दार्चुलामा हिमपात : जनजीवन प्रभावित, किसान भने खुसी
दार्चुला : दार्चुलामा मंगलबार राति देखि परेको हिमपातले जनजीवन प्रभावित बनेको छ। भारी हिमपातले उच्च हिमाली बस्तीका बासिन्दाको जनजीवन प्रभावित बनेको हो । सबैभन्दाबढि दार्चुलाको मालिकार्जुन, व्यास र नौगाड गाउँपालिकामा ४ फिट बाक्लो हिमपात भएको छ भने छिमेकी जिल्ला बैतडीको खोड्पेमा पनि बाक्लो हिमपात भएको छ ।
चिसोले जनजीवन प्रभावित बन्नुका साथै दैनिक कामकाजमा समेत समस्या भएको व्यास गाउँपालिकाका स्थानीय पदम भट्टले बताए, उनले भने 'भारी वर्षाले ग्रामीण सडकहरु बन्द हुनुका साथै ४/५ फिट हिउँ परेको छ ।'
दार्चुलाका उच्च हिमाली क्षेत्र व्यास, नौगाड, अपिहिमाल, न्वालपानी, दल्लेख लगायतका क्षेत्रमा हिमपात भएको छ ।
सुदूरपश्चिमका सात पहाडी जिल्लामध्ये दार्चुलाका विभिन्न क्षेत्रमा राति देखि हिमपात सुरु भएपछि जनजीवन कष्टकर बनेको छ। हिमपातपछि एक्कासि बढेको चिसोका कारण विशेष गरी बृद्धबृद्धा, बालबालिका र मजदुर बढि प्रभावित भएका छन् ।
व्यास गाउँपालिका–३ को सीना,तुसरपानी, वडा नम्बर २को राप्ला, दुम्लीङ, वडा नम्बर ४ को सुन्सेरा, डोकट, वडा नम्बर ५ को धौलाकोट, वडा नम्बर ६ को हुती लगायतका बस्तीहरुमा हिउँ परेको छ। कालापानी नजिकको क्षेत्र वडा नम्बर १ छाङरु र तिंकरमा भारी हिमपात भएको छ। हिउँदमा भारी हिमपात हुने छाङरु र तिंकरका स्थानीय बासिन्दा मंसिर महिनामा नै दार्चुला सदरमुकाम खलंगा झरिसकेका छन्।
तिंकरगाउँ हिउँदमा मानवविहीन हुने गरेको छ भने १२ किलोमिटर तल रहेको छाङरु गाउँमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बाह्रै महिना बस्ने गरेको छ।
'विद्यार्थीहरुको पढाइलाई मध्य नजर गरेर परीक्षा सकेका छौं। चिसो बढेकाले अब २ हप्ता जाडो बिदा गर्नुपर्छ । व्यास गाउँपालिका क्षेत्रका सम्पूर्ण स्कुलहरु बन्द हुन लागेको छ' सम्पाल माविका प्रधानाध्यापक बल्देबसिंह धामीले बताए ।
किसान खुशी
हिमपात नहुँदा आफ्नो खेतबारीमा लगाएको हिउँदे बाली जौँ, गहुँ र तोरीको उत्पादन कम हुने चिन्तामा परेका स्थानीयबासी भने हिउँ पर्दा खुसी भएका छन्। हिमपातले हिउँदे बालीको उत्पादन राम्रो हुने कृषक बिक्रम सामन्तको भनाई छ।
लगातारको खडेरीले बालीनाली सुक्दै गएको बेला पानी पर्दा दार्चुला, बैतडीका किसानहरु खुशी भएका छन् । पिउने पानीको समस्या भएका बेला आकासबाट पानी पर्दा केहि राहात भएको बैतडी खानेपानीमा कार्यरत कर्मचारी अमरेश ठगुन्नाले बताए, उनले भने वर्षा र चिसोले जनजीवन कष्टकर भए पनि कृषि बालीमा भने फाईदा पुगेको बताए ।