रूपान्तरण एजेन्डा, पुस्तान्तरणमा मौनता

रूपान्तरण एजेन्डा, पुस्तान्तरणमा मौनता

काठमाडौं :

र, प्रचण्डले फेरि उही कथा भने– 
एउटा सिंहको सानो बच्चा आमासँग सिकार खेल्न जाँदै थियो। अचानक आमाबाट छुट्यो। भौतारिँदै गर्दा भेडाको बथानमा पुग्यो। भेडाले पनि सानो देखेकाले साथमै लिएर हिँड्न थाले। 

सिंह बढ्दै गयो। भेडाले जस्तै घाँस खान थाल्यो। गर्जिने उमेरमा भ्याँ–भ्याँ पो गर्न थाल्यो। शरीर भने सिंहकै थियो, हलक्कै बढेको पनि। 

केही वर्षपछि एउटा सिकारी सिंह भेडाको बथानमा पुगेछ। सिकारका लागि आक्रमण गर्दा भीडमा आफूजत्रै सिंह देखेछ। तर, ऊ थरथर काँप्दै भ्याँ–भ्याँ गर्दै भेडासँगै दौडिइरहेको थियो। सिकारी सिंहलाई अचम्म लागेछ। उसले भेडा नसमातेर सिंह समातेछ। 

‘तँलाई के भएको ? तँ त सिंह छस्, भेडासँगै भ्याँ–भ्याँ गर्दै थरथर काँपेर भागिरहेको छस् नि !’ 

उसले सोधेछ। 

दोस्रो सिंहले प्रत्युत्तरमा ‘भ्याँ’ नै गरेछ। 

उसले त्यसलाई समातेर इनारमा लगेछ। पानीमा आफूसँगै राखेर छाया देखाएछ, ‘लु हेर त। तँ त सिंह होस्, मजस्तै छस्। कहाँको भ्याँ–भ्याँ गरिरहेको ?’ 

दोस्रो सिंह एकछिन गमेछ। र, जंगलै थर्किने गरी गर्जिएछ। त्यसपछि सिकार गर्न वन पसेछ। 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महाधिवेशनको सम्मुखमा शनिबार सम्पादकहरूसँगको अन्तरक्रिया यही कथाबाट टुंग्याए। दाहालकै अनुसार उनले यसलाई धेरै ठाउँमा सुनाइसकेका छन्। कथासँगै उनले पार्टीले किन बाटो बिरायो, कसरी क्रान्तिकारी छवि गुमाउँदै गयो भन्ने आत्मानुभूति व्यक्त गरे। 

‘बाई द वे, पूरै मिल्छ भन्ने त मेरो दाबी होइन’, दाहालले भने, ‘तर कता–कता भेडा–भेडासँग हिँड्दा–हिँड्दा हामी पनि अलि–अलि भेडा भइयो कि जस्तो लागेको छ। अब भेडा नहुने विचार छ।’

१० वर्ष सशस्त्र युद्ध गरेको माओवादी पार्टीका ‘सुप्रिम कमान्डर’ हुन् प्रचण्ड। उनी आफू र आफ्नो पार्टीलाई भेडा प्रजातिसँग तुलना गर्ने हालतमा कसरी पुगे ? त्यो पनि महाधिवेशनको पूर्वाद्र्धमा।

अनि, पुनः ‘सिंह’ हुनसक्ने गर्जन सम्पादकहरूकै ‘बथान’मा किन गरे ? 

प्रचण्डको विकल्प प्रचण्ड नै 
दुई प्रमुख दलले भर्खरै महाधिवेशन सके। एमाले र कांग्रेस दुवैमा नेतृत्वको तानातान चल्यो। माओवादीमा भने दाहाललाई चुनौती दिने कोही देखिएको छैन। प्रचण्डको विकल्प प्रचण्ड नै सावित हुँदै आएका छन्। 

के कसैले हिम्मत नगरेका हुन् वा दाहालले त्यसका लागि ठावैं नदिएका हुन् ? नेतृत्व परिवर्तनको बहस यस दलमा चाहिँ के अझै असान्दर्भिक हो ? 

