नेपालका कम्युनिस्टहरु दरबारीया हुन् : आङ्देम्बे
फिदिम : नेपाली कांग्रेसका सहमहामन्त्री भिष्मराज आङ्देम्बेले नेपालका कम्युनिस्टहरु दरबारीया भएको बताएका छन् । ४६औँ राष्ट्रिय मेलमिलाप दिवसको अवसर पारेर पाँचथर काँग्रेसले फिदिममा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेसको बिरुद्धमा राजदरबारले कम्युनिष्ट जन्माएको बताए ।
‘नेपालका कम्युनिस्टहरु दरबारीया हुन्,’ उनले भने ‘काँग्रेसको लोकप्रियताबाट तर्सिएका तत्कालिन राजाहरुले कम्युनिस्ट जन्माएका हुन् ।’ राजाको निगाहबाट हुर्किएका कम्युनिस्टहरुसँग कुनै पनिदर्शन र समृद्धिको खाका नभएको आङ्देम्बेको ठहर छ । ‘कम्युनिस्टहरु काँग्रेसको बिरोध गर्नु नै राजनीति ठान्छन्,’ उनले भने ‘नेपालका कम्युनिस्टहरुको स्पष्ट सिद्धान्त र दर्शन छैन ।’
सहमहामन्त्रीमा निर्वाचित भएपछि पहिलोपटक गृहजिल्ला पाँचथर आएका आङ्देम्बेले आफ्नो निष्ठा र इमान्दारिताका कारण कार्यकर्ताले आफूलाई सहमहामन्त्रीमा जिताएको बताए । ‘मैले नेताहरुको गुलामी गरेर पद पाएको हैन, ’कुनै नेताको पछि नलागेको इंगित गर्दै उनले भने ‘म डडेल्धुरा पनि धाईन, मोरङ पनि धाईन र तनहँु पनि गईन । कार्यकर्ताहरुको घर दैलोमा गएर सह महामन्त्री जितेको हो ।’ सहमहामन्त्री जित्नुमा कार्यकर्ताको देन भएको उनको ठहर छ ।
काँग्रेसको १४औँ महाधिबेशनले पुस्तान्तरण र हस्तान्तर दुवै काम एकैसाथ गरेको उनको तर्क छ । ‘अहिलेको समितिमा अनुभबी र उर्जावान नेताहरु निर्वाचति हुनुभएको छ,’उनले भने ‘अनुभव र उर्जाको संयोजनबाट अब पार्टी मज्जाले चल्छ ।’ यो कार्य समितिले नेपाली कांग्रेसलाई मुलुकको सबैभन्दा ठूलो पार्टीमा परिणत गर्ने र देशलाई निकाश दिने आङ्देम्बेले ठोकुवा गरे ।
‘अहिलेको समितिले काम गर्न सकेन भने कांग्रेस फेल हुन्छ, ’उनले भने ‘कांग्रेस फेल भयो भने मुलुक फेल हुन्छ, त्यसकारण हामीलाई अलमल गर्ने छुट छैन ।’ कार्यक्रमलाई कांग्रेस पाँचथरका निवर्तमान सभापति नरेन्द्र कुमार केरुङ, राजनीतिक विश्लेषक शंकर तिवारीले समेत सम्बोधन गरेका थिए । प्रमुखवक्ताको रुपमा रहेका तिवारीले बीपी कोईरालाको बारेमा चर्चा गरेका थिए । कार्यक्रमलाई कांग्रेसका प्रदेश र जिल्लास्तरका आधादर्जन बढी नेताहरुले सम्बोधन गरेका थिए ।