गौशालामै आहारा पाउँदैन्न गाई

गौशालामै आहारा पाउँदैन्न गाई

महोत्तरी : गौशालास्थित निगौल गाई गौशालाको गोठको छेउमा जाने बित्तिकै गाईहरु चर्को स्वरमा कराएको सुनिन्छ । नजिकमा कोही जाँदा समेत गाईवस्तु आहाराका लागि कराउने गर्दछन् । फर्ममा बनाएको नादी(गाईवस्तुलाई खुवाउनको लागि बनाएको सामग्री) भित्र सुख्खा परालको कुट्टी र पानी मिसाएको छ । तर ती गाईवस्तुहरु त्यो खान छाडेर कराउने गर्दछन् ।

त्यहाँँ पालिएको गाईवस्तुहरु हरियो घाँसपात र ब्रान्ड नचाखेकै महिनौ दिन बितिसक्यो । सुख्खा पराल र पानीको भरमा बाँचिरहेको त्यहाँका गाईवस्तुहरु क्रमिक रुपमा दुब्लाउनुको साथै रोगी भएका छन् । कार्यालयमा गाईको संरक्षणको निम्ति विभिन्न पदमा गरी २१ जना कार्यरत रहेका छन् । त्यस्तै संस्थाको नाममा ११० विगहा उब्जाउ जग्गा हुँदा समेत गाईवस्तु खान नपाएर मर्नु दुःखद रहेको स्थानीयको भनाई रहेको छ ।   

संस्था विकासको निम्ति पदीय दायित्व निर्वाह गर्न सबैले चुकेको स्थानीय समाजसेवी लक्ष्मी महतोको बुझाई रहेको छ । महतोले अगाडि भने, ‘राष्ट्रिय सहकारी बोर्डको अधिनमा रहेको सो संस्थाको मातहतमा ११० विगहा जग्गालाई उपयोग गर्न नसक्दा गाईहरु हरियो घासपातको अभावमा प्राण त्याग्न बाध्य भएका छन् । कार्यालयमा हाल २१ जना कर्मचारीहरु हुँदा पनि उनीहरु आफ्नो पदीय दायित्व बिर्सिएका छन् । कर्तव्यवोध हुने किसिमले कार्यसम्पादन नगरेकै कारण संस्थाको अवस्था दयनीय हुँदै गएको छ ।’ 

राष्ट्रिय सहकारी विकास बोर्डद्वारा संचालित कार्यालय अस्तव्यस्त हुनु दुःखद रहेको गौशाला वडा नं ३का वडाअध्यक्ष बिरेन्द्र चौधरीले बताए । उनले भने, ‘कार्यालयको अधिनमा ११० विगहा उब्जाउ जग्गा रहेको छ । केही जग्गा ठेक्कामा लागेको छ । केहीलाई संस्थाले आफै उत्पादन कार्यमा उपयोग गर्दै आएको छ । त्यस्तै कमर्सियल भवन, पोखरी र आँपको बागवानीबाट संस्थालाई वार्षीक रुपमा लाखौ आम्दानी हुने गरेको छ । अझ वार्षीकरुपमा सहकारी बोर्डले पनि रकम पठाएकै हो तर संस्थाको विकास हुन सकेको छैन । जुन दुःखद रहेको छ ।’

यससम्बन्धमा निगौल गाई गौशाला व्यवस्थापनमा निश्चियरुपमा कमी आईरहेको समितिका पूर्व सदस्य राजकिशोर यादवको ठम्याई रहेको छ । सरकारको नीतिकै कारण संस्थाको सोचेअनुरुपको विकास हुन नसकेको उनको ठम्याई रहेको छ । उनले भने, ‘पहिले जिल्ला प्रशासनको मातहतमा रहँदा सरकारीस्तरबाट प्रर्याप्तमात्रामा सहयोग हुने गर्दथ्यो । पछिल्लो समयमा संस्था सहकारी बोर्डमा गाभिँदा सरकारले संस्था विकासको निम्ति असहयोग गर्दै आएको छ । जबसम्म संस्थाका सदस्यलाई कार्यकारी अधिकार दिँदैन तबसम्म संस्थाको विकास असम्भव रहेको छ ।’ 

