कांग्रेस नेतृत्वका चुनौती
भागबन्डाको राजनीति र निर्वाचन प्रक्रियामा हुने अत्यधिक खर्चका कारण नेपालको लोकतन्त्र नै बदनाम हुन थालेको छ।
देशको सबैभन्दा पुरानो, लोकतान्त्रिक दलको १४औं महाधिवेशनले नयाँ नेतृत्व निर्वाचित गरिसकेको छ। आन्तरिक प्रतिस्पर्धाको अहिलेका लागि पटाक्षेप भएको छ। लोकतन्त्रमा विश्वास राख्ने मतदाताले विवेक प्रयोग गरेको स्पष्ट देखिन्छ। प्रतिस्पर्धामा उत्रिएकामध्ये व्यक्तिको मूल्यांकन र समूहको आबद्धतालाई अस्वीकार गर्दै निर्वाचनमा मतदान भएको देखिन्छ। क्रियाशील कार्यकर्ताको निर्वाचनदेखि केन्द्रीय प्रतिनिधिको चयन गर्दासम्म युवाको उपस्थिति सघनरूपमा देखियो। मतदाताले कांग्रेसको सिद्धान्त, मूल्य, मान्यता र आदर्शलाई आत्मसात् गर्दै अघि बढ्न स्पष्ट आदेश दिएका छन्। यसबाट विचलित भएमा यी आशा गरिएका युवाको मूल्यांकन पुनः १५औं महाधिवेशनमा मतदाताले गर्ने नै छन्। तर, केही नेतामा सैद्धान्तिक विचलन धेरै नै देखिएको छ। व्यक्तिगत सौदाबाजीमा आधारित भएर महाधिवेशनमा केही नेताले आफ्नो भूमिका धुमिल बनाए। तिनको प्रभाव केही हदसम्म दलभित्र रहने अवस्थामा अपेक्षा गरिएको युवा नेतृत्वलाई अघि बढ्न कठिनाइ हुनेछ।
प्रभावशाली नेताका गैरलोकतान्त्रिक चरित्र
लामो समयदेखि लोकतन्त्रको बहाली र पुनर्बहालीका लागि योगदान दिँदै आएका केही नेता पनि मतदाताका दृष्टिमा स्वीकार्य हुन सकेनन्। एक नेताले आफूबाहेक अन्य कसैलाई योग्य देख्न सकेनन्। अत्यन्त ढुलमुल प्रवृत्तिमा पटकपटक प्रस्तुत भए। शासनमा पुग्ने र प्राप्त शक्तिलाई पारिवारिक सीमित घेरामा रहेकाहरूलाई मात्र फाइदा दिलाउन अभ्यस्त देखिए। पूर्वाग्रही राजनीतिका पर्याय बने तर समर्थक जुटाउन सकेनन्। अन्तिम अवस्थासम्म पनि संस्थापन इतरबाट आफैंलाई सभापतिको उम्मेदवार घोषित गरे। आफ्नो समूहको नेतृत्व लिइराखेको मिथ्या सोचमा लामो अवधिदेखि विश्वस्त रहे। नेतृत्व तहमा देखिएका कसैले पनि उनलाई नेता मान्न र सभापतिका रूपमा दललाई नेतृत्व प्रदान गर्न सक्ने पात्रका रूपमा विश्वास गरेनन्।
कार्यकर्ता स्तरमा खासै प्रभाव नभएका कारण उम्मेद्ववारी दिने साहस गर्न सकेनन्। निर्वाचन क्षेत्रदेखि दलकै निर्वाचनमा प्रायः उनलाई एक्लो बनाइदिए। मतदाताबाट तिरस्कृत भएका ती नेता अन्ततः विक्षिप्त हुन पुगे। शोकाकुल अवस्थामा रहेका ती नेताले प्रत्यक्ष रूपमा कुनै पनि उम्मेदवारलाई समर्थन गरेनन्, मतदान पनि गरेनन्। मतदाताबीच थप आलोचनाका पात्र बने। संस्थापन इतर