‘कम्युनिस्ट आन्दोलनमा नेतृत्वको बहस धेरै पहिलादेखि चल्दै आएको छ। एउटा औपचारिक नेतृत्व र अर्को आन्दोलनको नेतृत्व। औपचारिकभन्दा आन्दोलनको नेतृत्व फरक हो। त्यो आन्दोलनबाट, विचारको संघर्ष, राजनीतिक संघर्ष आदिबाट एउटा अथोरिटी बन्छ’, दाहाल भन्छन्, ‘त्यो अध्यक्ष भए पनि त्यही हो, नभए पनि त्यही हो। महात्मा गान्धी अध्यक्ष त हुनु हुन्थेन कहिल्यै, तर गान्धी गान्धी नै हुनुहुन्थ्यो। चीनतिर हेर्ने हो भने तेङ सियायो पिङ पार्टीको कुनै पदमा हुनुहुन्थेन। तर, उहाँ ठूलो नेता हुनुहुन्थ्यो।’ 

उनका अनुसार नेतृत्व भनेको औपचारिक मात्र होइन। त्यससित विचार, आन्दोलन, जनमत जोडिन्छ। त्यसैले आधिकारिकताका स्तरसम्म उठाउँमा मात्रै जनताका हक–अधिकार सुनिश्चित गर्न सकिन्छ। 

‘तर, नेतृत्व सर्वसत्तावादी नहोस् भन्नेमा पनि हामी सर्तक छौं।  निर्वाचनलाई विशुद्ध बुर्जुवा निर्वाचनका रूपमा पार्टी नेतृत्व छान्ने प्रणालीको हामी विरोधी छौं। हामी अरूसँग मिल्दैनौं फेरि यसमा’, अध्यक्ष दाहालले भने, ‘जनमतको वा लोकतन्त्रको अभ्यासबिना सही नेतृत्व आउँछ भन्ने पनि हामीलाई लाग्दैन। र, त हामी जनवादी केन्द्रीयता भन्दैछौं। जनवाद र केन्द्रीयताको फ्युजनबाट नेतृत्व बन्छ र आन्दोलनले बनाउँदै लान्छ।’

भन्छन्, ‘केही वर्ष प्रचण्डै चाहिन्छ’ 
अध्यक्ष नछाड्ने ? भइरहनुपर्ने जहिल्यै पनि ? भन्ने प्रश्न आफूलाई आउने गरेको सुनाउँदै दाहालले त्यसको समेत जवाफ दिए। ‘संविधान बन्नुअगाडि, म अध्यक्ष बसिराख्नुभन्दा पार्टीलाई एकताबद्ध गर्न बाबुरामजी अध्यक्ष बन्नुहोस् भनेर मैले प्रस्ताव गरेको थिएँ। त्यतिबेलाका साथीहरू सबैलाई थाहा छ। तर, तत्काल पार्टी वैचारिक, राजनीतिक, सांगठनिक र सांस्कृतिक रूपले त्यसमा तयार भइसकेको थिएन।’

कसरी पार्टी तयार भएन ? के हो त्यो परिस्थिति ? ‘आज देशको राजनीतिक अवस्था जस्तो छ र विचारलाई विकास–परिमार्जन गर्ने हाम्रो सामूहिक प्रयासभित्र मेरो भूमिका जहाँनेर छ, मैले त्यो भूमिकालाई केही वर्ष निर्वाह गर्नुपर्छ भन्ने मलाई पनि लाग्छ, सबै साथीलाई लागेको छ। पार्टी पंक्तिलाई पनि लागेको छ। जनताको पंक्तिलाई पनि लागेको छ’, दाहालको दाबी छ, ‘यो व्यक्तिगत इच्छा र रहरको कुरा होइन, सामूहिक नेतृत्वको केन्द्रीकृत अभिव्यक्तिका रूपमा यो देशलाई स्थायित्व र विकासतिर लैजान प्रचण्डको भूमिका यतिबेला पनि छ भन्ने ठहर हो पार्टीको। त्यसलाई त्यसभन्दा बढी वा घटी बुझ्नु उचित हुँदैन।’

प्रचण्डलाई माओवादीमा वैचारिक नेताका रूपमा चुनौती दिने अरू कोही पनि छैन।
कृष्ण पोखरेल, प्राध्यापक

