सागको बिउले बजार पाएन
बेनी : म्याग्दीका कृषकले उत्पादन गरेको राँयो सागको बिउले बजार र उचित मूल्य पाउन सकेको छैनन् । कृषकले मूल्यमा गिरावट आएपछि बिउ उत्पादनका लागि रायो सागको खेती घटाउन थालेका छन् ।
अन्नपूर्ण गाउँपालिका–५ फलाते, वडा नम्बर ६ को चित्रे, खिबाङ, कुटुका र महभिरमा बिउ उत्पादनका लागि चौडा पाते मार्फा जातको रायो साग खेती भएको छ । प्रतिकिलो ७५० रुपैयाँमा बेच्दै आएको बिउको मूल्य घटेर प्रतिकिलो रु. ७०० मा झरेको फलाते मार्फा रायो कृषक समूहका सदस्य राजेन्द्र श्रीपालीले बताए ।
‘माग र मूल्य घटेपछि बिउ उत्पादनका लागि साग खेति घटाएका छौ,’ उनले भने ‘वार्षिक तीन हजार पाँच सय किलोग्राम बिउ निकासी हुने फलातेबाट गत वर्ष एक हजार सात सय किलोग्राम निकासी भयो ।’
पोखरा र चितवनका ब्यापारीले कोरोनाको कारण देखाएर खरिद गर्न छाडेपछि काठमाडौंमा पठाउन थालेपनि उत्पादन भएको सबै बिउ नबिकेपछि कृषक चिन्तित भएका हुन् । काठमाडौमा पठाएको ६ हजार किलोग्राम बिउ मध्य तीन हजार किलोग्राम मार्फत बिक्री भएको कृषक गमबहादुर पुर्जाले बताए ।
‘बिउ बेचेर घरखर्च चलाउँदै आएका ३६ घरधुरी कृषकको आयस्रोत घट्दा जिवीकोपार्जनमा समस्या भएको छ,’ उनले भने “‘कतिपयले खेतीयोग्य जमिन बाँझै छोडेका छन् ।’ लुम्ले कृषि अनुसन्धान केन्द्रको सहयोगमा ३० वर्षअघि रायो साग खेती सुरु गरेका थिए ।
कृषक भुवन पुर्जाले सिँचाइ अभाव र रोगकिराको पनि सामना गर्नुपरेको बताए । ‘लाही किरा र पुतलीले दुःख दिने गरेको छ,’ उनले भने ‘नजिकैको खोल्साको पानी बगेर खेर गइरहेपनि पूर्वाधार नहुँदा सिँचाइको समस्या भएको छ ।’
भदौमा बिउ, असोजमा बेर्ना रोपेपछि असारमा बिउ उत्पादन गर्न सकिन्छ । बिउ उत्पादन गर्ने सागको पात टिप्न मिल्दैन । ठूला र चौडा पात हुने मार्फा रायो साग मुस्ताङको मार्फा शितोष्ण बागबानी विकास केन्द्रले विकास गरेको हो ।
तत्कालीन जिल्ला कृषि विकास कार्यालयले अनुकूल हावापानी, वातावरण र भूगोल भएकाले खिवाङ र फलाते क्षेत्रलाई सागको बिउ उत्पादन केन्द्र बनाउन सिफारिस गरेको थियो । मंगला गाउँपालिकाको धापुङ र बेनी नगरपालिका १० वाखेतमा पनि मार्फा रायो सागको बिउ उत्पादन गर्न परीक्षण गरिएको थियो ।
धापुङ र पात्लेखेतमा परीक्षण सफल भएको थिएन् । दुई हजार मिटर उचाइको भूगोल मार्फा रायो सागको बिउ उत्पादनका लागि अनुकूल रहेको कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख किरन सिग्देलले बताए ।
‘फलाते, कुटुका र महभिरको रायो सागको बिउ प्रमाणितगरि बजारीकरण, रोगकिराको नियन्त्रण, गुणस्तर सुधार र सिँचाइ सुबिधाका लागि यस वर्ष बिजबृद्धी कार्यक्रम मार्फत सघाउछौ,’ उनले भने ‘तालिम, मूल बीउ र बजार व्यवस्थापनमा सहयोग गर्नुपर्ने देखिएको छ ।’
कोदो, आलु, मकैको विकल्पमा सागखेती गरेका छन् । बिउ उत्पादन गरेर ताजा तरकारी र खाद्यबालीको तुलनामा आर्थिक हिसाबले बढी फाइदा लिन सकिने भएपनि पछिल्लो दुई वर्षयता बजार र मूल्यको समस्या देखिएको फलातेका खमबहादुर पूर्जाले बताए ।
दुई वर्षअघि फलातेमा अन्नपूर्ण गाउँपालिका र कृषकहरुको १४ लाख ५० हजार रुपैयाँ खर्चमा निर्माण भएको बिउ संकलन र भण्डारण केन्द्रको भवन प्रयोगमा आउँन सकेको छैन् । घरघरमै गएर बिउ संकलन र ब्यक्तिका घरमा भण्डारण गर्नुपर्ने समस्या हटाउँन गाउँपालिकाको आठ लाख ८१ हजार ५४६ रुपैयाँ सहयोग र उपभोक्ताको पाँच लाख रुपैयाँ बराबरको श्रमदानमा भवन बनाएका थिए ।
गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले जनप्रतिनिधिको हैसियतमा पाउने सुविधाबापतको रकम संकलन गरेर बनाएको कोषबाट पचाँस हजार रुपैयाँ सहयोग गरेका थिए । बिउ, तरकारी र आलु संकलन तथा भण्डारणका अतिरिक्त सिपमूलक तालिम, बैठक, भेला सञ्चालनमा पनि यो भवनलाई प्रयोग गर्न कृषकले बेवास्ता गरेका हुन् ।