अष्ट्रेलियामा ओमिक्रोनको गलत परीक्षण, इजरायलमा बर्ड फ्लूबाट ५ हजार जंगली पंक्षी मरे

अष्ट्रेलियामा ओमिक्रोनको गलत परीक्षण, इजरायलमा बर्ड फ्लूबाट ५ हजार जंगली पंक्षी मरे

अष्ट्रेलियामा ओमिक्रोनको गलत परीक्षण गरेको समाचार आइतबार चर्चामा छ। हिम तुफानपछि पश्चिमी र उत्तरी अमेरिकाका ६ वटा राज्यहरुमा हिमपहिरो खस्ने चेतावनी दिइएको समाचार पनि आज चर्चामा रह्यो । उत्तरी इजरायलमा बर्ड फ्लूका कारण ५ हजारभन्दा बढी जंगली पंक्षी मरेका खबरपनि अन्तरराष्ट्रिय सञ्चार माध्यमले प्राथमिकताका साथ प्रकाशित भएका छन्। प्रस्तुत छ, सोमबार चर्चामा रहेका विश्वका केही प्रमुख खबरहरू :


अष्ट्रेलियामा ओमिक्रोनको गलत परीक्षण
सिड्नी : अष्ट्रेलियाको सिड्नीमा ओमिक्रोनको गलत परीक्षण भएको फेला परेको छ। सिड्नीस्थित सेन्ट भिन्सेन्ट प्याथोलोजी ल्यावमा ओमिक्रोन परीक्षण गराएका बिरामीको रिपोर्ट गलत भएको फेला परेको हो।
सो ल्यावले आइतबार ओमिक्रोन भेरियन्ट परीक्षण गराएका करिब १ हजार बिरामीको रिपोर्ट नेगेटिभ देखिएको बताइएको छ। यद्यपि, उनीहरुको कोरोना पोजिटिभ देखिएको बताइएको छ। कोरोना जाँचको क्रममा त्रुटी हुँदा करिब १ हजार बिरामीको कोरोना रिपोर्ट पोजिटिभ या नेगेटिभ कुन हो भन्ने अझै अन्योल रहेको गार्जियनमा खबर छ।

आइतबार भएको त्रुटीप्रति सो ल्याबले माफी मागिसकेको र नयाँ परीक्षण सोमबार रातीसम्म पठाइने जानकारी दिएको छ। यद्यपि, सो घटनाको सत्यतथ्य छानविन गर्न त्यहाँको सरकारी स्वास्थ्य निकायले स्पष्टीकरण माग्ने बताइएको छ। अष्ट्रेलियामा ओमिक्रोनका कारण सोमबार पहिलो मृत्यु भएको पुष्टि गरिएको थियो। ८० वर्षीय पुरुषको मृत्युको कारण ओमिक्रोन भएको बताइएको पनि सो रिपोर्ट गलत भएको त्यहाँका अधिकारीहरुले जनाएका छन्।

अमेरिकामा हिम तुफान
क्यालिफोर्निया : अमेरिकाको पश्चिमी र उत्तरी राज्यहरुमा हिम तुफानले जनजीवन प्रभावित बनेको छ। विगत २४ घण्टामा करिब ७६ सेन्टिमिटर हिमपातसँगै हिम तुफान आएपछि त्यहाँको जनजिवन प्रभावित बनेको हो।
क्यालिफोर्निया राज्यमा सबैभन्दा बढी हिमपात भएको र हिमपातसँगै आएको हिम तुफानले विद्युत अवरुद्ध बनेको बताइएको छ। विद्युत् अवरुद्ध हुँदा त्यहाँका हजारौ बासिन्दा अन्धकारमा बस्नुपरेको बताइएको छ। हिमतुफानका कारण सो क्षेत्रको बाह्य भिजिविलिटी शुन्य रहेको र चिसो अत्याधिक बढेको बताइएको छ।

हिम तुफानपछि पश्चिमी र उत्तरी अमेरिकाका ६ वटा राज्यहरुमा हिमपहिरो खस्ने चेतावनी दिइएको अधिकारीहरुले बताएका छन्। त्यहाँको मौसम विभाग नेसनल वेदर सर्भिसले रेनो, नाभेडालगायत क्षेत्रमा सोमबारसम्म हिमतुफान जारी रहने चेतावनी दिएको छ। सो विभागले स्थानियलाई घरबाहिर ननिस्कन र यात्रा नगर्न सुझाव दिएको छ।

ब्राजिलमा दुइटा बाँध भत्किदा बाढीको खतरा
ब्राजिलिया : उत्तरपुर्वी ब्राजिलमा दुईवटा बाँध भत्किदा भीषण बाढी आउने चेतावनी दिइएको छ। आइतबार दुईवटा बाँध भत्किएपछि त्यहाँको सरकारले सामाजिक सञ्जालमार्फत बाढीको चेतावनी दिएको हो।
जुसेपी र इताम्बे शहरमा बाढीको उच्च जोखिम रहेको भन्दै त्यहाँका हजारौ बासिन्दाले घर छोडेको एबिसि न्युजमा खबर छ। त्यहाँको सरकारले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत बाढिको जोखिम कायमै रहेको भन्दै उद्धार कार्य जारी राख्न र स्थानियलाई सुरक्षित रहन सुचना जारी गरेको छ।

