ओमिक्रोन कम हानिकारक भएको नयाँ अध्ययनको दाबी

ओमिक्रोन कम हानिकारक भएको नयाँ अध्ययनको दाबी

लण्डनः कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोन फोक्सोको लागि कम हानिकारक भएको नयाँ अध्ययनले पत्ता लगाएको छ। कोभिड-१९ को पहिलो र अन्य भेरियन्टभन्दा ओमिक्रोन भेरियन्ट कम हानिकारक भएको विभिन्न ६ वटा अध्ययनले पत्ता लगाएका हुन्।

क्रिसमसपछि सार्वजनिक भएका विभिन्न ६ वटा अध्ययनले सो तथ्य पत्ता लगाएका हुन्। ओमिक्रोनले फोक्सोभन्दा बढी घाँटीमा असर गर्ने सम्भावना देखिएको अध्ययनमा उल्लेख छ। यद्यपि, वैज्ञानिकहरुले सो सम्बन्धमा अझै समिक्षा र अध्ययन गरिरहेको बताइएको छ।

डेल्टा र अन्य भेरियन्टको तुलनामा ओमिक्रोन भेरियन्ट बढी संक्रामक तर फोक्सोको लागि कम हानिकारक भएको नयाँ अध्ययनमा संलग्न वैज्ञानिकहरुले बताएका छन्।

‘कोभिड १९ का अघिल्ला भेरियन्टभन्दा ओमिक्रोन फरक छ। अघिल्लो भेरियन्टहरुको तुलनामा ओमिक्रोन तीव्ररुपमा फैलिए पनि फोक्सो र मृत्युको लागि यो कम हानीकारक छ,’ युनिभर्सिटी कलेज लण्डनका भाइरोलोजी प्रोफेसर डिनान पिल्लेले गार्जियनसँग भनेका छन्।

 डेनमार्कले सन् २०३० सम्म आन्तरिक उडानलाई इन्धनमुक्त बनाउने

कोपनहेगनः डेनमार्क सरकारले सन् २०३० सम्म आन्तरिक उडानलाई इनधनमुक्त बनाउने घोषणा गरेको छ। सरकारले आइतबार सन् २०३० सम्ममा आन्तरिक उडानलाई जैविक इनधनमुक्त बनाउने घोषणा गरेको हो।

डेनमार्ककी प्रधानमन्त्री मेटी फ्रेडरिक्सेनले हरित उडान सेवा सञ्चालन गर्न सरकारले सो लक्ष्य राखेको जानकारी दिएकी छन्। यद्यपि सरकारले जैविक इनधनमुक्त उडानको वैकल्पिक योजना भने हालः सार्वजनिक नगरेको बीबीसीमा समाचार छ।

डेनमार्कले सन् २०३० सम्ममा ७० प्रतिशत कार्बन उत्सर्जन घटाउने उद्देश्यस्वरुप आन्तरिक उडानलाई जैविक इनधनमुक्त गराउने लक्ष्य राखेको बताइएको छ। कार्बन उत्सर्जन कटौतिमा संसारका अन्य मुलुकले सुस्त चाल चलिरहेकोले कार्बन कटौतिमा डेनमार्कले नेतृत्वदायी भूमिका लिइरहेको प्रधानमन्त्रीको भनाइ छ।

अमेरिकी प्रतिबन्धविरुद्ध काबुलमा प्रदर्शन

काबुलः अमेरिकाको प्रतिबन्धविरुद्ध १० हजारभन्दा बढी अफगान नागरिकले प्रदर्शन गरेका छन्। अफगान नागरिकहरुले आइतबार काबुलका विभिन्न मुख्य स्थान र गल्लीहरुमा अमेरिकी प्रतिबन्धविरुद्ध प्रदर्शन गरेका हुन्।

अफगानिस्तानमाथि अमेरिकाले लगाएको प्रतिबन्ध हट्नुपर्ने प्रदर्शनकारीहरुको माग छ। स्थानीय मिडिया खामा प्रेसकाअनुसार अमेरिकाले अफगानिस्तानमाथि लगाएको प्रतिबन्ध र आर्थिक दबाब तुरुन्त हटाउनुपर्ने र अफगान नागरिकहरुलाई आफ्नो राष्ट्र निर्माण गर्न दिनुपर्ने माग राखेका छन्।

