एमालेबाट बागमतीमा शाक्य र दर्लामीले गराए उम्मेदवारी दर्ता
हेटौंडा : राष्ट्रियसभा सदस्यका लागि बागमती प्रदेशबाट नेकपा एमालेले दुईजनाको उम्मेदवारी दर्ता गराएको छ । नेकपा एमालेबाट गोपाल शाक्य र निरकुमारी कुवर दर्लामीको उम्मेदवारी दर्ता भएको हो।
उम्मेदवारसहित एमाले नेता काशीनाथ अधिकारी, बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा एमाले नेता डोरमणि पौडेललगायत नेता कार्यकर्ता प्रदेश निर्वाचन कार्यालय हेटौंडा पुगेका थिए ।
उनीहरू मंगलबार करिब २ बजे उम्मेदवारी दर्ताका लागि आयोग पुगेका थिए । शाक्य ललितपुर र दर्लामी सिन्धुलीका हुन् । बागमतीबाट कांग्रेसका राधेश्याम अधिकारी र एकीकृत समाजवादीकी उदय शर्मा पौडेलको कार्यकाल सकिँदैछ ।
गठबन्धनले कांग्रेसका कृष्णप्रसाद पौडेल र नेकपा एकीकृत समाजवादीकी गोमा तिमल्सिनालाई उम्मेदवार बनाएको छ । उनीहरूले यसअघि उम्मेदवारी दर्ता गरिसकेका छन् ।