युक्रेनमा सशस्त्र युद्धको खतरा रहेको रुसको चेतावनी, ओमिक्रोन भेरियन्ट बढेसँगै दिल्लीका शैक्षिक संस्था बन्द

युक्रेनमा सशस्त्र युद्धको खतरा रहेको रुसको चेतावनी, ओमिक्रोन भेरियन्ट बढेसँगै दिल्लीका शैक्षिक संस्था बन्द

कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमितको संख्या बढेसँगै भारतको दिल्ली सरकारले शैक्षिक संस्था बन्द गराएको समाचार मंगलबार चर्चामा छ। जापान सरकारको अफवाहका कारण फुकुशिमाका मानिसले बेहोर्नुपरेको क्षतिको क्षतिपूर्ति दिने निर्णय गरेको समाचार पनि आज चर्चामा रह्यो ।

रुसका रक्षा मन्त्रालयले युक्रेनमा सशस्त्र युद्धको खतरा रहेको भन्दै चेतावनी दिएको खबरपनि अन्तरराष्ट्रिय सञ्चार माध्यमले प्राथमिकताका साथ प्रकाशित गरेका छन्। प्रस्तुत छ, मंगलबार चर्चामा रहेका विश्वका केही प्रमुख खबरहरू :


ओमिक्रोन : दिल्लीका शैक्षिक संस्था बन्द, निजी क्षेत्रमा ५० प्रतिशत उपस्थितिसहित काम
नयाँ दिल्ली : कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमितको संख्या बढेसँगै भारतको दिल्ली सरकारले विभिन्न शैक्षिक संस्थाहरु बन्द गराएको छ। सरकारले यल्लो अलर्ट जारी गरेसँगै दिल्ली सरकारले मंगलबार विभिन्न शैक्षिक संस्था बन्द गराएको हो।

ओमिक्रोनको खतरा उच्च रहेको भन्दै दिल्ली सरकारले शैक्षिक संघसंस्थाहरु पुर्ण रुपमा बन्द गर्न निर्देशन दिएको छ। साथै सरकारले नीजि क्षेत्रहरुमा कर्मचारीहरुको ५० प्रतिशत उपस्थितीसहित बिहान ९ देखि ५ बजेसम्म काम गर्न निर्देशन दिएको छ। सो समयभित्र सिफ्टअनुसार काम गर्न सरकारले निर्देशन दिएको भारतिय मिडियामा खबर छ।

दिल्ली सरकारले ५० प्रतिशत सिट राखेर मात्र सिनेमा र रेष्टुरेन्ट सञ्चालन गर्न निर्देशन दिएको बताइएको छ। यल्लो अलर्ट लागु भएपछि अत्यावश्यक पसलहरु बिहान १० बजेदेखि राति ८ बजेसम्म मात्र सञ्चालन गर्न पाइने बताइएको छ।

जापानले अफवाहको क्षतिपूर्ति तिर्ने
टोक्यो : जापान सरकारले अफवाहका कारण भएको क्षतिको क्षतिपूर्ति तिर्ने निर्णय गरेको छ। सरकारले मंगलबार अफवाहका कारण फुकुशिमाका मानिसले बेहोर्नुपरेको क्षतिको क्षतिपूर्ति तिर्ने निर्णय गरेको हो।

फुकुशिमा क्षेत्रमा सरकारले निर्माण गरेको न्युक्लियर प्लान्टबाट निस्कने रेडियोएक्टिभ सो क्षेत्रको नदिमा मिसाउने गरेको र त्यसबाट ठूलो नोक्सान हुने भन्दै हल्ला फैलिएको थियो। फुकुशिमा दैचि पावर प्लान्टबाट निस्कने विषाक्त रेडियोएक्टिभ कणहरु नदिमा मिसिने र त्यसको असर मानवमा पर्ने भन्दै अफवाह फैलिएको थियो। सो अफवाहपछि फुकुशिमा क्षेत्रका माछापालन व्यवसायीहरुले आफ्नो व्यवसाय बन्द गरेका थिए भने अन्यले नदी क्षेत्रमा हुने अन्य व्यापार व्यवसाय बन्द गरेका थिए।

