नगदे बालीको मूल्य निर्धारणमा भारतीय व्यापारीको एकाधिकार
फिदिम : विगतका वर्षमा प्रतिमन(४०केजी) छ हजार रुपैयाँसम्ममा अदुवा बिक्री गरेका किसान अहिले प्रतिमन पाँच सय रुपैँयामा बिक्री गर्न बाध्यछन् । प्रतिकेजी दुई सय रुपैँयामा कुचो बिक्रि गरेका किसानले अहिले एक सय रुपैयाँमा बेच्दैछन् ।
एक मन अलैँची बेचेर एक लाख २० हजारसम्म कमाएका किसानले अहिले प्रतिमन ४० हजार रुपैयाँमा समेत बिक्रि गर्न पाएनन् । प्रतिमन ४० हजारसम्म मूल्य पाएको चिराईतोको मूल्य अहिले सरदर १५ हजार मात्र छ ।
‘सात वर्षअघिको मूल्यभन्दा गत वर्ष नगदेबालीको आधा नै मूल्य घट्यो,’ अलैँची व्यवासायी संघ पाँचथरका अध्यक्ष खेमनाथ अधिकारीले भने ‘यो वर्ष आधा मूल्यको आधाभन्दा पनि अझै तल मूल्य झरेको छ ।’ नेपालमा उत्पादन भएको कृषि उपजको मूल्य निधारर्णमा भारतीय बजारको विकल्प नभएपछि नेपालमा उत्पादित नगदेबालीले राम्रो मूल्य पाउन छाडेको छ ।
अलैँची, अदुवा, अम्रिसो(कुचो) र चिराईतो जस्ता नगदेबालीको बिक्री मूल्यमा भारतीय बजारको एकाधिकार भएकाले मूल्यमा गिरावट आएको व्यापारीहरु बताउँछन् । नेपालमा उत्पादन भएको नगदेबाली भारतीय बजारमा निर्यात हुने गरेको छ । मूल्यमा आएको गिरावटसँगै खरिद बिक्रीमासमेत समस्या हुन थालेको छ ।
चारवर्ष अघि छिमेकी मूलुक भारतसँगको व्यापारीक किचलोपछि नगदेबालीको बिक्रीमूल्यमा निरन्तर कमी आएको व्यापारीहरुको ठहर छ । यहाँ उत्पादन भएको नगदेबालीको बिक्रीका लागि भारतीय बजारको भर पर्नुको विकल्प नभएपछि मूल्य निर्धारणमा भारतले एकाधिकार जमाएको पाँचथरका अदुवा व्यापारी नारायण कोइरालाले बताए ।
नेपाली बजारमा नगदेबालीको खपत ज्याँदै कम हुने र मुलुकभित्र प्रशोधन गर्ने उद्योग नभएपछि भारतले नेपालमा उत्पादन भएको कृषि उपजको गुणस्तरमा दोष देखाउँदै कम मूल्य निर्धारण गरेपछि नगदेबालीको बिक्री मै समस्या हुन थालेको हो ।
‘मूल्यकम मात्रै हैन् अदुवा त बिक्री गर्नै समस्या हुन थालेको छ,’ नांगिनका किसान गोपाल अधिकारीले भने ‘व्यापारीले कम मूल्यमै भए पनि खरिद गरिदिए हुन्थ्यो । तर, खरिदका लागि व्यपारी नै आउन छाडे ।’
अलैँची उत्पादक किसान झनै चिन्तित छन् । पहाडका किसानको मुख्य आम्दानीको स्रोत बनेको अलैँचीको मूल्यमै कमी आएपछि किसानहरु अलैँची खेती गर्ने कि नगर्ने भनेर अन्योलमा छन् ।
पाँचथर, इलाम र ताप्लेजुङमा कृषि उपजको निर्यातमा सबैभन्दा ठूलो हिँस्सा अलैँचीले ओगटेको छ । पहाडी जिल्लामा अलैँची बिक्रीबाटै अर्बौै रुपैयाँ भित्रने गरेको छ । केहीवर्ष यता मूल्यकै कारण अलैँची खरिद बिक्रीमै समस्या देखिन थालेको व्यापारीहरुको भनाई छ ।
‘मुख्यगरी नगदेबालीको बिक्रीमूल्यमा समस्या देखिन थालेको छ,’ अलैँची व्यापारी नरेन्द्र अधिकारी भन्छन् ‘बिक्रीका लागि भारतीय बजारको निर्भर हुनुपर्ने भएकाले कृषि उपजको मूल्यमा निरन्तर कमी आईरहेको हो । यस्तो समस्यालाई समाधान गर्न सरकारले चासो दिनुपर्छ ।’