माओवादीको जुन अधीनस्थ सांगठानिक संरचना छ, त्यसले अर्को नेतृत्व जन्मिनै दिँदैन।
खगेन्द्र प्रसाईं, राजनीतिक विश्लेषक 

उसो भए माओवादी भनेकै प्रचण्ड हो त ? ‘माओवादी र प्रचण्ड नसिद्धिएसम्म देशले सुख पाउँदैन भनेर पनि ठूलठूला विद्वान्ले भनेको पनि सुनेको छु मैले। तर, उनीहरूलाई जति घृणा भए पनि यो देशमा माओवादीको भूतले अझै कैयौं दशाब्दीसम्म तिनलाई सताइरहने छ’, उनले भने। 

र, आक्रोश व्यक्त गर्दै थपे, ‘तिनले शान्तिसँग सुत्न पाउलान्जस्तो त मलाई लाग्दैन।’

कति सम्भव क्रान्तिकारी रूपान्तरण ?
पुनः ‘निर्विकल्प’ अध्यक्षका रूपमा देखिएका दाहालले पार्टीमा क्रान्तिकारी रूपान्तरणको आवश्यकता औंल्याए। ‘पार्टीलाई रूपान्तरण गर्ने निश्चित विचारअनुसार हामी हिजो जनताको घरमा, झुपडीमा, श्रमिक वर्गसँग, विकट ठाउँहरूमा अत्यन्त दुःख गरेर गयौं। जनतालाई झकझक्यायौं, प्रेरित गर्‍यौं, त्याग–बलिदानको उत्प्रेरणा दियौं। तर, अहिले हामी कता–कता त्यो परिस्थितिबाट टाढा भएका त होइनौं ? भन्नेबारे पनि राष्ट्रिय सम्मेलनमा गम्भीर समीक्षा गर्दैछौं’, उनले भने।  

उनले अब श्रमिक–किसानसँग नजिक हुने, सँगै काम गर्ने, सँगै खाने बताए। नेपाली समाजवादको मोडेल के हुने भन्ने फेदैमा बसेर छलफल गर्ने उनको भनाइ थियो। ‘यो जनतासँग जोडिने विषय मात्र होइन, हाम्रा नेता र कार्यकर्तालाई क्रान्तिकारी रूपान्तरण गर्ने पहल हो’, दाहालको भनाइ थियो। 

के हो त्यो रूपान्तरण ? कहाँ चिप्लियो माओवादी ? कसरी खिइयो माओवादी ? ‘हाम्रो विरासत त्याग र बलिदानको हो। यता शान्ति प्रक्रियामा आएपछि कहीँ न कहीँ हामीमा पनि केही न केही प्रदूषण, केही न केही विसंगतिहरू देखा पर्न खोजे भन्ने हाम्रो चिन्ता छ’, दाहालले भने, ‘र, यसको शुद्धीकरण हामीले आफैंबाट सुरु गर्नुपर्छ। राष्ट्र र जनतालाई नयाँ ठाउँमा लैजान पहिला हामी आफैं नयाँ बन्न सक्नुपर्छ।’ 

पुष्पलालसँगको निकटताका कारण २०२८ मा कम्युनिस्ट राजनीतिमा छिरेका थिए दाहाल। नेतृत्वशाली व्यक्तित्वका कारण राजनीतिक उचाइ भने चाँडो–चाँडो उचालियो उनको। 

६७ वर्षीय दाहाल करिब ३ दशकदेखि माओवादी नेतृत्वमा छन्। २०५१ मा एकता केन्द्र विभाजनसँगै उनी महामन्त्री बनेर यो पार्टी स्थापना गरेका थिए। त्यसअघि दाहाल एकता केन्द्र र अझ अघि मशालका महामन्त्री थिए। २०५७ देखि माओवादी अध्यक्षीय प्रणालीमा गयो। त्यसयता उनी निरन्तर अध्यक्ष छन्। 

पार्टी निरन्तर ओरालो लाग्दै गएको चुनावी परिणामले देखाउँछ। नेतृत्वमा दाहालको दाबी भने एकछत्र छँदैछ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.