राष्ट्रियसभा निर्वाचन : कर्णालीमा ६ जनाको उम्मेदवारी
सुर्खेत : अगामी माघ १२ गते हुने राष्ट्रियसभाको निर्वाचनका लागि कर्णालीमा ६ जनाले प्रतिस्पर्धा गर्ने भएका छन् । तीन जना सदस्यका लागि हुने निर्वाचनमा मंगलवार ६ जनाको उम्मेदवारी दर्ता भएको हो । सत्तारुढ गठबन्धनसँग नेकपा एमालेले एक्लै प्रतिस्पर्धा गर्ने भएको हो ।
सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले संयुक्त रुपमा उम्मेवारी गराएका छन् । गठबन्धनको तर्फबाट एक–एक जना गरी तीन जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । यस्तै एमालेको तर्फबाट तीन जनाले उम्मेदवारी दर्ता गरेका हुन् । हाल राष्ट्रियसभामा कर्णालीबाट निर्वाचित महिलाबाट कविता बोगटी(हुम्ला), अपाङ्गताबाट जीवन बुढा(कालिकोट) र अन्यबाट ठगेन्द्रप्रकाश पुरी(रुकुमपश्चिम) को पदावधि सकिँदै छ ।
तीन जनाको पदावधि सकिन लागेपछि हुन लागेको निर्वाचनमा सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसले महिलातर्फ दुर्गाकुमारी गुरुङ(सुर्खेत), माओवादी केन्द्रले अपाङ्गतातर्फ नरबहादुर बिष्ट(सुर्खेत) र खुल्लाबाट नेकपा एकीकृत समाजवादीले उदय बोहोरा(सल्यान)लाई उम्मेदवार बनाएको छ । त्यसैगरी एमालेले महिलातर्फ भने गंगा थापा महत(जुम्ला), अपाङ्गता/अल्पसंख्यकतर्फ पदमबहादुर माझी(दैलेख) र खुल्लातर्फ चुडामणि शर्मा(सुर्खेत)लाई उम्मेदवार बनाएको छ । मंगलवार वीरेन्द्रनगरमा रहेको निर्वाचन कार्यालयमा पुगेर गठबन्धन र एमालेले उम्मेदवारी दर्ता गरेका हुन् ।
राष्ट्रियसभाको निर्वाचनका लागि कर्णालीमा जम्मा मतदाता एक सय ९१ जना छन् । स्थानीय तहका प्रमुख र उपप्रमुख तथा प्रदेशसभाका सदस्यहरुले मतदान गर्नेछन् । कर्णाली प्रदेशसभामा हाल ३५ जना सदस्य छन् । यस्तै ७९ वटा स्थानीय तहका प्रमुख र उपप्रमुखगरी एकसय ५६ जनाले मतदान गर्नेछन् ।
प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले तीन सिटका लागि ६ जनाको उम्मेदवारी दर्ता भएको जानकारी दिए । स्थानीय तहका प्रमुख/उपप्रमुखको मतभार १८ तथा प्रदेशसभा सदस्यको मतभार ४८ हुने कानुनी व्यवस्था छ । कर्णालीमा सबैभन्दा बढि मत माओवादीसँग छ । यस हिसाबले पनि कर्णालीमा तीन दलिय गठबन्धनका उम्मेदवारहरुको पल्ला भारी हुने देखिन्छ ।