सफलतामा व्यावसायिक स्वास्थ्य
विशेष स्थान र परिवेश पनि चाहिँदैन, मात्र एकछिन फुर्सद निकालेर स्वयंमा डुब्न सके परिणाम हात पर्न थाल्छ।
भागवत् गीता द्वितीय अध्याय, श्लोक २३ मा भएको श्लोक सबैको मुखमा कण्ठस्थ छ। अर्थात्, आत्मालाई न कुनै शास्त्रले काट्न सक्छ, न आगोले जलाउन सक्छ। न पानीले भिजाउन सक्छ न त हावाले सुकाउन नै। भगवान् श्रीकृष्णले आत्मा अजर–अमर र शाश्वत छ भनेर बुझाउन खोजेको कुरा केवल श्लोक र शास्त्रमा मात्र सीमित राख्न होइन। यसलाई प्रत्येक मनुष्यले आफ्नो जीवनमा आत्मसात् गर्न सकोस् भन्ने उद्देश्य हो। तर, शरीरकै लागि जीवनभर परिश्रम र अनेक बखेडा गर्ने, आपधापी गर्ने अधिकांश मनुष्यले आत्मासम्मको सोच र मभित्र अजर–अमर आत्मा छ भन्ने बोध गर्न नभ्याउँदै जीवनबाट बिदा लिन्छन्। खुसी र सुखी जीवनको बारेमा खोजी गर्दागर्दै जीवनबाट बिदा लिने क्षण आइसक्छ तर मानिस बेहोसीमै हुन्छ।
जीवन बहुआयामको सन्तुलनले मात्र सहज रूपमा चल्छ। आजका मानिसलाई संसारको पुरुषार्थ गर्न सुझाउनु पर्दैन। प्रशस्त पैसा भयो भने जीवन चल्छ भने सोचले कडा परिश्रम गर्न सक्षम भएका छन्। धेरै सम्भावना आँखा अगाडि छन्। जसलाई आर्थिक सम्पन्नताको पाटोबाट, अरूको अगाडि सफल व्यक्ति भएर परिचित हुन। यति मात्रै होइन, शारीरिक स्वास्थ्य, मानसिक स्वास्थ्य र भावनात्मक स्वास्थ्यप्रति पनि सजक हुन थालेका छन्। किनकि अति परिश्रमले शारीरिक, मानसिक र भावनात्मक स्वास्थ्यमा केही गडबडी र असन्तुलन हुनु स्वाभाविक नै हो। स्वास्थ्य ठिक गर्न मनोविज्ञानअनुसार काम गर्नुपर्छ। सोहीअनुसार साथीभाइ, परिवारजनसँगको सामीप्यता, समय र घुमघामलाई केही समय छुट्ट्याउनुपर्ने महसुस पनि गर्न थालेका छन्। तर, यी सबैको केन्द्रमा आफ्नो व्यावसायिक स्वास्थ्य कस्तो छ ? त्यसका कारण जीवनका अरू आयामलाई असर गरेको त छैन ? रोग के हो थाहा पाउन सकेका हुँदैनन् धेरैले।
वास्तवमै खोजेको सन्तोष, शान्ति र आनन्द त भित्रै हुन्छ। दृश्य परिवर्तन हुँदा पनि देख्न सकिने दृष्टि बोध गर्न त आँखा चिम्लेर भित्रै हेर्नुपर्ने हुन्छ।