पछिल्लो समय सरकारले इन्टरनेसनल अटोमिक एनर्जी एजेन्सीसँगको सहकार्यमा सो क्षेत्रको पानी र वरिपरिको क्षेत्रमा हानिकारक भए नभएकोबारे अध्यनन गरेको थियो। अध्ययनपछि सो क्षेत्र रेडियोएक्टिभबाट सुरक्षित रहेको पुष्टि भएको थियो। अफवाहका कारण लामो समयसम्म प्रभावित बनेका व्यापार व्यवसायी र अन्य व्यक्तिहरुलाई जापान सरकारले यसै वर्षभित्र क्षतिपूर्ति तिर्ने निर्णय गरेको क्योडो न्युजमा खबर छ। क्षतिपूर्ति स्वरुप सरकारले आगामी वर्षको लागि २६१ मिलियन डलर बजेट छुट्याएको बताइएको छ।

रक्षा हटलाइन स्थापना गर्न चीन र जापान सहमत
हङकङ :  जापान र चीन दुई देशबीच संयुक्त रुपमा रक्षा हटलाइन स्थापना गर्न सहमत भएका छन्। क्षेत्रिय तनावका बीच दुई मुलुक रक्षा हटलाइन स्थापना गर्न सहमत भएका हुन्।

जापानका रक्षा मन्त्री नोबुओ किशी र चिनियाँ विदेशमन्त्री वेई फेंगेविच सोमबार भएको करिब २ घण्टा लामो भिडियो सम्मेलनपछि सो सहमतिमा पुगेको बताइएको छ। सन् २०२२ को अन्त्यदेखि हटलाइन सेवा सञ्चालन गर्ने गरी दुई देशबीच सोमबार सो सहमती भएको सीएनएनले जनाएको छ।

ताइवान, पुर्वी र दक्षिण चीन सागरको मुद्धामा तनाव उत्पन्न भइरहेका बेला दुई देशले रक्षा हटलाइन सेवा सञ्चालन गर्ने सहमति गर्नुलाई विश्लेषकहरुले चासोको रुपमा लिएका छन्। चीनले ताइवान, दक्षिण र पुर्वी चीन सागरमाथि गरेको गतिविधिको कारण देखाउँदै जापानले चीनको राजधानी बेइजिङमा आयोजित शीतकालिन ओलम्पिक्स बहिष्कार गर्ने जनाएको छ।
यसअघि जापानका प्रधानमन्त्री फुमिओ किशिदा सरकारले प्रतिरक्षा र रक्षा क्षमता बढाउने भन्दै हालसम्मकै ठूलो रक्षा बजेट छुट्याइ सकेको छ।

युक्रेनमा सशस्त्र युद्धको खतरा रहेको रुसको चेतावनी
मस्को : रुसका रक्षा मन्त्रालयले युक्रेनमा सशस्त्र युद्धको खतरा रहेको भन्दै चेतावनी दिएको छ। रक्षा मन्त्रालयले मंगलबार छिमेकी मुलुक युक्रेनमा सशस्त्र युद्धको खतरा उच्च रहेको भन्दै चेतावनी दिएको हो।

पश्चिमा मुलुकहरुले युक्रेनमाथि जनाएको चिन्तापछि रुसी राष्ट्रपति भ्लाद्मिर पुटिनले धम्की दिएको भोलिपल्ट रक्षा मन्त्रालयले सो चेतावनी दिएको हो। रुसले युक्रेनको सीमा नजिकै लाखौं संख्यामा आफ्ना सेना खटाएको भन्दै युक्रेनले पश्चिमा मुलुकहरुको सहयोग मागिरहेको छ।

