हाम्रा होइन, राम्रा नेता

हाम्रा होइन, राम्रा नेता

राजनीतिक पार्टीहरूको नेतृत्वमा योग्य व्यक्ति नपुग्दा मुलुक दुर्घटनामा पर्ने निश्चित छ।


हालै सम्पन्न नेपाली कांग्रेसको महाधिवेशन निकै रोचक र चर्चायोग्य रह्यो। यसकारण पनि नेपाली कांग्रेसको महाधिवेशन चर्चायोग्य रह्यो कि यो प्रक्रिया आफैंमा प्रजातान्त्रिक थियो। अर्थात् बढीभन्दा बढी प्रजातान्त्रिक प्रक्रिया अपनाएर महाधिवेशन सम्पन्न गरियो। महाधिवेशनमा मतदान भयो। प्रजातान्त्रिक विधि प्रक्रियाबाट नेतृत्व छनोट गर्ने काम गरियो। जुन आफैंमा सकारात्मक छ। तर कांग्रेस महाधिवेशनको नेतृत्वमा पुग्न र पदाधिकारीमा निर्वाचित हुन उम्मेदवारी दर्ता गरेको देख्दा भने अचम्म लाग्यो। त्यसका लागि न कुनै योग्यता चाहिने रहेछ, न त कुनै अनुभव नै।

महाधिवेशनको पदाधिकारीका लागि इच्छा देखाई मनोनयन दर्ता गराएको देख्दा अब नेपाली कांग्रेसको विधान संशोधन गरेर विधानमा नै कुन पदका लागि कस्तो योग्यता पुगेको व्यक्तिले मनोनयन राख्न सक्छ भन्ने कुराको स्पष्ट व्यवस्था गर्नुपर्ने देखियो। जुन नेपाली कांग्रेसको भविष्य निर्माणका लागि आवश्यक पनि छ। अहिले नेपाली कांग्रेसमा जुन पदमा जसले पनि मनोनयन दाखिला गर्न पाउने स्वतन्त्रता दिँदा अनावश्यक रूपमा महाधिवेशन प्रतिनिधिहरू तनावमा पर्ने स्पष्ट छ। निर्वाचन प्रक्रिया बडो असहज र झन्झटिलो हुने त निश्चित नै छ। खर्चसमेत बढ्नेमा दुई मत हुने छैन। त्यति मात्र नभएर पार्टीमा योगदान नै नभएका व्यक्तिसमेत निर्वाचित हुने सम्भावना रहन्छ। मनोनयन दर्ता गर्ने व्यक्तिमा यदि नीति र सिद्धान्त अनि विचार छैन भने ऊ कहिल्यै जनतासामु राजनीतिक रूपले प्रकट भएको छैन।

पैसा खर्च गर्ने व्यक्तिहरूलाई नेपाली कांग्रेसभित्र केन्द्रीय सदस्य बनाइयो। यो राजनीतिक दलका लागि मात्र होइन, देशकै लागि दुर्भाग्य हो।

जनताको सेवा गरेको, विभिन्न दुःखसुख भोगेर खारिएको, माझिएको, परिपक्व भएको छैन भने पनि निर्वाचित हुन सक्ने रहेछ। अर्थात्, उचित व्यक्ति उचित पदमा पुग्ने र छनोट हुने सम्भावना ज्यादै न्यून हुने रहेछ। अहिले प्रतिनिधिका लागि निर्वाचन गर्दा जसले पनि मनोनयन दाखिला गर्न सक्ने र पैसा वा प्रलोभनका बलमा गैरराजनीतिक व्यक्तिहरू निर्वाचित हुने गरेका छन्। जो साह्रो साह्रो कराउन सक्छन्, अर्काको चर्को विरोध गर्न सक्छन् अर्थात् न्वारानदेखिकै बल लगाएर अर्कालाई गाली गर्न सक्छन्। अर्कालाई छेडछाड गर्न सक्छन्। चर्का नारा दिन सक्छन्। युवा जोसजाँगरलाई फकाउन सक्छन्, खुवाउन पियाउन सक्छन्। मोजमस्ती गर्छन्, त्यस्ता मानिसहरू निर्वाचित हुने भए।

