सोलुखुम्बुको देउसामा नवजात शिशुको शव फेला
सोलुखुम्बु : जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका–८ देउसा बुढीडाँडामा एक नवजात शिशुको शव फेला परेको छ । देउसास्थित बुढिडाँडाको बाँसघारीमा आइतबार बेवारिसे अवस्थामा नवजात शिशु(छोरा)को शव भेटिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
करिब दुई/तीन दिन अघि जन्माएर छोडेको जस्तो देखिने उक्त शव आइतबार स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट खटिएको प्रहरी टोलीले शवको कानूनी प्रकृया पूरा गरि पोष्टमार्टमका लागि जिल्ला अस्पताल फाप्लु ल्याइएको प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिए ।
प्रहरीले सोधपुछ गर्दा आसपासमा त्यस्ता व्यक्ति कोही पनि पत्ता नलागेकाले टाढैबाट ल्याएर छोडेको हुन सक्ने प्रहरीको अनुमान रहेकोछ । घटनाको विषयमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।