सर्लाही क्याम्पसका विद्यार्थी दोस्रो दिन पनि आन्दोलित
मलङ्वा : स्नातक चौथो वर्षको परीक्षा समय नजिकिएसँगै परीक्षा केन्द्र सारिएपछि सर्लाही क्याम्पस मलङ्वाका विद्यार्थी दोस्रो दिन पनि आन्दोलनमा उत्रेका छन् । २० गतेदेखि हुने परीक्षाको केन्द्र सारिएपछि विद्यार्थी आन्दोलित बनेका हुन् । आन्दोलित विद्यार्थीहरु बिहानैदेखि क्याम्पस अगाडि टायर बालेर प्रदशन गर्नुको साथै सदरमुकाम मलङ्वामासमेत प्रदर्शन गरेका छन् ।
विद्यार्थीहरु आन्दोलनमा उत्रेपछि बिहानैदेखि यातायात चल्न सकेको छैनन् । संयुक्त विद्यार्थी संगठन मिलेर गरेको आन्दोलनले सारिएको परीक्षा केन्द्र सर्लाही क्याम्पसमै राखिनुपर्ने माग राखेको छ । आन्दोलित बनेका विद्यार्थीहरुले आइतबार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्रसमेत बुझाएका छन् ।
चिसोको मौसममा परीक्षा केन्द्र सारिएपछि विद्यार्थीलाई आवतजावत गर्न कठिनाइ हुने संयुक्त विद्यार्थी संगठनले जनाएकाे छ । अचानक परीक्षा केन्द्र सारिएपछि कोठा व्यवस्थापन गरेर बस्नलाई समेत कठिनाइ हुने विद्यार्थीहरुले बताएका छन् ।