रुपन्देहीमा हिउँदे वर्षाले ८ करोडको ईट्टा नष्ट
भैरहवा : हिउँदे वर्षाका कारण रुपन्देही जिल्लामा आठ करोड बढी रुपैयाँको काँचो ईट्टा गलेर नष्ट भएको छ । लुम्बिनी ईट्टा उद्योग व्यवसायी संघ रुपन्देहीका अनुसार वर्षाले जिल्लाका ४७ वटा ईट्टा उद्योगका पोल्नका लागि तयारी अवस्थामा रहेको करिब सवा तीन करोड गोटा काँचो ईट्टा गलेर नष्ट भएका छन् । रुपन्देही जिल्लामा ५२ वटा ईट्टा उद्योगमध्ये ४७ वटा उद्योग ईट्टा पोल्नका लागि तयारी अवस्थामा थिए ।
४७ वटा उद्योगको सवा तीन करोड गोटा काँचो ईट्टा गलेर नष्ट हुदाँ व्यवसायीले आठ करोड १२ लाख बढी रुपैयाँको नोक्सानी ब्यहोरेको लुम्बिनी ईट्टा उद्योग व्यवसायी संघ रुपन्देहीका महासचिव अजय कुमार गुप्ताले बताए । उनका अनुसार पोल्नका तयारी अवस्थामा निर्मित गरिएकोे एउटा इट्टाको करिब साढे दुई रुपैयाँ लगानी लाग्ने गर्दछ ।
रुपन्देहीमा उत्पादन हुने ईट्टा पाल्पा, गुल्मी, पोखरा, काठमाण्डौं लगायत विभिन्न स्थानमा जाने गर्दछ । बेमौसमीका कारण काँचो ईट्टा गलेर नष्ट हुदाँ उत्पादनमा कमी आउने र बजारमा पनि ईट्टाको अभाव हुने महासचिव गुप्ताले बताए ।
प्रत्येक वर्ष माघ मध्यदेखि बैशाख अन्तिम सम्म ईट्टा पोलेर उत्पादन गरिन्छ । बाँकी महिना वर्षाका कारण ईट्टा उद्योगहरु बन्द रहने गर्दछन् । यस वर्षको पहिलो लगानी पुषमा नै वर्षाले करोडौँ रुपैयाँ नोक्सानी हुदाँ व्यवसायीहरु मारमा परेका छन् । उनले वर्षाका कारण करोडौँ ईट्टा नष्ट भएकोले नयाँ ईट्टा उत्पादनमा पनि करिब एक महिना थप समय लाग्ने बताए ।
प्रत्येक वस्तुको बिमा हुने गरेपनि सरकारको नीतिका कारण काँचो इट्टाको बिमा नहुने हुदाँ वर्षेनी करोडौँ रुपैयाँको नोक्सानी व्यहोर्नु परेको नेपाल ईट्टा उद्योग व्यवसायी महासंघका केन्द्रिय सदस्य रमेश खनालले बताए ।
उनले भने-‘हामीहरुले करोडौँ रुपैयाँ लगानी लगाएर व्यवसाय गरेका छौँ तर सरकारले हामीलाई बेवस्ता गर्दा प्रत्येक वर्ष करोडौँ रुपैयाँ नोक्सानी ब्यहोरदै आएको छौँ ।’
सरकारले काँचो ईट्टाको बिमाको व्यवस्था नगराउँदा आफूहरु धरायसी अवस्थामा पुगेको ईट्टा व्यवसायीहरुको गुनासो छ । पोल्नका लागि तयार रहेको ईट्टा नष्ट हुदाँ पुन ईट्टा बनाउनमा लागत बढ्ने हुदाँ इट्टाको मूल्यमा वृद्धि हुने सम्भावना रहेको उनीहरुको भनाई छ ।
रुपन्देही ईट्टा उद्योग व्यवसायी संघका सल्लाहकार समेत रहेको न्यू कामना ईट्टा उद्योगका संचालक टंकनाथ अधिकारीले मौषमबारे पूर्वानुमान हुँदा पनि ईट्टा जोगाउन नसकिएको बताए । उनले जाडोयाममा ईट्टा सुक्न नै १२ दिन भन्दा बढी लाग्ने र त्यसअघि भण्डारण गर्न नसकिने भएकोले हिउँदे वर्षामा ईट्टा नष्ट हुन पुगेको बताए ।
‘गर्मीयाममा वर्षा भएको भए ३० प्रतिशत मात्र नोक्सानी हुन्थ्यो तर हिउँदमा वर्षा हुदाँ नोक्सानी धेरै हुन पुग्यो’ उनले भने ।
काँचो ईट्टाको बिमाबारे प्रदेश सरकार र संघिय सरकारलाई पटक पटक आग्रह गरेपनि यसबारे कुनै ठोस निर्णय नभएकोले आफूहरु मारमा परिरहेको व्यवसायीहरुको गुनासो छ ।