पक्षबाट स्वीकार्य नहुने अवस्था आफैंले बनाए। संस्थापन पक्षमा यिनको स्थान सामान्य कार्यकर्ताका रूपमा मात्र हुने भयो। यस प्रकार राजनीतिलाई तिलाञ्जली दिँदै परिवर्तनकारी शक्तिलाई साथ र सहयोग दिनबाट नराम्ररी चुके। अर्का पात्र देखिए सुन्निएर मोटाएका। सीमित जनाधार भएका, त्याग र तपस्याका प्रतिमूर्ति बुवाको अवमूल्यन गर्न उद्यत् रहे। अभिव्यक्तिलाई केही समय पनि निरन्तरता दिन सकेनन्। शक्ति आर्जन गर्ने क्षणिक फाइदामा अभ्यस्त रहे। राजनीतिक भविष्यलाई प्रायः तिलाञ्जली दिए। आफ्नै निर्वाचन क्षेत्रका मतदाताको निरन्तर रूपमा प्रवाह भएको आफ्नैविरुद्धको आलोचनाबाट पनि विक्षिप्त बने। परिवारभित्र एकताको सन्देश दिन असफल व्यक्तिहरू पनि देखिए। आफैंलाई बुवाको योगदानका कारण मात्र योग्य सम्झिने, मतदाता आकर्षित हुने कुनै काम गर्न नसक्नेहरू त घर न घाटका बने। तिनै पात्रले बुवाको त्याग, तपस्या र योगदानलाई उपयोग गर्न खोजे। परिवारमा मात्र सीमित नबनाई अग्रज र विशिष्ट योगदान दिएका ती बुवाहरू राष्ट्रको पुँजी हुन्। नेपाली जनताका बुवा र असली अभिभावक हुन् भनेर नेता छोराले महसुस गरेनन्। बुवाहरू लोकतान्त्रिक संस्था हुनुहुन्थ्यो, सन्ततिहरूले बुवामा मात्र सीमित गर्न चाहेर अपमान गरे।
नयाँ नेतृत्वसामु देखिएका चुनौती
दोस्रो कार्यकालका लागि निर्वाचित सभापतिका सामुन्ने असंख्य चुनौती छन्। उनले अब सबै कांग्रेसीको सभापति बन्न सक्नुपर्छ। आफूसँग प्रतिस्पर्धामा उत्रिएका मात्र होइन, सबैलाई सम्मान, मार्गदर्शन, पथप्रदर्शन गर्दै एकताबद्ध बनाउने अहम् जिम्मेवारी नयाँ सभापतिमा छ। प्रतिस्पर्धी डा. शेखर कोइरालाले शक्तिमा भागबन्डा खोज्दिनँ र गुटबन्दी गर्दिनँ। यस पटकको जस्तो अब चार वर्षपछि अतिरिक्त समय दिँदैनौं। अर्को अधिवेशनमा सभापतिको उम्मेदवार बन्नेछु र कांग्रेसलाई परिवर्तनको दिशामा अभिमुख बनाई सञ्चालन गर्न अनुरोधका साथ उपयुक्त कदमका लागि सभापतिलाई साथ दिने दृढसंकल्प गरेका छन्। यो सदाशयतालाई निःसन्देह सभापतिले सम्मान गर्दै कार्यान्वयनमा लैजाने छन्। यसअघि भागबन्डामा अभ्यस्त दलका नेता तथा कार्यकर्तालाई समाहित नगराउँदा र एकपक्षीय हिसाबले भागबन्डा गर्दा प्रत्यक्ष प्रभाव दलका संगठनमा पर्नेछ। यस सन्दर्भलाई विशेष गम्भीर भएर सभापतिले भावी कार्यक्रम र नीतिहरू तय गर्नुपर्छ।
