किमले गरे चिनियाँ दूतको तारिफ
सिओल : उत्तर कोरियाली शासक किम जोङ उनले निवर्तमान चिनियाँ राजदूत लि जिनजुनको तारिफ गरेका छन्। उत्तर कोरिया र चीनको कुटनैतिक सम्बन्ध सुधार्नमा ठूलो योगदान पुर्याएको भन्दै किमले जिनजुनको तारिफ गरेका हुन्।
उत्तर कोरियाको राजदूतको रुपमा कार्यरत लिले करिब सात वर्षे कार्यकाल छोडेपछि किमले उनको तारिफ गरेको बिहीबार प्रकाशित स्थानीय मिडियामा खबर छ। ‘विगत सात वर्षमा लि ले दुई पक्षिय सम्बन्ध सुधार्न र मैत्रीपूर्ण सम्बन्ध स्थापना गर्नमा ठूलो योगदान दिएको भन्दै किम जोङ उनले चिनियाँ राजदूत लिको तारिफ गरेका छन्’ स्थानीय मिडिया केसीएनसीमा भनिएको छ।
किम राजदूत लि र उनको कार्यप्रति निकै सन्तुष्ट रहेकोसमेत उल्लेख गरिएको छ। सन् १९६१ को सन्धीपछि चीन उत्तर कोरियाको मुख्य सहयोगी मुलुकको रुपमा चिनिन्छ।