जो जीवनभर रंगमञ्चमै रमे

जो जीवनभर रंगमञ्चमै रमे

झन्डै ५० वर्षअघिको नेपाली रंगमञ्च। नाटक देखाउन, बुझाउनै सकस। राजपरिवार, राणा खानदान तथा समाजका उच्च वर्गले मनोरञ्जन गर्ने स्थानको रूपमा नाटक प्रदर्शन हुने गथ्र्यो। प्रचण्ड मल्ल प्रायः नाटकका निर्देशकको भूमिकामा हुन्थे। उनलाई जे पनि परिपक्व चाहिने। तन, मनले नाटकमा जीवन्तता दिन्थे। नेपाली नाटकको इतिहास थिए, प्रचण्ड मल्ल। ऐतिहासिक कथा र पात्रहरूको सिंगो इतिहास। नेपाली रंगमञ्चको एक्लो ‘आर्काइभ’। नेपाली रंगमञ्चमा सयौं नाटक निर्देशन गरेका प्रचण्ड मल्लको पुस २ गते संसारबाट विदा भएका छन्।

नेपाली नाट्यक्षेत्रका अग्लो धरोहरको स्थानमा आफूलाई उभ्याएका मल्लको नेपाली रंगमञ्च, मातृप्रेम, तीलगंगा, पश्चाताप, ऐतिहासिक नाटक संग्रहलगायतका कृति प्रकाशित छन्। वीरगन्जको त्रिजुद्ध स्कुलमा एक दिन रामलीला हेर्न पुगेका मल्लको रुचि अभिनयतर्फ बढ्यो। पढ्न मन नगर्ने तर नक्कल र अभिनयमा रमाउने गर्न थालेपछि उनका दाजु सुरेन्द्र मल्लले उनलाई बालकृष्ण समकहाँ पुर्‍याए। नेपाल कला मण्डल स्थापना गरेर अभिनयलाई अगाडि बढाएका समसँगको संगतले मल्लमा लुकेर रहेको अभिनय र निर्देशकीय क्षमताले फुल्ने मौका पायो। समकै निर्देशनमा मल्लले पहिलोपटक अमरसिंह नामक नाटकमा अभिनय गरे।

मल्ल आर्ट एन्ड थियटर पढ्नका लागि २०२४ सालमा रुसको मस्को गए। मस्कोबाट फर्केर आएपछि उनी जीवनभर रंगकर्ममै सक्रिय भइरहे। नेपाल प्रज्ञा प्रतिष्ठानमा जागीरे जीवन बिताएका मल्ल पछि संगीत नाट्य प्रज्ञा प्रतिष्ठानको उपकुलपति भएर पनि काम गरे। मञ्च साजसज्जामा महत्त्वपूर्ण योगदान छ उनको। राष्ट्रिय नाचघर, प्रज्ञाप्रतिष्ठान, राष्ट्रिय सभागृह, पुलिस क्लब, सेनाको मञ्च तथा भृकुटीमण्डपको मञ्चसमेत उनले नै निर्माण गरेका हुन्। मल्ल सिर्जनामा लागिरहन्थे। नयाँ नयाँ विचारमा काम गर्न चाहन्थे। २०३० सालमा सिंहदरबार जल्यो। जल्नुअघि त्यहाँ नाटकघर थियो। त्यही नाटकघरमा उनले निर्देशन गरेका अनेकन नाटक मञ्चन गरिन्थे। एक पटक नाटकमा आकाश गड्गडाएको आवाज सुनाउन पर्‍यो। उनको मनमा हत्तपत्त विचार फुरिहाल्यो। नाटकघर पछाडि अग्लो काठ खडा गरे। माथिबाट ठूलाठूला ढुङ्गा खसाए। काठबाट ढुंगा खस्दै गरेको आवाजले आकाश गर्जिएजस्तो आवाज निकाल्यो। मेघ गर्जिएर चम्किने प्रकाशलाई नाटकमा देखाउन उनले बाल्टीमा पानी भरेर सिसा डुबाउने र स्टेजमा प्रकाश पठाउने चाँजोपाजो गर्थे। मल्लले निर्देशन गरेका अक्सर नाटकमा पात्रहरू बाँच्ने गर्थे। यी र यस्तै किस्साहरूले नेपाली रंगमञ्चले कुन प्रक्रिया पार गरेर आएको हो बुझ्न सकिन्छ।

