हिउँमा फसेका बाबुछोरा उद्धारमा गएको हेलिकप्टर रित्तै फर्कियो
ताप्लेजुङ : चार दिनदेखि लोदेन खर्कको हिउँमा फसेका बाबुछोरा खोज्न गएको हेलिकप्टर फर्किएको छ । अल्टिच्युट एयरको हेलिकप्टरले मिक्वाखोला गाउँपालिका-५ सिम्बुकको गाउँमा बसेर दुई पटक प्रयास गर्दा पनि नभेटेपछि फर्किएको हो ।
आइतबार बिहान सोहि हेलिकप्टरमार्फत फेरि प्रयास गर्नेगरीे उद्धार टोली फर्किएको वडाध्यक्ष डण्डु शेर्पाले बताए । स्थानीय गोठपालक लाक्पाटाँसी शेर्पा र उनका १५ वर्षका छोरा पासाङ चार दिनदेखि हिउँमा फसेका छन् । चौरी गोठ सार्ने क्रममा हिउँमा फसेको वडाध्यक्ष शेर्पाले जानकारी दिए ।
शुक्रबार बिहान आफन्तलाई फोन गरेर आफुूहरु हिउँमा फसेको र खानेकुरा पनि सवै सकिएको जानकारी दिएका थिए । सो खबर पाएपछि गाउँबाट युवाहरुको टोली उद्धारका लागि लोदेनतर्फ गएपनि अत्याधिक हिउँका कारण पुग्न सकेनन् ।
“तलबाट गएको युवाहरुको टोलीले ती बावुछोरालाई देखेछन् तर अत्याधिक हिउँका कारण सो स्थानमा पुग्न नसकेपछि गाउँबाट गएका युवाहरु फकिँदैछन् ।” वडाध्यक्ष डण्डुले भने “शनिबार दुईपटक प्रयास गर्दापनि भेट्न सकिएन । अब आईतबार बिहानै देखि प्रयास गर्छौ ।”
शुक्रबार दिउँसोदेखि टेलिफोन सम्पर्कमा रहेका उनीहरुले ओडारमा बसेको बताएको शेर्पा बताउँछन् । पाथीभरा तीर्थयात्री लिएर आएको माउन्टेन एयरको हेलिकप्टरले सुरुमा जाने भनेको पछि हिउँमा ल्यान्ड गर्न सक्दिँन भनेपछि फेरि अल्टिच्युट एयरको हेलिकप्टर झिकाईएको थियो ।