नयाँ वर्ष मनाउन जनकपुरधाममा भारतीयको भिड
जनकपुरधाम : अन्तराष्ट्रिय नयाँ वर्ष मनाउनका लागि जनकपुरधामस्थित जानकी मन्दिरमा भारतीय नागरिकको भिड लागेको छ । शनिवार विहानैदेखि जानकी मन्दिरमा नयाँ वर्ष २०२२को मौका छोपी भारतको विभिन्न राज्यहरुबाट जानकी, राममिन्दर तथा जनकपुरको शक्तिपिठहरुमा पूजाआजा तथा नयाँ वर्ष मनाउने आउनेको भिड लागेको हो ।
कोरोना महामारीको कारण पछिल्लो दुई वर्ष देखि प्रभावित हुँदै आएको नयाँ वर्षमा यस पटक कोरोना संक्रमणको दर घटेको समय भारतीय पर्यटकहरु जनकपुरधाम आएका छन् । भारतको विहार र नेपालका आन्तरिक पर्यटकहरुसमेत जनकपुरधाममा भित्रिएका छन् । विश्वकै हिन्दुको आस्थाको केन्द्रको रुपमा रहेको प्राचिन मिथिलाको राजधानी जनकपुरधाममा अहिले भारतीय नागरिक र गाडीले भरिभराउ छ ।
भारतको विहार प्रान्त, उत्तर प्रदेश सहितका राज्यबाट दश्रनार्थी तथा श्रद्धालुहरु आउने गरेको होटेल व्यवसायी विजय झुनवाला बताउँछन् । ‘अंग्रेजी नयाँ वर्षमा भारतीय पर्यटकहरु त आउँछन, तर उनीहरु एकदिन नबस्दै फर्कन्छन, बिहान आउने दिनभर रामाईलो गर्ने, खानपिन गर्ने र साँझ फर्किने गरेका छन् ।’ भारतको मधुवन्नी जिल्लाबाट जनकपुरधाम आएका पर्यटक मनोज यादवले नयाँ वर्षको सुरुवात जानकी मन्दिरमा पूजा गर्दा झन राम्रो भएकोले नयाँ वर्षकै मौका छोपी पूजापाठ गर्न आएको बताए ।
जानकी मन्दिरका छोटे महन्थ रामरोशन दासले अंग्रेजी वर्षमा यसपटक अत्याधिक श्रद्धालुभक्तजन पूजापाठका लागि आएको बताए । उनले भने, ‘हामी अंग्रेजी वर्ष त मनाउँदैनौ, हामी धार्मिक मान्छे छौँ विक्रम सम्वत नै मनाउँछौं । तर जसको श्रद्धा छ, उसले नयाँ वर्षको दिन पूजा पाठ गरेर मनाउनु राम्रो हो ।’
छोटे महन्थ दासले नयाँ वर्षमा पहिले माछा, मासु, मदिरा खाएर मनाउने गरेपनि अहिले आएर पूजापाठ गरेर पनि नयाँ वर्ष मनाउन थालेको बताए । उनले भने, ‘माछा, मदिरा, रक्सी कहिल्यै हिंसात्मक अस्तित्वको बोध गराउँछ । संस्कारको बोध गराउँदैन्, बिस्तारै नयाँ वर्षमा मन्दिरमा आएर वर्षको सुरुवातले एउटा संस्कारमा उपलब्धि ठूलो कुरा हो ।’
भारतको विहार राज्यमा पछिल्लो समय मदिरा बन्द भएपछि नयाँ वर्षमा भारतीय नागरिकहरु नेपालमा प्रवेश गर्ने र मदिरा पिएर साँझ भारत पस्ने गरेका छन् ।