युट्युब हेरेर व्यवसाय, विपन्नलाई रोजगारी
दैलेख : दुल्लु नगरपालिका-७की डम्बर कुमारी खड्का र उनका पति नगेन्द्रबहादुर खड्काले उद्योगमा आधारित व्यवसाय गर्ने सोच बनाए । व्यवसाय गर्ने योजना बनाएपनि कुन व्यवसाय गर्ने भन्नेमा खड्का दम्पतीले केही समय अन्यौलमै बिताए । अन्ततः व्यवसाय सुरु गर्न उनीहरुले युट्युबको साहारा लिए । युट्युबमार्फत उनीहरुले इन्टरलक इट्टा उत्पादनबारे केही जानकारी पाए । इन्टरलक इट्टा नै वातावरण मैत्री हुन्छ भन्ने लागेर उनीहरुले उद्योगका लागि मेसिन खोज्न सुरु गरे । उद्योग सुरु गर्न डम्बरकुमारीले आफूसँग भएको गरगहना बैंकमा राखेर ऋण निकालिन् । २०७४ जेठमा झण्डै पाँच लाख लागतमा मेसिन गाउँमै आईपुग्यो । ‘उद्योग सञ्चालनका लागि आफ्नो नाममा पर्याप्त जग्गा थिएन, जग्गा भाडामा लिएर उद्योग सुरु गर्यौं,’ डम्बरकुमारीले भनिन् । उद्योग सुरु भएको एक वर्षपछि आफ्नै जग्गामा स्थापना गरेको उनले बताइन् ।
दुल्लु नगरपालिका–४ बाडातडीस्थित सञ्चालित खड्का दम्पतीको शुभलक्ष्मी इन्टरलक इट्टा उद्योग अहिले फस्टाउँदो छ । ‘सुरुमा इन्टरलक इट्टाबारे आम नागरिकलाई बुझाउन र विश्वास दिलाउँनै गाह्रो पर्यो, कतिपयले त यो इट्टा कमजोर हुन्छ भन्दै विश्वासै गरेनन् । इट्टामाथि गाडी चढाएर बलियो छ या छैन भन्दै परिक्षण समेत गरे, नयाँ व्यवसाय गर्न गाह्रै हुँदो रहेछ । हामीलाई पनि हम्मे हम्मे पर्यो’ डम्बरकुमारी भन्छिन् ‘अहिले इन्टरलक इट्टाले राम्रो बजार पाएको छ ।’ एउटा मेसिनबाट मात्रै उद्योग सुरु गर्दा ८ जनाले गाउँमै रोजगारी पाएका थिए ।
हाल उद्योगमा दुई वटा मेसिन छ । नयाँ मेसिन खरिद गर्नका लागि उत्थान परियोजनाले सहयोग गरेको डम्बरकुमारीले बताइन् । ‘परियोजनाले नयाँ मेसिन किन्न सहयोग गरेपछि इट्टा उत्पादनमा सहज भएको छ,’ उनले भनिन् ‘गाउँमै रोजगारी पाउनेको संख्या पनि बढेको छ ।’ दुल्लु नगरपालिकामा यूरोपियन यूनियनको आर्थिक सहयोग तथा सोसेक नेपाल, डिसिए नेपाल, लिवर्ड, एनएनएसडब्लुएको कन्सोर्टियम पार्टनरसिपमा जलवायु समानुकुलन र आर्थिक समृद्धिका लागि समावेशी नागरिक समाज संघ संस्थाहरुको क्षमता अभिवृद्धि (उत्थान) परियोजना सञ्चालित छ ।
दुई वटा मेसिन भएपछि अहिले उक्त उद्योगमा स्थानीय विपन्न परिवारका १३ जनाले रोजगारी पाएका छन् । दुई वटा मेसिनबाट दैनिक १६ सय इट्टा उत्पादन हुने गरेको नगेन्द्रबहादुरले बताए । उद्योगबाट प्रति इट्टा ७० रुपैयाँका दरले बिक्री भईरहेको उनले बताए । उनका अनुसार पछिल्लो समय ईन्टरलक इट्टाबाट घर निर्माण गर्नेहरूको संख्यामा उल्लेख्य बृद्धि हुँदै गएपछि माग पनि बढ्दै गएको छ । नयाँ प्रविधिबाट उत्पादित इन्टरलक इट्टाबाट बनेको घर बलियो, वातावरण मैत्री तथा भूकम्प प्रतिरोधी हुने उनको दाबी छ । ‘हाम्रो उद्योगमा उत्पादित इन्टरलक इट्टाबाट जिल्लाका विभिन्न स्थानमा सरकारी भवन, निजी घर र विद्यालय भवनहरु बनेका छन्, उद्योगमा विपन्न परिवारका महिला र पुरूषहरूले रोजगारी पाउनुभएको छ, हामी त्यसैमा खुसी छौँ,’ नगेन्द्रबहादुरले भने ।