उत्तर कोरियामा धनी र गरिब छुट्याउने क्यालेण्डर जारी

उत्तर कोरियामा धनी र गरिब छुट्याउने क्यालेण्डर जारी

प्योङयाङः उत्तर कोरियाली सरकारले समाजमा धनी र गरिब छुट्याउने क्यालेण्डर (भित्तेपात्रो) छापेको छ। नयाँ वर्ष सन् २०२२ सुरु भएसँगै सरकारले धनी र गरिब छुट्याउने गरी भिन्दाभिन्दै क्यालेण्डर छापेको हो।

सरकारले नयाँ वर्षको लागि जारी गरेका नयाँ क्यालेण्डरमा धनी र गरिब वर्ग छुट्टिने गरी तस्बिर र सामग्री प्रयोग गरेको स्रोतले रेडियो फ्री एसियासँग बताएको छ। सरकारले जारी गरेका नयाँ क्यालेण्डरको मूल्य गरिबहरुले किन्न नसक्ने गरी तोकिएको बताइएको छ।

‘सरकारले जारी गरेका नयाँ क्यालेण्डरको मूल्य छोइनसक्नु छ। यहाँ क्यालेण्डर किन्न सक्ने मानिस भाग्यमानी नै हो,’ स्रोतले रेडियो फ्री एसियासँग भनेको छ। उत्तर कोरियामा विगतमा सरकारले वार्षिक उपहारस्वरुप आफ्ना प्रत्येक नागरिकलाई क्यालेण्डर बाँड्दै आएको थियो। गत वर्ष कोभिड-१९ का कारण क्यालेण्डर वितरणमा ढिलाइ हुँदा क्यालेण्डर हरेकको पहुँचमा नभएको बताइएको छ। यद्यपि यसवर्ष भने सरकारले धनी र गरिबको वर्ग छुट्याउने गरी क्यालेण्डर जारी गरेको भन्दै त्यहाँका नागरिक दुःखी भएको बताइएको छ।

आणविक युद्ध र हतियार दौड रोक्ने पाँच शक्ति राष्ट्रको प्रतिज्ञा

न्युयोर्कः संसारका पाँच शक्ति राष्ट्रले आणविक युद्ध र हतियार दौड रोक्ने प्रतिज्ञा गरेका छन्। चीन, फ्रान्स, रुस, बेलायत र अमेरिकाले सोमबार आणविक युद्ध र हतियार दौड रोक्ने प्रतिज्ञा गरेका हुन्।

आणविक युद्ध र हातहतियारको दौडलाई रोक्ने सम्बन्धमा संसारका पाँच शक्ति मुलुकबीच भएको यो पहिलो सम्झौता हो।

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को सम्झौताअन्तर्गततीति मुलुकले सो प्रतिज्ञा गरेका हुन्। आणविक मुक्त संसार बनाउन आफूहरुले आणविक युद्ध र हातहतियारको दौडलाई रोक्ने निर्णय गरेको पाँचवटै मुलुकद्वारा जारी संयुक्त विज्ञप्तिले जनाएको छ। ‘आणविक युद्धसँग कहिल्यै पनि लड्न र जित्न सकिँदैन। त्यसले अबको युगमा संसारलाई आणविक मुक्त बनाउन हामी प्रतिबद्ध छौं,’ सुरक्षा परिषद्समक्ष पाँच मुलुकद्वारा जारी संयुक्त विज्ञप्तिमा भनिएको छ।

दिल्लीमा साप्ताहिक कर्फ्यु

नयाँ दिल्ली: बढ्दो ओमिक्रोन संक्रमणका कारण भारतको राजधानी दिल्लीमा साप्ताहिक कर्फ्यु लाग्ने भएको छ। राजधानी दिल्लीमा आगामी शनिबार र आइतबार पूर्णरुपमा प्रतिबन्ध लाग्ने भएको हो।

मंगलबार बसेको दिल्लीको विपद व्यवस्थापनको बैठकले सो निर्णय गरेको भारतिय मिडियामा खबर छ। अत्यावश्यक कामबाहेकका सबै सरकारी र निजि कार्यालय बन्द रहने सो बैठकले निर्णय गरेको बताइएको छ। दिल्लीमा ओमिक्रोन संक्रमितको संख्या ५ प्रतिशतले बढेको बताइएको छ। गएको सेप्टेम्बरयता भारतमा कोरोना संक्रमितको संख्या ६ प्रतिशतले बढेको बताइएको छ।

बेइजिङले पहिलोपटक पूरा गर्‍यो वायु गुणस्तर मापदण्ड

बेइजिङः चीनको राजधानी बेइजिङले पहिलोपटक वायु गुणस्तर मापदण्ड पूरा गरेको छ। संसारको सबैभन्दा बढी वायु प्रदुषित सहरमा पर्ने बेइजिङले सन् २०२१ म पहिलोपटक वायु गुणस्तर मापदण्ड पूरा गरेको हो। चिनियाँ सरकारी अधिकारीहरुले मंगलबार बताएअनुसार स्वच्छ वायुको गुणस्तर बढाउन बेइजिङले पहिलो पटक आफ्नो मापदण्ड पूरा गरेको हो। सहरमा भएका उद्योगधन्दा, कोइला खपत, इनधनबाट चल्ने सवारी साधन कटौती गरेपछि मात्र वायु गुणस्तर मापदण्ड पुरा भएको बताइएको छ।