कांग्रेसका जिम्मेवार नेताहरू गत निर्वाचनमा वाम एकताका कारण पराजित भएको तर्क गरिराखेका छन्। कम्युनिस्ट मिल्दा निर्वाचन हार्ने अवस्थामा कांग्रेस छ। सिद्धान्त र आदर्शका हिसाबले साम्यवादीहरूसँग कांग्रेस निरपेक्ष रूपमा पृथक् छ। कांग्रेसको कार्यदिशा, सिद्धान्त र आदर्शका आधारमा उनीहरूसँग प्रतिस्पर्धा गर्नुपर्छ। साम्यवादीहरू फुट्दा र उनीहरूसँग चुनावी तालमेल गर्दा मात्र निर्वाचनमा उल्लेख्य स्थानमा विजयी बन्ने कांग्रेसको सोच गलत छ। जुटेका साम्यवादीसँग चुनावी गठबन्धन नगरी सबै निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा गर्न र विजय हासिल गर्ने गरी तयारी गर्नु जरुरी छ। यसका लागि सबै नेता तथा कार्यकर्तामा उत्साह जगाउने, मनोबल उच्च बनाउने प्रकारले रणनीतिहरू निर्धारण गर्नुपर्छ। भावनात्मक रूपमा कांग्रेसबीच एकता हुँदा मात्र सम्भव हुन सक्छ। यस चुनौतीलाई सामना गर्न विशेष पहल खासगरी सभापतिले लिनुपर्छ। चौधौं महाधिवेशनमा नीतिसम्ममा पनि बहस नभई निर्वाचनमा गएको कांग्रेसमा धेरै कमजोरी छन्। कार्यकर्तामा मनोबल शीघ्र उच्च पार्ने गरी कार्यक्रम र रणनीतिहरू तय हुनुपर्छ।
कांग्रेसका जिम्मेवार नेताहरू गत निर्वाचनमा वाम एकताका कारण पराजित भएको तर्क गरिराखेका छन्। अहिले पनि कम्युनिस्ट मिल्दा निर्वाचन हार्ने अवस्थामा कांग्रेस छ।
भागबन्डाको राजनीति र निर्वाचन प्रक्रियामा हुने अत्यधिक खर्चका कारण नेपालको लोकतन्त्र नै बदनाम हुन थालेको छ। यसलाई सुधार्न कांग्रेससँग स्पष्ट धारणा हुनुपर्छ। महाधिवेशनले रूपान्तरण र पुस्तान्तरणका पक्षमा स्पष्ट निर्देशन दिएको छ। यसलाई आत्मसात् गर्दै २१औं शताब्दीको कांग्रेसले कसरी परिमार्जित हुनुपर्छ ? महाधिवेशनमा कुनै पक्षबाट पनि राजनीतिक प्रस्ताव पेस भएन जुन गम्भीर विषय हो। यस विषयमा निर्णय लिनु जरुरी छ। निर्वाचनमा टिकट दिनेदेखि सबै विषयमा निर्णय लिन वस्तुगत आधार तय गर्नुपर्छ। व्यापारिक घरानालाई दलभित्र सहजै महत्त्वपूर्ण जिम्मेवारी प्रदान गरिँदा दल धेरै बदनाम भएको छ अनि कार्यकर्ता निराश। भ्रष्टाचार व्याप्त भएको छ। यसलाई नियन्त्रणमा राख्न सबैभन्दा पहिला राजनीतिक दलका शीर्षनेता र सरकारमा रहेकाको सम्पत्ति छानबिन गराउने संकल्प कांग्रेसले गर्नुपर्छ। कार्यकर्ता र आममानसमा सकारात्मक सन्देश प्रवाह हुने थियो।
