स्थानीय तहसम्मको जनगणनाको प्रतिवेदन प्रकाशनको तयारी
काठमाडौं : केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणनाको प्रतिवेदन पहिलोपटक स्थानीय तहसम्मको प्रकाशन गर्ने तयारी गरेको छ। विसं २०६८ सम्म जिल्लास्तरको तथ्याङ्कको मात्र प्रतिवेदन सार्वजनिक गरिन्थ्यो।
राज्य सङ्घीय संरचनामा गएपछि पहिलोपटक स्थानीय तहको प्रतिवेदन प्रकाशन गर्न लागिएको विभागका निर्देशक ढुण्डीराज लामिछानेले जानकारी दिए। वि.सं २०७८ को जनगणनाको फारम ७७ वटै जिल्लाबाट केन्द्रमा आइसकेको छ। प्राप्त फारामलाई परीक्षण र सम्पादन सकेर कम्प्युटरमा तथ्याङ्क राखिने उनले सुनाए। पुस मसान्तसम्म कम्प्युटरमा तथ्याङ्क प्रवेश गराउन थाल्ने विभागको तयारी छ।
तथ्याङ्क प्रवेश गराउन सुरु गरेको ६ महिनाभित्र सक्ने गरी काम अघि बढाइने छ। चालू आवमा तथ्याङ्क प्रवेश गराइसकेर आगामी आवको सुरुमै प्रतिवेदन प्रकाशन गरिने लामिछानेले बताए। यस वर्षको जनगणनाको प्रतिवेदन केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तहको अलगअलग सार्वजनिक गर्ने विभागको तयारी छ।
गत वैशाखमा गणना गर्ने तयारी गरिएकामा नयाँ भेरियन्टसहितको कोरोनाको सङ्क्रमण तीव्ररुपमा फैलिएपछि कात्तिक २५ गतेदेखि मङ्सिर ९ गतेसम्म गणकले घरघर पुगेर फाराम भरेका थिए। नेपालमा १९६८ सालदेखि जनगणना सुरु भएको हो। जनगणना सुरु भएको ११० वर्षपछि स्थानीय तहसम्मको तथ्याङ्क प्रकाशन हुन लागेको हो। राज्य पुनःसंरचना भएपछिको यो पहिलो जनगणना हो।