‘पानीको क्षमता उच्च भएका कारण बाँध भत्किएको छ। बाँधको पानी शहर र नगरपालिका क्षेत्रतिर पुगिरहेकोले सबैजना सुरक्षित रहनुहोला। हामीले नागरिकहरुको उद्धार र सुरक्षाका लागि प्रयास गरिरहेका छौ’ सरकारद्धारा जारी सुचनामा भनिएको छ।
गत नोभेम्बरदेखि हालसम्म सो क्षेत्रमा बाढिका कारण १८ मानिसको मृत्यु भएको। सो बाढिका कारण  ५० वटा शहरका करिब १६ हजार मानिस घरबारविहिन बनेका थिए भने कम्तीमा १९ हजार ५ सय मानिस विस्थापित बनेका थिए।

इजरायलमा बर्ड फ्लूबाट ५ हजारभन्दा बढी जंगली पंक्षी मरे
जेरुसेलम : उत्तरी इजरायलमा बर्ड फ्लूका कारण ५ हजारभन्दा बढी जंगली पंक्षी मरेका छन्। बर्ड फ्लूका कारण नदी क्षेत्रमा पाइने जलेवा जस्तै क्रेन नामक पंक्षी मरेका हुन्।
आइतबारसम्म ५ हजारभन्दा बढी क्रेनहरु इजरायलको हुला लेक संरक्षण क्षेत्रभित्र मृत अवस्थामा फेला परेको टाइम्स अफ इजरायलले जनाएको छ। पछिल्लो समय इजरायलमा फैलिएको बर्ड फ्लूका कारण करिब १ लाखको संख्यामा कुखुरा र टर्की मरेको बताइएको छ।
ठूलो संख्यामा क्रेन मर्नु निकै दुखद खबर भएको त्यहाँको चरा संरक्षण विभागले बताएको छ। हरेक वर्ष १० हजारभन्दा बढी संख्यामा क्रेनहरु अफ्रिका र दक्षिण अमेरिकाबाट इजरायलको सो क्षेत्रमा पुग्ने गर्छन्। सो क्षेत्रबाट क्रेन अर्को ठाउँ यात्रा गर्ने गर्छन्।

तालिवानले बन्द गरायो मन्त्रालय र निर्वाचन आयोग
काबुल : अफगानिस्तानको तालिवान सरकारले थप दुईवटा मन्त्रालय र दुईवटा निर्वाचन आयोग बन्द गराएको छ। सरकारले दुईवटा निर्वाचन आयोगसँगै  शान्ति र संसदीय मामिला मन्त्रालय सोमबारदेखि बन्द गराएको हो।
तालिवान सरकारका सह प्रवक्ता बिलाल कारिमीले आइतबार सो निर्णय गरेको जानकारी दिएका हुन्। उनकाअनुसार सरकारले दुईवटा मन्त्रालयसँगै स्वतन्त्र निर्वाचन आयोग र उजुरी आयोग विघठन गरेको हो।
वर्तमान अफगानिस्तानमा ति निकायहरु नचाहिएकोले सरकारले बन्द गर्ने निर्णय गरेको उनको भनाई छ। ‘अफगानिस्तानको अहिलेको अवस्थामा ति निकायहरु आवश्यक छैनन्’ सह प्रवक्ता बिलालले भनेका छन्, ‘यदि चाहिएको खण्डमा हामीले भविष्यमा ति निकायहरु पुस्थापना गर्न सक्छौ ।’

यसअघि तालिवान सरकारले महिला मामिला मन्त्रालय समेत बन्द गराएको थियो। तालिवानले अफगानिस्तानमा सन् १९९६ देखि २००१ को जस्तै कठोर शासन ल्याउन सक्ने भन्दै अन्र्तराष्ट्रिय समुदायहरुले चिन्ता व्यक्त गरेका छन्।

बजेट अभावले अफगानिस्तानका विश्वविद्यालय अझै खुलेनन्
काबुल : तालिवानको नयाँ सरकारमा बजेट अभावका कारण त्यहाँका विश्वविद्यालय अझै खुल्न नसकेको पाइएको छ। विश्वविद्यालयमा महिला र पुरुषको लागि अलग कक्षाकोठा निर्माण गर्न शिक्षक शिक्षिका नियुक्त गर्न पर्याप्त बजेट नहुँदा विश्वविद्यालय अझै खुल्न नसकेको पाइएको हो।
अलग-अलग कक्षाकोठा निर्माण गर्न र विद्यार्थीलाई पढाउने कर्मचारीहरुको लागि सरकारसँग पर्याप्त बजेट नहुँदा विश्वविद्यालय अझै खुल्न नसकेको तालिवानका शिक्षा मन्त्री अब्दुल बाकी हक्कानीले खामा प्रेससँग बताएका छन्।
रिपोर्टकाअनुसार अफगानिस्तानमा सार्वजनिक विश्वविद्यालय र उच्च माध्यमिक विद्यालय सञ्चालनमा आएपनि महिलाहरुले अझै ति शैक्षीक संस्थामा प्रवेश पाएका छैनन्।