वर्तमान अवस्थामा नेपालको राजनीति आन्तरिक रूपमा परिवारवाद, नातावाद र कृपावाद हुँदै व्यापारी घरानासम्म पुग्यो। अझ त्यसबाट नियन्त्रित र विदेशी प्रभावबाट अघि बढिराखेको आलोचनासम्म खेप्नु परेको छ। नयाँ कार्य समितिले भ्रष्टाचार नियन्त्रण गर्ने प्रभावकारी उपाय अवलम्बन गर्नुपर्छ। समयसीमासहित यसका तरिका घोषणा गर्नुपर्छ। परिवारवादको अन्त्य गर्ने, निर्वाचनलाई सहज र सरल बनाउन दलभित्र आन्तरिक लोकतन्त्र सुदृढ गर्ने प्रतिबद्धता पनि आउनु जरुरी छ। निश्चित समय दलभित्र योगदान गरेकाहरूलाई मात्र राजनीतिको मूलप्रवाहमा समाविष्ट गर्ने गरी निष्ठावान् कार्यकर्तालाई ऊर्जाशील बनाउनु आवश्यक छ। नीति, विचार, पद्धति र कार्यदिशा कस्तो हुने हो ? सार्वजनिक गर्नुपर्छ। अहिलेको राजनीतिक दिशाविहीनताका कारण मार्ग अवलम्बन गर्न नसकेको कांग्रेसलाई अघि बढाउनु पर्छ। त्यसका लागि लोकतान्त्रिक शक्तिका आधारमा मुलुकको शासन, शासन सञ्चालनका लागि आधारहरू तय गर्नुपर्छ। अतः उपयुक्त सिद्धान्त र त्यसप्रति समर्पित नेतृत्व आजको कांग्रेसको आवश्यकता हो। यस्तो नेतृत्वलाई कार्यकर्ताले स्वतः स्वीकार्छन्।
कांग्रेसमा सामूहिक नेतृत्वको आवश्यकता देखिएको छ। लोकतान्त्रिक दल भएका नाताले नेता र कार्यकर्ताबीच सम्बन्ध सुधार गर्नुपर्छ। कांग्रेसको सिद्धान्त प्रजातन्त्र, समाजवाद र राष्ट्रियतालाई मूलमन्त्र मानी नीतिहरू तय गरिनुपर्छ। खुला छलफल र निर्णयपश्चात सामूहिक उत्तरदायित्व वहन गर्ने परिपाटीलाई आत्मसात् गर्नु आवश्यक छ। कांग्रेसभित्र प्रायः सबै सदस्य एवं पदाधिकारीको निर्वाचन हुने व्यवस्था गरिएकाले लोकतान्त्रिक अभ्यासको गुञ्जायस देखिएको छ। निर्वाचनमा युवाको उल्लेख्य प्रतिनिधित्व भएकाले पनि परिवर्तन र रूपान्तरणको दिशामा सुधार हुने सम्भावना देखिन्छ। दलको विधानले पदाधिकारीको भूमिका स्पष्ट पारेको छैन।
यसले पुनः सभापतित्व प्रणाली हावी हुने हो कि ? सन्देह छ। तसर्थ, विधान संशोधन हुनुपर्छ।
नेपालको राजनीति सधैं कांग्रेसकै वरिपरि घुमिराखेको छ। ठूला राजनीतिक घटनाक्रमको यसै दलले नेतृत्व प्रदान गरेको छ। लोकतान्त्रिक मूल्य, मान्यता र सिद्धान्तलाई आत्मसात गर्ने दलका रूपमा स्थापित छ। सबैलाई मिलाएर लैजान विशेष दक्षता हासिल गरेका सभापति छन्। कमजोर, उत्पीडित, दलित, जनजातिलाई उत्साहित गर्दै जिम्मेवारी प्रदान गर्न विशेष योगदान सभापतिले गरेको देखिन्छ। दललाई पुस्तान्तरण र रूपान्तरण गर्ने एजेन्डालाई स्वीकार गर्नुको विकल्प कसैमा देखिँदैन। यो कांग्रेसका लागि ठूलो अवसर पनि हो। कार्यकर्ताले आशा र विश्वास गरेका युवाको उल्लेख्य जमघट अहिले पार्टीमा छ। यी तीनै पक्षबीच एकता, सहयोग र सद्भाव कायम गरी दल र सरकार सञ्चालन गर्नुपर्छ। यसैमा कांग्रेसको भविष्य निर्भर गर्छ।