भारतीय सांसदलाई चिनियाँ दूतावासले विरोध पत्र पठाएपछि...
नयाँ दिल्ली: तिब्बतसँग जोडिएको एक कार्यक्रममा भारतीय सांसद सुजित कुमार उपस्थित भएको भन्दै चिनियाँ दूतावासले आपत्ति जनाएको छ। दूतावासले पत्र पठाउँदै भारतीय सांसदको उपस्तिप्रति ध्यानाकर्षणसमेत जनाएको छ। दूतावासले तिब्बत आफ्नो अविभाज्य अंग रहेको उल्लेख गर्दै सुजित आबद्ध संगठनलाई अवैधसमेत बताएको छ।
बिजु जनता दलका राज्यसभा सांसद सुजितले चीनको कदमप्रति निन्दा गरेका छन्। उनले ट्वीटरमार्फत् भारतस्थित चिनियाँ दूतावासले पठाएको उक्त पत्रप्रति निन्दा गर्नुपर्ने उल्लेख गरेका छन्। 'विश्वका सबै जनाले चिनियाँ कम्युनस्ट पार्टीले गरेको तिब्बतको साँस्कृतिक जनसंहारविरुद्ध उभिनुपर्छ,' उनले लेखेका छन्। उनले तिब्बतस्थित निर्वासित सरकारले पनि कडा शब्दमा आपत्ति जनाउनुपर्ने बताए।
गत २१ डिसेम्बरमा दिल्लीस्थित इम्पेरियल होटेलमा आयोजित कार्यक्रममा भारतीय सांसदहरु उपस्थित रहेका थिए। उक्त कार्यक्रममा अल पार्टीज् इन्डियन पार्लियामेन्ट फोरम फर तिब्बतले सुजित कुमारलाई संयोजक चुनेको थियो।