गाईलाई खुवाउनको लागि दानाको व्यवस्थापन हुन सकेन् 
उचित स्याहार सुहार एवम् पौष्टिकतत्वको अभावमा यहाँ पालिकाएको गाईहरु क्रमिक रुपमा ज्यान गुमाउँदै आएका छन् । पछिल्लो एक साताको अवधिमा २ वटा गाईको ज्यान गईसकेको छ । त्यस्तै ४ वटा गाईवस्तु खानाको अभावमा कमजोर भई शारिरीक रुपमा अस्वस्थ्य भएका छन् । जसले गर्दा ती गाईहरुलाई उठिबस गर्न समेत समस्या भएको छ । गौशाला नगरपालिका-३ नवराजपुरमा व्यवस्थित रुपमा गाईपालनको लागि अत्याधुनिक गाईफार्ममा महिनौदिनदेखि हरियो घाँसपात एवम् आवश्यक औषधि र पौष्टिकतत्व समयमा नपाएर गाईहरु छटपटिएर मर्दै आएका छन् ।

आर्थिक स्रोत अभावैका कारण गाईवस्तुलाई दाना र हरियो घासपात उपलब्ध गराउन नसकेको कार्यालय स्रोतको भनाई रहेको छ । त्यहाँ २० वटा दुधालु रहेकोमा एक पटकमा गरी २१ लिटर मात्र दुध संकलन हुँदै आएको कार्यालय प्रमुख डा दिपेन्द्र पण्डितले बताए । गाईवस्तुलाई आवश्यकमात्रामा पौष्टिकतत्व खुवाउन नसकेको स्वीकार गर्दै प्रमुख पण्डितले अगाडि भने, ‘बजारमा उधारो सामग्री ल्याएको बापत १२ लाख रकम तिर्न बाँकी रहेको छ । अनेकौ पटक ताकेदा आईसकेको छ । विभिन्न व्यक्ति र संस्थाको नाममा रहेको बाँकी वक्यौता उठाउन नसक्दा संस्थाको आर्थिक अवस्था नाजुक बन्दै गएको छ ।’

ठेक्काबापतको करौडौ रकम असुली हुन सकेन्
निगौल गाई गौशालाको आफ्नै पोखरी, आँप, लिच्ची बगैँंचा र खेतीयोग्य जग्गा छ । ठेक्काबापतको रकम समयमै असुली हुन नसक्दा गाईवस्तु पालन गर्न समस्या भईरहेको कार्यालय स्रोतको भनाई रहेको छ । कार्यालय प्रमुख डा पण्डितका अनुसार विगतमा साविकको गौशाला गाविस र निगौल गाई गौशालाबीच कुल ठेक्का रकमको २५ प्रतिशत निगौल गाई गौशालालाई दिनुपर्ने लिखित सम्झौता भएपनि अहिले नगरपालिकाले सो सम्झौता कार्यान्वयन नगर्दा समस्या बढेको छ । हालसम्ममा गरी ६ करोड ३८ लाख ४० हजार ७ सय ५० रुपैयाँ गौशाला नगरपालिकाबाट पशुबजार र खसी बजार लगाएको बापत असुल गर्न बाँकी रहेको छ । वारम्बार ताकेदा गर्दा समेत नगरपालिकाको कार्यालय बेवास्ता गर्दै आएका छन् । त्यस्तै गौशालाका स्थानीय पोखरी ठेकेदारसँग पोखरी ठेक्काबापतको १० लाख ५४ हजार ६ सय चौबन्न रुपैयाँ असुल हुन बाँकी रहेको छ । 

विसं १९८३ मा भारत विहार प्रान्तका दरभङ्गा महाराजले पन्ध्र सय गाई संरक्षण गर्न भनी दुई सय विगहा चरण क्षेत्र छुट्ट्याएर महोत्तरीको गौशालामा ‘निगौल गाई गौशाला’ स्थापना गरेका थिए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.