व्यावसायिक स्वास्थ्य भन्नाले आफू जुन पेसामा, नोकरीमा, व्यापार व्यवसायमा, राजनीतिमा, समाजसेवा या अन्य जे पनि कर्मयोगमा संलग्न भइन्छ, त्यो कर्मप्रति सन्तुष्ट छु कि छैन ? त्यो महत्त्वपूर्ण पक्ष हो। पारिश्रमिक दिइएको छ, त्यसकारण मैले अधिक समय पनि काम गरेर देखाउनु छ। या कार्यालयमा बसिदिनुपर्नेछ भन्ने सोच हुन्छ। या यो कर्म मेरो रोजाइको कर्म भएकाले सन्तोषपूर्वक मिहिनेत गर्नुपर्छ र खुसी हुनुपर्छ भन्ने धारणा रहन्छ। एकपटक सोच्नुपर्ने हुन्छ, व्यावसायिक कर्म, प्रशस्त आर्थिक लाभ हुन्छ, त्यसैले मैले खट्नु नै पर्छ या जति खटेको छु त्यसले आत्मिक खुसी पनि दिएको छ ? राजनीतिक सहभागिता, भविष्यका लागि नाम, दाम या समाजसेवा अनि यसमा खुसीसाथ नागरिकको सेवा गर्न सकेको छु ? या बाहिर राजनीतिभित्र व्यक्तिगत स्वार्थ छ ? समाज सेवा, स्वयंको स्वान्त सुखायका निम्ति भएको छ ? या नाम, प्रशंसा र अहंकारका लागि ? जुनसुकै पेसा र सेवाका कर्म हुन्, तिनको उद्देश्य केन्द्रबिन्दुमा स्वान्त सुखाय र परिधिमा नागरिक सेवा हुन सक्यो भने मात्र व्यावसायिक स्वस्थ मान्न सकिन्छ।
अधिकांशको कर्म पछाडि लुकेको उद्देश्य भनेको निजी स्वार्थ र देखावटी सम्पन्नता रहेको पाइन्छ। समाजमा प्रशस्तै उदाहरण भेटिन्छन्, आफन्तजन, मित्रजन, राजनीतिक नेतृत्त्व सबैको भागदौड र सफलताको आकांक्षा नै अरूको अगाडि नामले प्रख्यात हुनु छ। नामलाई व्यवस्थित गर्न दाम कमाउनु छ। त्यसका लागि सबै किसिमका साम, दाम, दण्ड, भेदको प्रयोग नगरी सम्भव नै छैन। यति भएपछि स्वयंमा उत्पन्न हुने चिन्ता, तनाव र अपूर्णताको कारण खोजिरहनु जरुरी होला र ?
चन्द्रमामा पुग्ने पनि आफैंभित्र नपुग्नु दुर्भाग्य भौतिक विकास मानवकै सिर्जनात्मकताको उपज हो। अस्तित्वले मानिसलाई यति धेरै बुद्धि, विवेक र मस्तिष्क दिएको छ कि उसलाई कतिबेला के प्रयोग गर्ने धौ धौ परेको छ। मानिस स्वयंले विकास गरेको विज्ञानको सहाराले पानीमुनि पुग्यो। अन्तरिक्ष र चन्द्रमामा पुग्यो। मंगलमा पाइला टेक्यो तर जीवनमा मंगल छ कि छैन बोध भयो कि भएन ? समय मानिसले बनाएको होइन तर ब्रान्डेड घडी बनायो। दृश्य र दृष्टि त अस्तित्वले नै दिएको हो।
मानिसले नयाँ नयाँ प्रविधि विकास गरेर क्यामेरा बनायो र दृश्यलाई क्यामेरा कैद गर्ने कला विकास गर्यो। कलाको विकास मात्र भएको छैन। यसबाट आर्थिक लाभ र व्यावसायिकता पनि फस्टाएको छ, रोजगारी मिलेको छ।
नयाँ नयाँ आविष्कार भएका छन्। कल्पना नै गर्न नसकिने कृत्रिम वस्तुहरू निर्माण गरेर विश्वलाई नै आश्चर्यचकित पार्ने काम मानिसले नै गरेका छन्। नदी किनारबाट सभ्यता विकास गर्दै गएको ढुंगेयुगको मानिसले कृत्रिम सूर्यसमेत निर्माण गरिसक्यो। यति गर्दा पनि असन्तुष्ट, तनाव, अपूर्णता र गुनासो किन ? मानिसले बुद्धि, विवेक र मस्तिष्क