत भएका छन्। सामाजिक न्याय, समानता र समावेशिताका पक्षपोषक कम्युनिस्ट अझै पनि ठूलो संख्यामा छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.