जो नीतिमा छन्, सिद्धान्तमा छन्। पटकपटक कांग्रेसको उचित जिम्मेवारी निर्वाह गरेका छन्। जनताको सेवा गरेका छन्। राष्ट्रिय एवं अन्तर्राष्ट्रिय राजनीति बुझेका छन्। मुलुकको गरिमालाई आत्मसाथ गरेका छन्। राजनीतिक पार्टीको गरिमाको ख्याल गर्न सक्छन्। एउटा छुट्टै आचरण बोकेका छन्। जो बोलीमा भन्दा पनि काममा विश्वास राख्छन्। उनीहरू सधैं दबिएर र बस्नुपर्ने अवस्था आउने देखिएको छ। त्यसैले पनि विधान संशोधन गरेर तल्लो तहमा एक कार्यकाल काम गरेको व्यक्ति मात्र माथिल्लो तहको पदमा मनोनयन गर्ने व्यवस्था आवश्यक देखियो।

तल्लो तहमा बसेर पार्टीको काम गराई राम्रो वा नराम्रो भनी विविध पक्ष बुझिसकेका व्यक्ति मात्र एक कार्यकालपश्चात् उपल्लो पदका लागि दाखिला गर्न सक्ने व्यवस्था बनाउनु पर्छ। त्यो कार्यकाल पूरा भएपछि मात्र महामन्त्रीलगायत पार्टी उपसभापतिमा मनोनयन गर्न सक्ने व्यवस्था हुनुपर्छ। यो जिम्मेवारी निर्वाह गरेका व्यक्तिले मात्र सभापतिमा उम्मेदवारी दाखिला गर्न पाउने हुनुपर्छ। त्यो व्यवस्थाले मात्र पदाधिकारीहरू खारिँदै आउँछन्। उनीहरूमा टकराव देखिन्छ। पार्टीको सहज र अप्ठ्यारो दुवै अवस्थामा पार्टीलाई एकताबद्ध राख्न सक्छन्। अन्यथा बहर गोरु र बुढो गोरुको कथा जस्तै अवस्था आउन सक्छ। जवानीमा उधुम मच्चाएकाहरू अप्ठ्यारो परिस्थिति आएपछि पछाडि पर्न सक्छन्। हो युवाहरू नेतृत्वमा आउनु राम्रो कुरा हो। तर, उनीहरूलाई पदीय मर्यादा सिकाएर मात्र त्यो पदमा लड्न स्थान दिनुपर्छ। अन्यथा उनीहरू जोसका साथ त आएका हुन्छन् तर होस गुमाउन बेर लाग्दैन।

यदि पदाधिकारी चयनमा यस्तो व्यवस्था नगर्ने हो भने नेपाली कांग्रेसको राजनीति एकातिर र उनीहरूले अँगालेको नीति, सिद्धान्त र विचार अर्कोतिर हुनेमा शंका छैन। त्यसो हुँदा उनीहरू अगाडि बढ्न नै सक्दैनन्। एकातिर राजनीतिक संगठन विस्तार भइरहँदा अर्कोतिर भीडले पार्टी कब्जा गर्ने अवस्था आउन सक्छ। साम, दाम दण्ड, भेदले पार्टी कब्जा हुने परिस्थिति आउन सक्छ। पार्टी राजनीतिक संगठनको रूपमा चल्नुभन्दा पनि राजनीतिक उन्मादको रूपमा अगाडि बढ्न सक्छ। अहिलेको अवस्थाले नीति, सिद्धान्त, विचार र विधिभन्दा पनि हुलमुलमा पार्टी जान सक्ने खतरा देखियो। त्यसैले अहिलेको महाधिवेशनले सक्षम र विषयवस्तुलाई राम्रोसँग नियालिरहेका नेपाली कांग्रेसका कार्यकर्ता नेताहरूका लागि ठूलो चिन्ताको विषय बन्न गइरहेको छ।

जोसँग पैसा छ, जो ठूलो स्वरले कराउन सक्छ। अर्काको विरोध गर्न सक्छ। जसको भाषा, स्वभाव र शैली अमर्यादित देखिन्छ। चर्कोसँग गालीगलौज गरेर भाषण गर्न सक्छन्, जनताहरू पनि उसैलाई विश्वास गर्न थाल्छन्। उनीहरूलाई नै भोट दिन्छन्। सोझा नागरिकहरू आश्वासन सुनेर मक्ख पर्छन्, उनीहरूलाई खास कुरो र भित्री स्वार्थ थाहा हुँदैन। तर, राजनीतिक दललाई त्यस्तो पदाधिकारी चाहिएको होइन। राजनीतिक दललाई राजनीतिक पार्टीको अस्तित्व उच्च राख्ने, मर्यादामा रहेर देशको सेवा गर्ने सच्चा कार्यकर्ता पदाधिकारीको रूपमा चाहिएको हो। त्यसैले नेपाली कांग्रेसको विधान संशोधन गर्नु आवश्यक छ।

