नेकपाको राष्ट्रिय सम्मेलन जनकपुरधाममा हुँदै
जनकपुरधाम : नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले एकताको राष्ट्रिय सम्मेलन जनकपुरधाममा गर्ने भएको छ । ऋषिराम कट्टेल नेतृत्वको नेकपाले नेपाल कम्युनिष्ट पार्टी स्थापनाको दिन १५ सेप्टेम्बरमा भर्चुअल माध्यमबाट सम्मेलनको उद्घाटनगरी प्रदेशस्तरीय ६ वटा समूह विभाजन गरी एकताको राष्ट्रिय सम्मेलन गर्ने भएको हो ।
पार्टीले राजनीतिक प्रतिवेदन, क्रान्तिको कार्यक्रम, नयाँजनवाद, विधान संशोधन, संगठनात्मक प्रतिवेदन, आर्थिक प्रतिवेदनमाथि छलफलगरी सम्मेलनबाट दस्तावेजहरु पारित गरी पार्टीको नयाँ नेतृत्व निर्माण गर्ने नेकपाका ऋषिराम कट्टेलले जानकारी दिए । उनले बहुपदीय प्रणाली अनुसार नेतृत्व चयन गर्ने उद्देश्यले जनकपुरधाममा पुस १७ गतेदेखि पुस १९ गतेसम्म राष्ट्रिय सम्मेलन गर्न लागेको जानकारी नेकपाका संयोजक ऋषिराम कट्टेलले जानकारी दिए ।
गत असोज, कार्तिक र मंसिर महिनामा प्रदेश स्तरीय ६ वटा समूह बनाएर राजनीतिक प्रतिवेदन, क्रान्तिको कार्यक्रम नयाँ जनवाद, विधान संशोधन, संगठनात्मक प्रतिवेदन, आर्थिक प्रतिवेदनमाथि छलफल समापन भई सकेको बताए । राष्ट्रिय सम्मेलनको विषयमा संचारकर्मीहरुसंग कुरा गर्दै कट्टेलले एमसीसी देशका लागि घातक रहेकोले यो सम्झौता कार्यान्वयन नहुनदीनका लागि सबैले एक हुनुपर्नेमा जोड दिए । ‘चिनको बढ्दो शक्तिलाई निस्तेज गर्न र आफ्नो स्वार्थकै लागि नेपालमा अमेरिकाले मिलेनिमय च्यालेन्ज कर्पोरेसन (एमसीसी) कार्यान्वयनतर्फ अमेरिकी सरकार लागेको बताए ।
उनले सिंगो कम्युनिष्ट आन्दोलनलाई श्रृजनवादको चपेटाबाट मुक्त गरी सबै क्रान्तिकारी कम्युनिष्टहरुलाई एकताबद्ध गरी क्रान्तिको बाँकी कार्यभार पूरा गर्न रहेको बताए । उनले भने, ‘देशको किसान आन्दोलनलाई केन्द्रविन्दुमा राखेर सबै क्रान्तिकारी कम्युनिष्ट, वामपन्थी र लोकतान्त्रिक देशभक्तहरुलाई गोलबद्ध गरी देशको स्वधिनताको रक्षा, जनजीविकाको समस्या हल गर्ने नीति र योजनाका साथ यो सम्मेलन हुनेछ ।’