रंगकर्मी तथा निर्देशक युवराज घिमिरे प्रचण्ड मल्लको मृत्युले आफू विक्षिप्त बनेको बताउँछन्।  भन्छन्, ‘बालकृष्ण समको समय र पछिल्लो पुस्तालाई जोड्ने पुल हुनुहुन्थ्यो।’ २०११ सालमा समलाई भेटेपछाडि नै मल्ल र समबीच गहिरो सम्बन्ध बन्यो। समकै संगतले मल्ललाई रंगकर्मतर्फ डोर्‍याएको हो। घिमिरे भन्छन्, ‘मञ्च सज्जामा विशेष दक्खल थियो उहाँको। स्टेज डिजाइनका सौखिन।’ रसियामा पढेर आएपछि नै उहाँमा नाटकप्रति झुकाव अझ बढ्यो। मल्लको कृति ‘नेपाली रंगमञ्च’ नेपाली नाट्य इतिहासकै उत्कृष्ट कृति हो। यो कृति अध्ययन नगरी नेपाली रंगमञ्चको अध्ययन अपूरो हुन्छ। किताबको भूमिकामा नाट्य सम्राट् समले भनेका थिए, ‘यस्तो किताब नेपाली रंगमञ्चमा आजसम्म लेखिएन। भविष्यमा कसैले लेख्यो भने यो किताबलाई आधार नबनाई अरू किताब लेख्न सकिँदैन।

मल्लको नेपाली रंगमञ्च कृति नेपाली नाटकको ऐतिहासिक किताब हो। मल्ललाई नेपाली रंगमञ्चको इतिहासकारका रूपमा सम्झन्छन् घिमिरे। अभिनय, निर्देशक र लेखनमा उत्तिकै अब्बल मल्लको जीवनमा रंगमञ्चबाहेक केही भएन। समर्पित व्यक्ति। मल्लको बुलन्द स्वरले आफूलाई निकै हौसला प्रदान गर्ने गरेको उनको बुझाइ छ। उनले मल्ललाई नेपाली नाटकको अर्काइभ, इतिहासको अध्येता र नाटकमै समर्पित व्यक्तिको रूपमा बुझेका छन्। मल्लको  ऐतिहासिक नाटकमा झुकाव थियो। उनको इतिहासका पात्रहरूको साजसज्जामा खुब रुचि थियो। नेपाली रंगमञ्चमा इतिहास बुझेको उहाँ जत्तिकै व्यक्ति सायद अर्को छैन, घिमिरेले बताए।

शकुन्तला गुरुङ शर्मा प्रचण्ड मल्लसँग २०२६ सालदेखि सँगै काम गरेकी रंगकर्मी हुन्। उनले मल्लले जुनियरलाई अभिभावकको भूमिकामा सिकाउने गरेको जानकारी दिइन्। मल्लको मिठो बोल्ने, गफ लगाउने, हँसाउने रंग रमाइलो गर्नुपर्ने स्वभाव सम्झँदै गुरुङ भन्छिन्, काममा निकै खटिनु हुन्थ्यो। कला, संस्कृति र साहित्यको प्रोत्साहन गर्नुपर्छ भन्नुहुन्थ्यो। आफैं कलाकार पनि भएको हुँदा उहाँले कलाकारको मर्मअनुसार निर्देशन गर्नुहुन्थ्यो। निर्देशक कम र अभिभावकीय भूमिकामा बढी। नाटक लेखी रहनुहुन्थ्यो। रंगकर्मी तथा निर्देशक राजन खतिवडा प्रचण्ड मल्ललाई सदैव युवापुस्तालाई अगाडि बढाउन उत्प्रेरणा दिने अग्रजको रूपमा सम्झन्छन्।