पदाधिकारीका लागि चुनावमा जान चाहने व्यक्तिले कुन र कस्तो दालको योग्यता पार गर्नुपर्छ ? भन्ने न्यूनतम योग्यता निर्धारण नगर्दा राजनीतिक पार्टी, राजनीतिक पार्टी जस्तो नरहने खतरा निम्तिरहेको छ। हालसालै सम्पन्न नेपाली कांग्रेसको महाधिवेशनले त्यसैलाई देखाएको छ। कांग्रेसको मात्र नभएर नेकपा एमालेको महाधिवेशनले पनि यस्तै अवस्थालाई देखाएको थियो। जो जिन्दगीभर राजनीतिक भुँमरीमा परिरहे। जनता र मुलुकका लागि राजनीति गरे। तल्लो तहबाट सदस्यता लिएर पार्टीको हरेक अवस्थामा साथ रहे। तहतहका चुनाव पार गरेर आए। त्यस्ता नेतालाई छोडेर, पद किनेर आउने, पैसा तिरेर आउने, र पैसा खर्च गर्ने व्यक्तिहरूलाई केन्द्रीय सदस्य बनाइयो। यो राजनीतिक दलका लागि मात्र होइन, देशकै लागि दुर्भाग्य हो।

कार्यकर्तालाई प्यानलमा राखेर यसलाई भोट हाल यसलाई नहाल भन्नेसम्मका गलत कामहरू गरियो। यस्ता किसिमका क्रियाकलापले राजनीतिक पार्टी कहाँ पुग्छन् ? आकलन पनि गर्न सकिँदैन। यस्तो अवस्था रहँदै जाने हो भने उनीहरूले कसरी राजनीतिक पार्टीलाई सही बाटो दिन सक्छन् ? नेपाली कांगे्रसले हिजो पार्टी प्रवेश गरेका व्यक्तिलाई अँगाल्ने तर राम्रा मानिसहरूलाई पाखा लगाउने काम गरेको छ। जिन्दगीभर आफ्नो ऊर्जा अर्को पार्टीमा खर्र्चिएका व्यक्तिलाई केन्द्रीय सदस्य तथा पदाधिकारीमा मनोनयन गर्ने प्रवृत्ति आफैंमा घातक छ। चन्दा दिएका आधारमा प्रतिनिधिसभा सदस्य बनाइने अहिलेको पारीपाटीले पार्टीको विचार सिद्धान्त के हुन्छ ? के त्यो पार्टी असली सिद्धान्तमा अडिएर रहन सक्छ त ? पक्कै पनि सक्दैन। सही दिशा दिन सक्छ त ? पक्कै पनि सक्दैन। पार्टी स्थापना गर्ने नेता र त्यसमा मलजल गर्दै आएका कार्यकर्तालाई ठाउँ दिन सकिएन भने त्यसको कुनै औचित्य नै हुन सक्दैन।

राजनीतिक पार्टीहरूको नेतृत्वमा योग्य व्यक्ति नपुग्दा मुलुक यो अवस्थामा आएको छ। पैसा र विदेशी प्रभावको आधारमा पद र नेतृत्व हत्याउने प्रवृत्तिलाई नरोक्ने हो भने मुलुकको दुर्घटना निश्चित छ। चर्का भाषण गर्ने, गालीगलौज गर्ने, अपशब्द प्रयोग गरेर पार्टीलाई सही दिशामा हिँडाउन सकिँदैन। होला, केही समयमा लागि भीडको समर्थन त मिल्ला तर विचारबिनाको राजनीतिको कुनै दिशा हुँदैन। त्यसैले भीडले पार्टी कब्जा हुने, पार्टी कब्जा गर्न साम, दाम, दण्ड, भेद प्रयोग गरिने राजनीति आचरणलाई सम्पूर्ण पार्टीले बन्द गर्नुपर्छ। जो योग्य छ, उसैले राजनीतिक पार्टी सम्हाल्नु पर्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.