सुदूरपश्चिममा भारी हिमपात, जनजीवन कष्टकर
सुदूरपश्चिम : सुदूरपश्चिमका पहाडी जिल्लाका विभिन्न स्थानमा बुधबार रातिदेखि हिमपात सुरु भएको छ। डडेल्धुरा, बैतडी, बझाङ, डोटी, बाजुरा र दार्चुला जिल्लाका उच्च लेकाली भेगमा हिमपात शुरु भएसँगै चिसो बढेको हो।
सुदूरपश्चिमका सात पहाडी जिल्लामध्ये दार्चुलाका विभिन्न क्षेत्रमा राती देखि हिमपात सुरु भएपछि जन जिवन कष्टकर बनेको छ। हिमपातले एक्कासि बढेको चिसोका कारण विशेष गरी वृद्ध वृद्धा, बालबालिका तथा गरिखाने वर्ग बढी प्रभावित भएका छन्।
दार्चुलाका उच्च हिमाली क्षेत्र ब्यास, नौगाड,अपि हिमाल, न्वालपानी, दल्लेख लगायतका क्षेत्रमा हिमपात परेको ब्यास गाउँपालिकाका स्थानीय पदमराज भट्टले बताए। उनले भने, 'हिजो अस्तिदेखि चिसो अत्याधिक बढेको थियो चिसो बढे सँगै हिमपात परेको छ। अब चिसोले गर्दा विद्यालय समेत २ हप्ताकोलागी बन्द गर्नुपर्ने स्थिति आएको छ।
ब्यास गाउँपालिका-३ को सीना तुसरपानी, वडा नम्बर २को राप्ला, दुम्लीङ, वडा नम्बर ४ को सुन्सेरा, डोकट, वडा नम्बर ५ को धौलाकोट, वडा नं ६ को हुती लगायतका बस्तीहरुमा हिउँ परेको छ। कालापानी नजिकको क्षेत्र वडा नम्बर १ छाङरु र तिंकरमा भारी हिमपात भएको छ। हिउँदमा भारी हिमपात हुने छाङरु र तिंकरका स्थानीय बासिन्दा मंसिर महिनामा नै दार्चुला सदरमुकाम खलंगा झरिसकेका छन्।
तिंकरगाउँ हिउँदमा मानव विहीन हुने गरेको छ भने १२ किलोमिटर तल रहेको छाङरु गाउँमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बाह्रै महिना बस्ने गरेको छ। 'विद्यार्थीहरुको पढाईलाई मध्य नजर गरेर परीक्षा सकेका छौं। चिसो बढेकाले अब २ हप्ता जाडो बिदा गर्नुपर्छ। ब्यास गाउँपालिका क्षेत्रका सम्पूर्ण स्कुलहरु बन्द हुन लागेको छ' सम्पाल माविका बल्देब सिंह धामीले भने।
उच्च हिमपातले भिमदत्त राजमार्ग अवरुद्ध
हिमपातका कारण भिमदत्त राजमार्ग र जयपृथ्वी राजमार्ग गएराति देखि नै अवरुद्ध बनेका छन् । सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने एक मात्रै सडक भिमदत्त राजमार्गको हगुल्टे, शाहुखर्क क्षेत्रमा रातीदेखि हिमपात सुरु भएपछि राजमार्ग अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी मोहन जोशीले जानकारी दिए ।
सडक क्षेत्रको हिउँ पन्छाउन गन्यापधुरा गाउँपालिकाले डोजर पठाएको गन्यापधुरा गाउँपालिका अध्यक्ष नबलबहादुर मल्लले बताए। जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट पनि प्रहरीको टोली गएको छ।