करिब १ लाख इजरायलीको पुर्नवास गराउने प्रधानमन्त्रीको घोषणा
जेरुसेलम : इजरायलका प्रधानमन्त्री नफ्तली बेनेटले करिब १ लाखभन्दा बढी इजरायली नागरिकको पुर्नवास गराउने घोषणा गरेका छन्। प्रधानमन्त्रीले सन् २०३० सम्ममा इजरायलको गोलान हाइट्समा कम्तीमा १ लाख नागरिकको बसोबास गराउने घोषणा गरेका हुन्।

इजरायल सरकारले करिब ५ दशकअघि गोलान हाइट्स आफ्नो कब्जामा लिएको थियो। सो क्षेत्रमा वर्तमान सरकारले कम्तीमा १ लाख इजरायली नागरिकको पुर्नवासअन्र्तगत बहुअर्ब डलरको योजना अघि सारेको प्रधानमन्त्रीले जानकारी दिएका छन्।

‘वर्षौपछि हामीले सो संख्यामा इजरायली नागरिकको बसोबासको व्यवस्था गर्ने लक्ष्य राखेका छौँ। ति नागरिकलाई गोलान हाइट्समा पुर्नवास गराउन सरकारले योजना अघि सारिसकेको छ’ प्रधानमन्त्रीले सम्बोधन गर्दै भनेका छन्, ‘सन् २०२५ सम्म हामीले सो क्षेत्रमा ५२ हजार मानिसलाई बसालिसक्नेछौ भने सन् २०३० सम्ममा दोब्बर संख्यामा नागरिकलाई सो क्षेत्रमा बसाल्ने छौँ ।’ यद्यपि, त्यहाँका वातावरण संरक्षण एवम् अभियन्ताहरुले इजरायल सरकारको सो योजनाको विरोध गर्दै आएका छन्  ।

छत्तिसगढमा ६ माओवादी मारिए
छत्तिसगढ : भारतको छत्तिसगढ तिलंगना क्षेत्रमा कम्तीमा ६ माओवादी कार्यकर्ता मारिएका छन्। भारतीय सुरक्षाकर्मीको मुडभेडमा ६ माओवादी कार्यकर्ता मारिएका हुन्। छत्तिसगढको सुक्मा जिल्लास्थित किस्तारम क्षेत्रमा सोमबार बिहान ६ देखि ७ बजेको दोहोरो भीडन्तमा ति कार्यकर्तामा मारिएको भारतीय मिडियामा खबर छ। मृत्यु हुनेमा चार जना महिला कार्यकर्ता र २ जना पुरुष कार्यकर्ता रहेको बताइएको छ।
नक्सलवादीको रुपमा चिनिने माओवादी र भारत सरकारविच लामो समयदेखि लडाई जारी छ।

सोमालियामा राष्ट्रपतिद्धारा प्रधानमन्त्री निलम्बित
मोगादिशु : सोमालियाका राष्ट्रपति मोहमेद अब्दुलाहीले प्रधानमन्त्रीलाई निलम्बन गरेका छन्। सरकारभित्र चुनावी विवाद चुलिरहदा राष्ट्रपति मोहमेदले प्रधानमन्त्री मोहमेद हुसेन रोब्लेलाई निलम्बन गरेका हुन्।

भ्रष्टाचारसँग नाम मुछिएका प्रधानमन्त्रीको मुद्धा नसुल्झिएसम्म राष्ट्रपतिले प्रधानमन्त्री र उनीसँग जोडिएका अन्य अधिकारीहरुलाई निलम्बन गर्ने निर्णय गरेको त्यहाँको राष्ट्रपतिय कार्यालयले सोमबार जानकारी दिएको छ।
‘राष्ट्रपतिले प्रधानमन्त्रीलाई निलम्बन गर्नुका साथै उनी भ्रष्टाचारमा मुछिएयताका सबै शक्तिहरु हटाउने निर्णय गरेका छन्। प्रधानमन्त्रीको भ्रष्टाचारको मुद्धा नसुल्झिएसम्म उनी निलम्बित रहनेछन्’ राष्ट्रपति कार्यालयद्धारा जारी विज्ञप्तिमा भनिएको छ। सोमालियाका प्रधानमन्त्रीमाथि संसदीय चुनावको क्रममा घोटाला गरेको आरोप लागेको छ।

संयोजन : अस्मिता खड्का


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.