युक्रेनमाथि आक्रमण नगर्न र यदि रुसले युक्रेनमाथि आक्रमण गरेमा आफूहरुपछि नहट्ने भन्दै अमेरिकालगायत केहि पश्चिमा मुलुकहरुले अड्डी कसिरहेका छन्। युक्रेन सम्बन्धमा यसअघि पुटिन र अमेरिकी राष्ट्रपतिविच वार्तासमेत भइसकेको छ।

इजरायलले सुरु गर्‍यो कोभिडविरुद्ध चौथो खोप
जेरुसेलम : इजरायल सरकारले कोभिड १९ विरुद्ध चौथो खोप परीक्षण सुरु गरेको छ। सरकारको स्वास्थ्य समूहले सोमबारदेखि कोभिड १९ विरुद्ध चौथो खोप परीक्षण सुरु गरेको हो।
इजरायल सरकारले ओमिक्रोन भेरियन्टबाट देशभर एकको मृत्यु भएपछि सो निर्णय गरेको थियो।

देशभर कोभिड १९ को नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण तिब्र बनेको र सो भेरियन्टलाई नियन्त्रण गर्न सरकारले खोपको चौथो डोज दिने निर्णय गरेको बताइएको छ। यदि खोपको चौथो डोज परीक्षण प्रभावकारी बनेमा कोभिड १९ विरुद्ध चौथो डोज दिने इजरायल संसारको पहिलो मुलुक हुने त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

श्रीलंकाद्धारा विदेशी मिसनमा रोक
सेलोन : श्रीलंकन सरकारले तीनवटा विदेशी कुटनैतिक मिसनमा रोक लगाएको छ। देशमा डलर संकट बढ्दै जाँदा सरकारले विदेशी मुद्रा भण्डार बचाउन सो रोक लगाएको हो।

श्रीलंकाको परराष्ट्र मन्त्रालयले वैदेशिक मिसनअन्तर्गत रहेका तीनवटा मिसन बन्द गर्ने घोषणा गरेको हो। श्रीलंकन मिसन अन्तरगत नाइजेरिया, जर्मनी र साइप्रसमा रहेका श्रीलंकान उच्च आयोगहरु आगामी जनवरीदेखि बन्द हुनेछन्।
‘विदेशी मुद्रा भण्डारणको लागि श्रीलंकाले सञ्चालन गरेको तीनवटा विदेशी मिसनहरु बन्द गर्ने निर्णय गरेको छ’ मन्त्रालयद्धारा जारी विज्ञप्तिमा भनिएको छ। पर्यटन क्षेत्रको आम्दानीमा निर्भर हुने श्रीलंका कोरोना भाइरस महामारीका कारण त्यहाँ आर्थिक मन्दी छाएको बताइएको छ। श्रीलंकामा डलरको चरम अभाव भएको बताइएको छ।

कोलोराडोमा गोली चल्दा चारको मृत्यु
डेनभर : अमेरिकी राज्य कोलोराडोस्थित डेनभर शहरमा गोली चल्दा चारको मृत्यु भएको छ। बन्दुकधारी व्यक्तिले गोली चलाउँदा सोमबार चार मानिसको मृत्यु भएको हो।

गोली लागि प्रहरी अधिकारी घाइते भएको प्रहरीले जनाएको छ। डेनभर प्रहरीकाअनुसार सोमबार राती ति व्यक्तिले अन्दाधुन्ध गोली प्रहार गरेका थिए। गोली प्रहारपछि चार मानिसको घटनास्थलमै मृत्यु भएको छ भने एक प्रहरी अधिकारी घाइते भएका छन्।  गोली हान्ने व्यक्ति पनि प्रहरीको गोली लागि मरेको प्रहरीले जनाएको छ।

ब्राजिलमा बाँध भत्किँदा कम्तीमा २० को मृत्यु
ब्राजिलिया : ब्राजिलको बहिया प्रान्तमा बाँध भत्किएपछि आएको बाढीका कारण कम्तीमा २० मानिसको मृत्यु भएको छ। बाहिया प्रान्तमा सोमबार दुईवटा बाँध भत्किएपछि आएको बाढिका कारण ति मानिसको मृत्यु भएको हो।

