१५ वर्ष अघिको एउटा गुमनाम ‘हत्या’

१५ वर्ष अघिको एउटा गुमनाम ‘हत्या’

पोखरा : रुपातालभन्दा मुन्तिरको ठाउँ सातमुहानेमा छ ताल खोला। त्यही खोलामा तटबन्ध गर्न मजदुरहरुको एउटा टोली खटिएको थियो। अशोक गुरुङसँग एक दिन ती मजदुरहरुसँग झगडा पर्छ। अशोकले दाउराको चिर्पटले प्रहार गर्छन्। मजदुर रोजन राई घाइते हुन्छन्। उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिन्छ। त्यहीं उपचारका क्रममा राईको मृत्यु हुन्छ। 

रोजन राईको हत्या भएको १५ वर्ष पुगिसक्यो। २९ वैशाख २०६३ मा उनी मारिएका थिए। त्यतिबेला २० वर्षका उनको पोखरामा न कोही आफन्त थियो, न चिनाजान। हत्याको विरुद्धमा चासो लिने कोही भएनन्। प्रहरीले संदिग्धहरुलाई समात्यो। कसैको संलग्नता पुष्टि गरेन। झगडामा संलग्न अशोक प्रहरीबाट मुक्ति पाएपछि अशोक वैदेशिक रोजगारीमा जान्छन्। हत्याकाण्ड त्यसै सेलायो। 

रोजनको हत्या भएको १५ वर्षपछि फेरि त्यो हत्याकाण्ड सतहमा आएको छ। अशोक गुरुङ त्यही हत्यामा संलग्न रहेको प्रहरीले अनुसन्धानबाट पत्तो लगाउँछ। तर उनी भने रोजगारीका लागि बहराइनमा रहेको पनि खुल्छ। कास्की प्रहरीको अनुसन्धानकै आधारमा नेपाल प्रहरीले गएको २७ मंसिरमा अशोकका विरुद्ध रेड नोटिस जारी गरेको थियो। बहराइन प्रहरीले त्यही नोटिस बमोजिम अशोकलाई पक्रेको छ। 

भएको के थियो भने रोजनलाई चिन्नेजान्ने पोखरामा कोही थिएनन्। उनलाई खोज्दै पनि कोही आएन। मात्रै सातमुहानेका स्थानीयसँग उनले आफ्नो घर सुनसरीको धरान भएको बताएको सूचना कास्की प्रहरीले फेला पार्‍यो। त्यो पनि १५ वर्षपछि। 

२१ असारमा कास्की प्रहरी प्रमुख भएर यहाँको कमान्ड सम्हाल्न आएका एसपी रमेश थापा पुराना जघन्य अपराधको सूची हेर्दै थिए। त्यसैमा उनले राईको हत्यारा पत्ता नलागेको देखे। त्यसपछि गहिरो अनुसन्धानमा खटिए। अनुसन्धानबाट अशोकको संलग्नता देखियो। इन्टरपोलमा राखिएको रेड नोटिसका आधारमा उनी पक्राउ पनि परिसके। अब कास्की प्रहरी हत्या भएका रोजन राईका आफन्तको खोजीमा छ। 
‘घर सुनसरी धरान हो भनेको थाहा भयो,’ एसपी थापा भन्छन्, ‘तर चिनेजानेका कोही भेटिएनन्।’ कास्की प्रहरीले जिल्लाबाहेक अरु ठेगाना नखुले पनि सुनसरी प्रहरीलाई रोजनका आफन्तको खोजीका लागि अनुरोध पनि गरिसकेको छ। तर पत्ता लागेको छैन। 

‘रोजन मारिइसके। हत्यारा १५ वर्षपछि भएपनि पक्राउ परे। अब किन चाहियो रोजनका आफन्त ?’ एसपी थापा भन्छन्, ‘आफन्तलाई न्यायको अनुभूति होस् भन्ने हो।’ उनले प्रहरी अनुसन्धान प्रतिवेदनकै आधारमा आरोपित अशोक गुरुङ विरुद्ध मुद्दा चल्ने भएपनि आफन्तको जाहेरीसमेत हुँदा अझै राम्रो हुने पनि बताए। 

एसपी थापाले यसअघि कास्कीको मादी गाउँपालिका मकैखोलाकी कोपिला परियारलाई बलात्कारपछि हत्या गरेको पुरानो अपराधका दोषीलाई समेत घटनाको लामो समयपछि पक्रेका थिए। खड्कबहादुर खवास उक्त अपराध गरे बापत जेल परिसकेका छन्। खवास कोपिला हत्यालगत्तै पक्राउ परेपनि प्रहरीको फितलो अनुसन्धानका कारण छुटेका थिए। अपराध अनुसन्धानमा दख्खल भएका एसपी थापा दुवै पुराना जघन्य अपराधका दोषी पत्ता लगाउन सफल भएका छन्। उनलाई १५ वर्षअघि मारिएका राईका आफन्त खोजी गरी न्यायको प्रत्याभूति दिलाउने मन छ। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.