अमेरिकाले अफगानिस्तानको करिब १० विलियन डलर कब्जा गर्दै इस्लामिक एमिराट्स अफ अफगानिस्तानमाथि प्रतिबन्धको घोषणा गरेपछि नागरिकहरुले काबुलमा प्रदर्शन गरेको खामा प्रेसमा उल्लेख छ। अमेरिकाले अफगानिस्तानमाथि लगाएको प्रतिबन्धले आर्थिक अवस्था र व्यापार समस्या दोब्बर भएको प्रदर्शनकारीहरुको भनाइ छ।

अमेरिकाले इथियोपिया, माली र गिनीलाई व्यापार कार्यक्रमबाट हटायो

वासिङ्टनः अमेरिकाले इथियोपिया, माली र गिनीलाई व्यापार कार्यक्रमबाट हटाएको छ। मानव अधिकार उल्लंघन र पछिल्लो समयको सैन्य कुको कारण देखाउँदै अमेरिकाले ती मुलुकलाई व्यापार कार्यक्रमबाट हटाएको हो।

युएस ट्रेड रिप्रिजेन्टेटिभले शनिबार विज्ञप्ति जारी गर्दै तीनवटा मुलुकले अफ्रिकन ग्रोथ एण्ड अपर्चुनिटी एक्ट (एजीओए)को नियम उल्लंघन गरेको भन्दै ती मुलुकलाई सो व्यापार कार्यक्रमबाट हटाएको बताएको छ।

तीनवटै मुलुकका सरकारले पछिल्लो समय एजीओएको नियम उल्लंघन गरेको अमेरिकाले जनाएको छ। अमेरिकी सरकारको मातहत सञ्चालित एजीओएले सब सहारान अफ्रिकी मुलुकहरुको आर्थिक एवं व्यापारिक हितको लागि कामहरु गर्दै आएको छ। 

किम यो वर्ष आर्थिक विकास र कृषिमा केन्द्रीत हुने

प्योङयाङः उत्तर कोरियाका शासक किम जोङ उनले सन् २०२२ मा आर्थिक विकास र कृषिमा केन्द्रीत हुने बताएका छन्। आफ्नो १० वर्षे शासनकालको समीक्षा कार्यक्रमको अवसरमा बोल्दै किमले जारी वर्ष सन् २०२२ मा परमाणु हतियार नभइ देशको आर्थिक विकास र कृषिमा केन्द्रीत हुने बताएका हुन्।

स्थानीय मिडिया केसीएनएका अनुसार हालै सत्ताधारी पार्टीको बैठकमा आफ्नो १० वर्षे सत्तारोहणको समिक्षा गर्दै किमले देश चरम आर्थिक र खाद्य संकटबाट गुज्रिरहेकोले आर्थिक विकास र कृषि यस वर्ष राष्ट्रको मुख्य एजेन्डा हुने बताएका हुन्।

‘सन् २०२१ म हामीले नाजुक परिस्थितिसँग गुज्रिनुपर्‍यो। सो अवस्थाको सामना गर्न यस वर्षको मुख्य काम भनेको आर्थिक र खाद्य संकटको सामना गर्नु हो भने जनताको लागि लत्ताकपडा र आवासको राम्रो व्यवस्था हुनु हो,’ किमले भनेका छन्।

प्लाष्टिक प्याकेजिङमा फ्रान्सको प्रतिबन्ध

पेरिसः फ्रान्स सरकारले प्लाष्टिक प्याकेजिङमा प्रतिबन्ध लगाएको छ। सरकारले फलफूल एवं तरकारीको प्लाष्टिक प्याकेजिङमा प्रतिबन्ध लगाएको हो।

सरकारले प्लाष्टिकजन्य प्रदूषण घटाउन नयाँ नियम लागू गरेको हो। प्लाष्टिकमा प्याक गरिएका ती खानेकुरा सन् २०२२ को सुरुवादेखि नै प्रभावकारी हुनेगरी किनबेच गर्न नपाइने गरी नयाँ नियम बनाएको छ। नयाँ नियमअनुसार गाँजर, टमाटर, आलु, स्याउँ, सुन्तला लगायत अन्य ३० वटा खानेकुरालाई प्याष्टिकमा प्याक गरेर किनबेच गर्न पाइने छैन। पुनःप्रयोग गर्न मिल्ने सामग्रीमा प्याक गरिएका फलफूल तथा तरकारी मात्र किनबेच गर्न पाइने नयाँ कानुनमा उल्लेख छ।