जहाँ पुर्याए पनि स्वयंभित्र हेर्ने कला बिर्सियो। भौतिक चिज सधैं उपलब्ध हुन सम्भव हुँदैन। सधैं उही स्थान र परिवेशमा मानिस सीमित हुन सक्दैन। उसको स्थान, सोच र मन परिवर्तन भइरहन्छ। तर, वास्तवमै खोजेको सन्तोष, शान्ति र आनन्द त भित्रै हुन्छ। दृश्य परिवर्तन हुँदा पनि देख्न सकिने दृष्टि बोध गर्न त आँखा चिम्लेर भित्रै हेर्नुपर्ने हुन्छ। जो अजर, अमर छ, नयाँ नुतन छ, अनन्त छ, जसको सीमा नै छैन, आत्मतृप्ति र आत्मानुभूति महसुस हुन्छ।
विशेष स्थान र परिवेश पनि चाहिँदैन। एकछिन फुर्सद निकालेर स्वयंमा डुब्न सके पुग्छ। बहिर्मुखी स्वभाव र अरूकै ध्यानमा समय खर्चेपछि स्वयंलाई हेर्ने सहज अभ्यास छुट्छ नै। अनि कसरी सन्तोष र आनन्दित बन्न सक्छ जीवन ? जबसम्म स्वयंको कर्म, उद्देश्य, कर्मको परिणाम स्वान्त सुखाय र बहुजन हिताय बन्न सक्दैन, तबसम्म व्यावसायिक स्वस्थ प्राप्त हुँदैन। अस्वस्थताको सफलता र परिणाम असन्तोष र अपूर्णता मै सीमित रहन्छ।
यसलाई बोध गर्न बाहिर कसैका सफलताका कथा पढेर र सुनेर मात्रै हुँदैन, स्वयंलाई बोध गर्नैपर्छ।
आफ्नो निजतामा बाँच्ने कला
अधिकांश समय अरूका लागि सोच्दैमा, अरूलाई देखाउन, बाहिरी सम्मानकै निम्ति समय र श्रम खर्चिनेहरूले जीवनको एउटा क्षणमा पुगेर मात्र सोच्न भ्याउँछन्, मैले मेरा लागि कसरी बाँचे त ? जीवनभरको जुन आपधापी थियो त्यो। निजताका लागि, व्यक्तिगत सोख र सन्तुष्टिका लागि थियो या अरूले मलाई यसरी चिनोस् भन्ने थियो ? प्रत्येकले आफ्नै जीवनसँग, आफैंमा गर्नुपर्ने स्व–संवाद हो यो। जब आफ्नै स्व–सत्तासँग परिचित हुने जागरण पैदा हुन्छ, तब थाहा लाग्छ– रातलाई दिन बनाउने र अँधेरोमा दियो जलाउने ? अनि होहल्लामा पनि शान्ति खोज्ने कला त भित्रको हुँदोरहेछ। असतोमा सद्गमय, तमसोमा ज्योतिर्गमय, मृत्योर्मा अमृतम गमयको बोध स्वयंले गर्ने हो, स्वयंको जीवन बाँच्ने कलाबाट।
अनुभव र बोध सबैभन्दा ठूलो सिकाइ हो। अरूको निजतामा हस्तक्षेप नगर्ने तर आफ्नो निजतामा अरूले हस्तक्षेप गर्ने अवसर पनि नदिनु आत्मसम्मानमा बाँच्ने कला हो। पहिले, आफ्नोभित्रको अन्तर्मन र निजतालाई बुझ्न सकिएन भने अरूले हामीलाई कसरी बुझ्न सक्छन् ? दोस्रोले, आफ्नै कथा, व्यथा र परिभाषाले हाम्रो अर्थ लगाउन खोज्छ, हामीलाई परिचित गराउने कोसिस गर्छ। तर, अन्तिम निर्णय आफ्नो बारेमा आफैंले लिनुपर्छ। त्यसका लागि आत्मविश्वास र आफ्नो निजतासँग आफैं परिचित हुनुपर्छ।