‘गत वर्षभन्दा यस वर्ष अपराध बढ्यो ’
काठमाडौं : प्रहरी प्रधान कार्यालय नक्सालले यस आर्थिक वर्षको पहिलो पाँच महिनाको कार्य प्रगति बिवरण सार्वजनीक गरेको छ । प्रहरीले बिवरण सार्वनजिक गर्दै गत आर्थिक वर्षभन्दा यस आर्थिक वर्षको पहिलो पाँच महिनामा देशभर भएका अपराधको संख्यामा १७ दशमलव २१ प्रतिशतले वृृद्धि भएको जनाएको छ ।
चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म अपराधका १८ हजार ६ सय ८० मुद्धा दर्ता भएका छन् । अघिल्लो आर्थिक वर्षमा यही समयमा दर्ता मुद्धा संख्या १५हजार९सय३७ रहेको थियो । गत वर्षको भन्दा यस वर्ष २ हजार ७ सय ४३ले बढेको हो ।
प्रहरीका प्रवक्ता बसन्त कुँवरले अघिल्लो बर्षको तुलनामा यो वर्ष विभिन्न अपराधका घटनामा वृद्धि भएको बताए । उनका अनुसार ज्यानसम्बन्धि अपराधमा अघिल्लो वर्ष ३ हजार २ सय ४३ अपराध घटे भने यो वर्ष ३ हजार ३ सय ९० वटा घटना घटेका छन् । चोरीका घटना पनि ३५ दशमलव ४ प्रतिशतले बढेको छ । यस्तै संगठीत आर्थिक अपराधमा २६ दशमलव ८९ प्रतिशतले वृद्धि भएको छ । सामाजिक अपराधमा पनि ३३ दशमलव ७५ प्रतिशतले वृद्धि भएको छ । महिला तथा बालबालीका विरुद्धका अपराध पनि २७ दशमल ३७ प्रतिशतले बढेको छ । यस्तै सवारी सम्बन्धि अपराधमा ९२ दशमलव ८८ प्रतिशतले बृद्धि भएको छ ।
कार्य प्रगति बिवरणमा उल्लेख भएअनुसार पछिल्लो आर्थिक वर्षमा सबैभन्दा बढि बैकिंङ कसुर फस्टाएको छ । अघिल्लो आर्थिक वर्षको ५ महिनामा ८ सय ८० वटा बैकिंङ कसुरका अपराध घटे भने यो आर्थिक वर्षमा १ हजार ८ सय ७ वटा कसुर घटेका छन् । तुलनात्मक रुपमा गत वर्षको हेरी यो वर्ष १ सय ५ दशमलव ३४ प्रतिशतले बैकिंङ कसुरका घटना घटेका छन् ।
यस्तैगरि अघिल्लो वर्षको तुलनात्मक रुपमा लागुऔषध सम्बन्धि अपराध ४५ दशमलव ६१ प्रतिशत, अपहरण शरिर बन्धकमा २७ दशमलव २७ प्रतिशत र मानव बेचविखन अपराधमा ९० प्रतिशतले बृद्धि भएको छ ।
यस्तैगरी ठगीका घटना १६ दशमलव ४१ प्रतिशत, सार्वजनिक हित विरुद्ध ४४ दशमलव ६९ प्रतिशतले बृद्धि भएको छ । यस्तै गरी सवारी दुर्धटना सम्बन्धि घटनामा मृत्युहुने मानिसको संख्यामा २४ दशमलव ९५ प्रतिशत बृद्धि भयो । गत वर्ष यही समयमा ९ सय ४६ जना मानिसले सवारी दुर्धटनाका कारण ज्यान गुमाएका छन् ।
प्रवक्ता कुँवरका अनुसार कोभिड महामारीको सन्त्रास कम हुनासाथ समाजमा व्यापक रुपमा प्रहरी परिचालन गरिएको छ । जसका कारण कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, आत्महत्या, जबरजस्ती करणी, हातहतियार तथा खरखजाना उद्योगका घटनामा केही कमी आएको छ ।
खुल्ला सिमाना, कोभिडका कारण बढ्दो बेरोजगारी, आर्थिक विपन्नता, बढ्दो सामाजिक सञ्जालको प्रयोग जस्ता कारणले अपराधका घटनामा बृद्धि भएको प्रवक्ता कुँवरले जानकारी दिए । अपराध कम गर्नका लागि नेपाल प्रहरीले नागरिकसँग प्रत्यक्ष संवाद गर्ने, जनचेतना फैलाउने र अपराध तथा अपराधीलाई कानूनको दायरामा ल्याउनको लागि पहल गरिरहेको बताए ।