‘तुँवालोले ढाकेको बस्ती’ नामक आफ्नो नाटक मञ्चन गर्दा नाटकदेखि नै प्रचण्ड मल्लसँग सामीप्यता बढेको नाटककार एवं रंगकर्मी अशेष मल्लको भनाइ छ। प्रचण्डको निधनले नेपाली नाट्य क्षेत्रमा अपूरणीय क्षति भएको उनी बताउँछन्। थप्छन्, नेपाली रंगमञ्चको इतिहास हो उहाँ। कलाकार, निर्देशक र लेखकीय क्षमतामा अब्बल मल्लको अभाव रंगक्षेत्रलाई सदैव पर्नेछ। अब कसलाई सोध्ने राणाशासनको रंगमञ्च ? पञ्चायतकालमा कसरी बामे सर्‍यो नेपाली रंगमञ्च अब जवाफ भेटिने छैन। नेपाली नाटकको परम्परागत शैली र प्रविधिमा काम गर्ने चरित्र थियो उहाँमा। निकै सिर्जनशील।

ऐतिहासिक नाटकमा भेषभूषा, रहनसहन, चालचलनको जानकार लिन पनि प्रचण्ड मल्लसम्म पुग्ने गर्थे मानिसहरू। दृश्य सम्पादन गजबको थियो। ऐतिहासिक विशेषता। अशेष मल्लका अनुसार प्रचण्ड मल्ल केही वर्ष अगाडि श्रीमतीको मृत्युपश्चात् भने रोगले थलिएका थिए। एक्लो जिन्दगी बाँचिरहेका थिए। लेखक एवं संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति सरुभक्त राष्ट्रिय नाटक महोत्सवको अवसरमा पोखराबाट नाटक लिएर आउने क्रममा तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको मञ्च निर्देशक प्रचण्ड मल्लसँग चिनाजानी भएको सम्झना गर्छन्। सरुभक्तका अनुसार मल्ल बालकृष्ण समद्वारा प्रशिक्षित रंगकर्मी हुन्। समकै संगतमा नाटकलाई अघि बढाएका हुन्। रंगमञ्च निर्देशकका रूपमा प्रज्ञा प्रतिष्ठानमा लामो समय जागिरे जीवन व्यतित गरेका थिए।

होचो कदको, गहुँगोरो वर्णको, सधैं कालो भादगाउँले टोपी, सेतो सफा दौरासुरुवालमा ठटिने प्रचण्ड मल्ल हेर्दा आकर्षक लाग्थे। सरुभक्त सम्झन्छन्, उहाँलाई मैले दौरासुरुवाल कोटबाहेक अन्य कपडामा कहिल्यै देखिनँ। उहाँले नाटक खेल्नुभयो, लेख्नुभयो, निर्देशन गर्नुभयो र नाटकमै समर्पित हुनुभयो। उहाँको देहावसान नेपाली रंगकर्मका लागि अपूरणीय क्षति हो। उहाँले कृतिमार्फत हामीलाई सदैव डोेर्‍याउनु भएको छ। सरुभक्त भन्छन्, उहाँसँगको अन्तिम भेट करिब ४ वर्षअगाडिको थियो। उहाँसँगै बालकृष्ण समको घर हेर्न गएको थिएँ। यो समयमा नेपाली रंगमञ्चको विषयमा धेरै कुरा गर्‍र्यांै। उहाँ सरल, सामान्य तर विशेष क्षमतायुक्त हुनुहुन्थ्यो। मल्ल अग्रजलाई सम्मान गर्दै नयाँ पुस्तालाई रंगमञ्चमा उत्प्रेरित गर्ने सफल रंगकर्मीको अभाव खड्किरहने छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.