करिब १ करोड ५० लाख मानिसको बसोबास रहेको बाहिया प्रान्तमा दुई दिनअघि पानीको भार थेग्न नसक्दा दुईवटा बाँध भत्किएका थिए। सो बाँध भत्किएपछि आएको बाढिमा परि कम्तीमा २० जनाको मृत्यु भएको स्थानिय मिडियाले जनाएका छन्।

स्थानीय मिडियाका अनुसार सो क्षेत्रका ७२ वटा नगरपालिकामा संकटकालको घोषणा गरिएको छ। स्थानीय सरकारले प्रभावित क्षेत्रका बासिन्दाहरुलाई सुरक्षित स्थानतर्फ सर्न सूचना जारी गरेको छ। उद्धारकर्मीहरुले प्रभावित क्षेत्रबाट हालसम्म करिब ३ सय मानिसको उद्धार गरेको बताइएको छ। बाढीका कारण १६ हजार मानिस घरबारविहिन भएको बताइएको छ। 

अफगान महिलालाई यात्रामा प्रतिबन्ध
काबुल : अफगान महिलालाई लामो यात्रामा प्रतिबन्ध लगाइएको छ। अब उनीहरूले लामो दूरीको सडक यात्रा गर्नुपरे पुरुष आफन्तको साथमा मात्रै अनुमति पाउनेछन्। उक्त निर्देशन आइतबार जारी गरिएको हो। 

गत अगस्टमा इस्लामवादी समूहले सत्ता कब्जा गरेपछि महिला अधिकारमाथिको यो पछिल्लो प्रतिबन्ध हो।  निर्देशनअनुसार अब महिलाले ७२ किलोमिटरभन्दा बढी यात्रा गर्न परिवारका नजिकका पुरुष साथमा हुनुपर्छ। अफगानिस्तानमा अधिकांश माध्यमिक विद्यालयहरू छात्राका लागि बन्द छन् भने अधिकांश महिलालाई काम गर्न प्रतिबन्ध लगाइएको छ। ‘ह्युमन राइट्स वाच’ नामक अभियान समूहले नयाँ प्रतिबन्धले महिलालाई बन्दी बनाउनेतर्फ डोर्‍याएको बताएको छ। 

महिला अधिकार समूहका सहनिर्देशक हिदर बारले यस आदेशले महिलाको स्वतन्त्र रूपमा हिँड्डुल गर्ने अवसर बन्द हुने बताए। उनका अनुसार यस निर्देशनले घरेलु हिंसाको सामना गरिरहेका महिलालाई पनि भाग्ने अवसरबाट वञ्चित गर्नेछ। ‘मलाई साँच्चै नराम्रो लाग्यो,’ काबुलमा बस्ने सुँडेनी फातिमाले निर्देशनप्रति प्रतिक्रिया जनाउँदै भनिन्, ‘म स्वतन्त्र रूपमा बाहिर जान सक्दिनँ। म वा मेरो बच्चा बिरामी भयो र मेरो श्रीमान् यहाँ हुनुभएन भने के गर्ने ?’ उनले तालिबानले आफूबाट खुसी खोसेको बताइन्। भनिन्, ‘हामीले हाम्रो स्वतन्त्रता र खुसी दुवै गुमाएका छौं।’

निर्देशनले आफ्नो अनुहार नढाकेका महिलालाई सवारीसाधनमा नचढाउन पनि सवारी धनीहरूलाई आह्वान गरेको छ। यद्यपि, यसले कुन प्रकारको कपडाले अनुहार ढाक्ने भनेर उल्लेख गरेको छैन। सवारीसाधनमा गीत बजाउन पनि रोक लगाइएको छ। सन् १९९० को दशकमा तालिबानको अघिल्लो शासनकालमा महिलालाई शिक्षा र कार्यस्थलबाट प्रतिबन्ध लगाइएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.