पाँचथर प्रशासनमा नागरिक बन्न रोदन : आफ्नै देशको नागरिक बन्न पनि पहुँच चाहिँदो रहेछ !
फिदिम : पाँचथरको फाल्गुनन्द गाँउपालिका-६ का दिनेश चेम्जोङ नागरिकता बनाउन जिल्ला प्रशासन धाएको २१ दिन पुग्यो । मंसिर २१ गते नागरिकता बनाउन सदरमुकाम फिदिम आएर प्रशासन कार्यालय पुगेका उनीले अहिलेसम्म पनि नागरिकता पाउन सकेका छैनन् ।
‘नागरिकता फाँटमा कागजात पेश गरेको तीन हप्ता पुग्यो,’ चेम्जोङले भने ‘आजसम्म नागरिकता पाउन सकेको छैन ।’ तीन हप्तासम्म नागरिकता लिने प्रयत्न गरेका उनी अब भने थकित भएका छन् । उनी भन्छन् ‘अब त नागरिकता पाउने आश हरायो । आफ्नै देशको नागरिक बन्न पनि पहुँच चाहिँदो रहेछ ।’
फाल्गुनन्द-६ की प्रेमकुमारी यञ्जन छोराको नागरिकता बनाउन मंसिर २२ गतेदेखि जिल्ला प्रशासन धाईरहेकी छन् । २० दिनसम्म प्रशासन धाउँदा पनि छोरालाई नेपाली नागरिक बनाउन नसक्दा मंगलबार दिउँसो प्रशासनको प्रांगणमा उनी आक्रोस व्यक्त गरिरहेकी थिइन् । ‘मेरो छोरा छ्योपा छ्योगेनको नागरिकता बनाउन प्रशासन धाएको तीन हप्ता पुग्यो,’ उनले भनिन् ‘अहिलेसम्म नागरिकता पाउने टुंगो छैन ।’ सनाखत गरेको हप्तौ दिनसम्ममा पनि छोराले नागरिकता नपाउँदा उनी हैरान बनेकिछिन् ।
‘मेरो घरमा अरु कोही छैन । छोरासँग नागरिकता बनाउन हरेक दिन प्रशासन धाउँदा पनि छोरालाई नेपाली नागरिक बनाउन सकिन, अब के गर्नु?’ जिल्ला प्रशासनको प्रांणगमा अहिले नागरिकता बनाउनेको घुँइचो छ । छिटो र सहज रुपमा नागरिकता नपाँउदा सेवाग्राही आक्रोसित बन्न थालेका छन् ।
‘नागरिकता फाटमा पेश गरेको कागजात समेत हराउने गरेको छ,’ कुम्मायक गाँउपालिका-२ का नरबहादुर खड्काले भने ‘प्रशासनका कर्मचारीहरुको व्यापक लापरबाहीका कारण जनताले दुःख पाईरहेका छन् ।’ प्रशासनले पहुँचवालाको मात्र काम गरेको सेवाग्राहीको आरोप छ ।
नागरिकता बनाउनका लागि वडा कार्यालयले पठाएको सिफारिस लगायतका कागजात नागरिकता फाँटमा पेश गरेपछि हराउने गरेको सेवाग्राही बताउँछन् । प्रशासनमै कागजात हराएपछि फेरी कागजात ल्याउन भनेर दुःख दिने गरेको फाल्गुनन्द गाँउपालिकाका गणेश मोक्तान बताउँछन् ।
‘कहिले वडाले रित नपुर्याइ सिफारिस गरेको भनेर सेवाग्राहीलाई र्फकाइन्छ, कहिले पेश गरेको कागजात हरायो भनेर फेरी ल्याउन भनिन्छ,’ मोक्तान भन्छन् ‘अब त प्रशासनले अत्ति नै गर्न थाल्यो।’
पछिल्लो समयमा नागरिकता बनाउनेको संख्या एकाएक बढेकाले समस्या देखिएको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेको तर्क छ । ‘सेवाग्राहीलाई दुःख दिने प्रशासनको नियत हैन, ’न्यौपानेले भने ‘नागरिकता बनाउनेको चाप एकाएक बढेकाले समस्या देखिएको हो ।’
विगतमा जिल्ला प्रशासन पाँचथरबाट दैनिक ५० जनाको हाराहारीमा नागरिकता बन्ने गरेको थियो । तर, पछिल्लो समयमा दैनिक तीन सयको हाराहारीमा नागरिकताका लागि निवेदन पेश हुने गरेको प्रशासनले जनाएको छ ।
‘सेवाग्राहीको चापअनुसार प्रशासनको जनशक्तिले धान्न मुस्किल परेको छ,’न्यौपाने भन्छन् ‘स्थानीयतहको निर्वाचनको मिति नजिकिएसँगै नागरिकता बनाउनेको घुँइचो लागेको छ ।’ राजनीतिक दलहरुका नेताहरुले आफ्ना कार्यकर्तालाई गाँउ गाँउबाट एकै साथ नागरिकता र मतदता परिचयपत्र बनाउन पठाएकाले समस्या आएको प्रशासनको ठहर छ ।
नागरिक बन्नका लागि सेवाग्राहीले सास्ती खेपेपछि राजनीतिक दलले जिल्ला प्रशासनको ध्यानाकर्षण गराएका छन् । नेपाली काँग्रेसले नागरिकता बितरणलाई सहज बनाउन प्रमुख जिल्लाअधिकारीको ध्यानाकर्षण गराएको काँग्रेस पाँचथरका सदस्य चन्द्रकुमार आङ्देम्बेले बताए । ‘नागरिकता बनाउन समस्या भएको गुनासो भएपछि हामीले प्रजिअको ध्यानाकर्षण गराएका छौँ,’ आङ्देम्बेले भने ‘प्रक्रिया पुर्याएर नागरिकता लिन आउनेहरुलाई प्रशासनले दुःख दिनु राम्रो हुन्न ।’
समस्यालाई समाधान गर्न प्रशासनले पहल सुरु गरेको प्रजिअ न्यौपानेको भनाई छ । ‘समस्या समाधानका लागि हामीले बिहान सात बजेदेखि नै सेवादिन सुरु गरेका छौँ,’ न्यौपानेले भने ‘नागरिकता बनाउनेको चाप नघटेसम्म बिहानैदेखि सेवा दिनेछौँ ।’