किसानलाई हाते ट्याक्टर मर्मत तालिम
स्याङ्जा : हाते ट्याक्टर मर्मत सम्बन्धि तालिम सोमबारदेखि वालिङमा शुरु भएको छ । वालिङका किसानका लागि एक हप्ते तालिम दिईने भएको हो । कृषि प्रयोजनमा आजकल हाते ट्याक्टरको प्रयोग ह्वात्तै बढेको छ । स-साना मेशिनरी बस्तुको उपयोग गर्न नजान्दा ठूला समस्या देखिएकाले पालिकाले मर्मत सम्बन्धी तालिम शुरु गरेको जनाएको छ ।
वालिङ नगरपालिका, युएनडिपी तथा दियालो संस्थाको व्यवस्थापनमा यहाँ संञ्चालित ‘कोभिड-१९ उद्धार र सामाजिक, आर्थिक प्रतिकार्य पहल परियोजना’ अन्तर्गत हाते ट्याक्टर मर्मत सम्बन्धि तालिम शुरु भएको हो । आधुनिक उपकरणको उपयोग गर्दै किसानले सहजरुपमा खेती गर्न सक्ने र उत्पादन पनि बढाउन सक्ने हुदाँ पालिकाले यस्ता उपकरणको प्रयोगमा जोड दिएको नगरप्रमुख दिलिपप्रताप खाँणले बताए ।
‘उपकरणको आवश्यकता अनुरुप मर्मतसम्भार गर्न नजान्दा यस्ता सामाग्री कम टिकाउ हुनुका साथै मर्मत गर्नुपर्दा बढी खर्चिलो हुन्छ ।’ उनले भने, ‘सबैले यस्ता घरायशी उपयोगका सामाग्री मर्मत गर्न सके अरुलाई गुहार्नुपर्देन ।’
गाउँ गाउँमा पुर्याईएको हाते ट्याक्टर गाँउमा नै मर्मत गर्न सक्षम बनाउने उद्देश्यले तालिम गरिएको प्रमुख खाँणको भनाई छ । गोरु पाल्न छाडेसंगै आजकल प्रत्येकका घर-घरमा स-सानादेखि ठूला हर्स पावरका हाते ट्क्याक्टरको प्रयोग बढेको छ। अन्नबालीदेखि तरकारी र फलफूल खेतीसम्मका लागि हाते ट्याक्टरकै प्रयोग बढी हुने गरेको छ ।
कार्यक्रममा युएनडिपी गण्डकी/लुम्विनी प्रदेश प्रमुख सुदिप अर्याल, दियालो संस्थाका अध्यक्ष कविता तिवारी, नगर कृषि शाखा निमित्त प्रमुख केशबहादुर थापा लगायतले किसानका माग र आवश्यक्ता अनुसार हाते ट्याक्टर मर्मत तालिम राखिएको जनाउँदै गाउँ-गाउँमा बिग्रिएर थन्क्याइएका हाते ट्याक्टरहरु अबको तालिमपछि प्रयोगमा ल्याउन सकिने बताए ।
वालिङ् नगरपालिका अन्र्तगतका १४ वडाका ५० जना किसानले तालिम लिइरहेका परियोजना प्रमुख राधाकृष्ण डुम्रेले जानकारी दिए ।