सरकारले यसवर्ष आंशिकरुपमा मात्र प्लाष्टिकमा प्रतिबन्ध लगाए पनि आगामी वर्षदेखि फ्रान्सलाई प्लाष्किटमुक्त बनाउने लक्ष्य राखेको बताइएको छ। सरकारले बनाएको नयाँ नियमले करिब १ बिलियन वटा प्याष्टिकजन्य फोहोरमैला घटाउन मद्धत गर्ने अपेक्षा राखिएको छ।

कोलोराडो हरमा डढेलोबाट १ हजार घर जले

कोलोराडोः अमेरिकी राज्य कोलोराडो नजिकैको वनमा लागेको भीषण डढेलोबाट करिब एक हजार घरहरु जलेर खरानी भएका छन्। बिहीबार लागेको डढेलो अनियन्त्रीत बन्दा कोलोराडोको डेन्भर महानगरपालिका क्षेत्रका दुईवटा सहरमा करिब १ हजारभन्दा बढी घर जलेर खरानी भएका हुन्।

डढेलोबाट शनिबारसम्म ३ मानिसले ज्यान गुमाएका छन् भने अन्य मानिस घाइते भएका छन्। अधिकारीहरुले शनिबार बताएअनुसार सुपेरियर र लुइसभिल्ला सहरका १ हजारभन्दा बढी घरहरु जलेर नष्ट भएका छन्। डढेलोले दुईघण्टामा मात्र २४ सय हेक्टर क्षेत्रफल विनाश गरेको छ। विनाशकारी डढेलो निभेपछि सो क्षेत्रमा २० सेन्टिमिटरसम्म हिउँ परेकोसमेत शनिबार अधिकारीहरुले बताएका छन्।

लामो समयसँगैको खडेरी र सुख्खा मौसमका कारण बिहीबार बिहानैदेखि सो क्षेत्रमा डढेलो लागेको थियो। प्रतिघण्टा १६९ किलोमिटरको वेगमा चलेको हावाले सो डढेलो तीव्ररुपमा फैलिएको थियो। डढेलोपछि सो क्षेत्रमा बसोबास गर्दै आएका करिब ३४ हजार मानिस घर छोड्न बाध्य भएका थिए। तीव्ररुपमा फैलिएको डढेलाले वर्ल्ड टाउन र सुपेरियर क्षेत्रमा सबैभन्दा बढी क्षति पुगेको त्यहाँको महानगरपालिकाले जनाएको छ। हालैको डढेलो कोलोराडो इतिहासकै विनाशकारी भएको अधिकारीहरुले बताएका छन्।

पछिल्ला वर्षहरुमा जलवायु परिवर्तनका कारण कोलोराडो क्षेत्रले चरम सुख्खा र खडेरीको सामना गरिरहेको छ। जसका कारण सो क्षेत्रमा आगलागी र डढेलोका घटना बढ्दै गएका छन्। अघिल्ला वर्षहरुको तुलनामा पछिल्ला वर्षहरुमा वनजंगलमा लाग्ने डढेलोले झनै विनाशकारी रुप लिने गरेको बताइएको छ।

दक्षिण कोरियाको संसद भवनमा भीषण आगलाग

केप टाउनः दक्षिण अफ्रिकाको संसद भवनमा भीषण आगलागी भएको छ। राजधानी केप टाउनमा अवस्थित संसद भवनमा आइतबार बिहान भीषण आगलागी भएको हो। आगलागी नियन्त्रणका लागि ठूलो संख्यामा अग्निनियन्त्रकहरु खटाइएको थियो। आगलागी भएको १२ घण्टापछि मात्र सो आगलागी नियन्त्रणमा आएको थियो।

‘संसद भवनमा लागेको आगो यतिबेला नियन्त्रणमा आएको छ। सो परिसरभित्र रहेको राष्ट्रिय सभा भवन भने आगलागिबाट पूर्णरुपमा ध्वस्त भएको छ’ केप टाउनस्थित आपतकालीन विभागका प्रवक्ताले समाचार एजेन्सी एएफपीसँग भनेका छन्। आगलागीको कारणबारे हालसम्म पत्ता नलागेको बताइएको छ।

सो भवनको आधा भाग १८औं शताब्दीमा निर्माण गरिएको थियो भने भवनको दुईवटा नयाँ भाग २०औं शताब्दीमा निर्माण गरिएको थियो। भवनभित्र रहेका कलात्मक आकार र सामग्री आगलागीले क्षति पुर्‍याएको अधिकारीहरुले बताएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.