एसएसपी यादव मृत्यु प्रकरण : घटनाको अनुसन्धान रुपन्देही प्रहरीले नै गर्ने
भैरहवा : संघीय प्रहरी ईकाइ कार्यालय भैरहवाका एसएसपी सुशीलकुमार यादवको मृत्युको घटनाको अनुसन्धान जिल्ला प्रहरी कार्यालय रुपन्देहीले गर्ने भएको छ। हालसम्म एसएसपी यादवको मृत्युको घटनाको अनुसन्धान/छानबिनका लागि गृह मन्त्रालय वा प्रहरी प्रधान कार्यालयबाट कुनै उच्चस्तरीय टोली गठन गरिएको छैन।
घटनास्थल रुपन्देही प्रहरीको क्षेत्र भएकोले घटनाको अनुसन्धान रुपन्देही प्रहरीले नै गर्ने लुम्बिनी प्रदेशका डिआईजी प्रकाश अधिकारीले बताए। उनले घटनाको अनुसन्धानका लागि माथिल्लो निकायबाट कुनै उच्चस्तरीय टोलीको गठन नभएको बताए।
समान्यता ‘हाईप्रोफाइल’व्यक्तिको मृत्यु हुँदा तल्लो तहबाट हुने घटनाको अनुसन्धानमा लापरवाही हुन नदिनका लागि उच्चस्तरीय तहबाट घटनाको अनुसन्धान/छानबिन हुने गर्दछ। एसएसपी यादवको ‘ह्यांगगिङ्ग’(झुन्डी आत्महत्या) ले मृत्यु भएकोले रुपन्देही प्रहरीले नै घटनाको अनुसन्धान गर्ने भएको बुझिएको छ।
‘तल्लो तहबाट अनुसन्धान गर्दा घटना जटिल लाग्यो भने हामीलाई भन्छ र हामीले पनि त्यसलाई हेर्छौँ’ डीआइजी अधिकारीले अन्नपूर्णसँग भने, ‘हामीलाई पनि उच्चस्तरबाट अनुसन्धान गर्नुपर्ने जस्तो लाग्यो भने हामी त्यो गर्छौँ।’
शुक्रबार दिउँसो कार्यालयको क्वाटरमा एसएसपी यादव झुण्डिएको अवस्थामा मृत फेला परेका थिए।