बेइजिङलगायत सहरमा वायु प्रदुषणले सीमा नाघेपछि चीनले सन् २०१४ मा वायु प्रदुषणविरुद्ध युद्धको घोषणा गरेको थियो। सो घोषणासँगै चीनले वायु प्रदुषण घटाउन विभिन्न मापदण्ड बनाएको थियो। सो मापदण्ड तत्काल कार्यान्वयनमा ल्याएको चीनले बेइजिङमा हाल वायु प्रदुषण घटेको अधिकारीहरुले बताएका छन्। आगामी एक दशकमा बेइजिङको वायु गुणस्तर स्वच्छ बनाउने सरकारको उदेश्य रहेको चीनको वातावरण संरक्षण ब्युरोले जनाएको छ।

इरानले खसालेको विमान दुर्घटनामा परेका परिवारले पाए क्षतिपुर्ति

ओट्वाः इरानले खसालेको विमान दुर्घटनामा परेका पिडित परिवारले क्षतिपुर्ति पाएका छन्। क्यानडाको एक अदालतले पीडित परिवारलाई ८४ मिलियन डलर क्षतीपुर्ती उपलब्ध गराएको हो।

इरानी सैन्य बलले सन् २०२० मा तेहरानमा ड्रोन प्रहार गरी युक्रेन इन्टरनेसनल एयरलाइन्स विमान खसालेको थियो। इरानबाट उडेलगत्तै विमानमा ड्रोन प्रहारी सो विमान खसालिएको थियो। सो विमान दुर्घटनामा परी एकै परिवारका ६ जनासहित विमानमा सवार १७६ यात्रुले ज्यान गुमाएका थिए।

इरानले झुक्किएर सो विमानमा लागेको अभिव्यक्ति दिँदै आएको थियो। यद्यपि, सो दुर्घटनामा परी ज्यान गुमाएका मृतकका परिवारका सदस्यहरुले इरानविरुद्ध मुद्दा दर्ता गराएका थिए। सो मुद्दा ओन्टारिओको सर्वोच्च अदालतमा चलिरहेको थियो।

पीडित परिवारले सोमबार सो मुद्दा जितेका हुन्। सो मुद्दा जितेसँगै पीडित परिवारले व्याजसहित ८४ मिलियन अमेरिकी डलर पाउने भएका छन्। यद्यपि, सो रकम इरानबाट पाउने या इरानले हरेकलाई उपलब्ध गराउने भन्नेबारे भने नखुलाइएको बताइएको छ।

अफगानिस्तानमा भारी हिमपातका कारण ७ जनाको मृत्यु

काबुलः अफगानिस्तानको उत्तरी प्रान्तमा भारी हिमपातका कारण कम्तीमा सात जनाको मृत्यु भएको छ। उत्तरी प्रान्त जज्जानमा सोमबार भारी हिमपात हुँदा कम्तीमा सात जनाको मृत्यु भएको हो।

स्थानिय मिडियामा मंगलबार प्रकाशित समाचारअनुसार सो क्षेत्रमा भारी हिमपात हुँदा कम्तीमा सात जनाले ज्यान गुमाएका छन् भने अन्य ११ मानिस घाइते भएका छन्।

हिमपातपछि सो क्षेत्रको यातायात अबरुद्ध बनेको सिन्ह्वा न्युजले जनाएको छ। अफगानिस्तानको नाङगरहर प्रान्त, हेरात प्रान्तका विभिन्न स्थानमा हिमपात भइरहेको बताइएको छ। हिमपातसँगै सो क्षेत्रमा अत्याधिक चिसो बढेको बताइएको छ।

कोलम्बियामा सशस्त्र समूहबीच झडप हुँदा कम्तीमा २३ को मृत्यु

अराकुआः उत्तरी कोलम्बियामा सशस्त्र समुहविच झडप हुँदा कम्तीमा २३ को मृत्यु भएको छ। उत्तरी कोलम्बियाको अराकुआ क्षेत्रमा शसस्त्रधारी गुरिल्ला समूहबीच झडप हुँदा कम्तीमा २३ को मृत्यु भएको हो।

कोलम्बियाका अधिकारीहरुले मंगलबार बताएअनुसार सो क्षेत्रमा हिंसा अझै जारी छ। हालसम्म २३ मानिसको मृत्यु भइसकेको छ भने हिंसा चर्किरहेको कारण सो क्षेत्रमा तत्काल प्रवेश गर्न नसकिने अवस्था छ। सोही कारण घटनाको वास्तविक विवरण अझै प्राप्त हुन नसकेको सीएनएनले जनाएको छ।

कोलम्बियाको सो क्षेत्रमा सत्ताविरोधी सशस्त्र गुरिल्ला समूह र नेसनल लिवरेसन आर्मीबीच कहिलेकाहीँ झडप हुने गर्छ। सो क्षेत्रमा विभिन्न समूहबीच हुने झडप एवं हिंसा सन् २०१० मा रोकिएको बताइएको छ। झडपकै कारण सो समयमा ८६८ मानिसको ज्यान गएको थियो भने करिब ५८ हजार मानिस विस्थापित भएको एक रिपोर्टले देखाएको छ।

दक्षिण अफ्रिकाको संसद भवनमा पुन आगलागी

केप टाउनः दक्षिण अफ्रिकाको संसद भवनमा पुनः आगलागी भएको छ। आगलागी भएको ३६ घण्टा नबित्दै करिब १३० वर्ष पुरानो सो संसद भवनमा पुनः आगलागी भएको हो। यसअघि आइतबार सो संसद भवनमा आगलागी भएको थियो।

आगलागीबाट सो भवन परिसरभित्र रहेको राष्ट्रिय सभाको भवन पूर्णरुपमा ध्वस्त बनेको थियो। आगलागीबाट भौतिकरुपमा ठूलो क्षति पुगेको सो भवनमा सोमबार साँझ पुनः आगलागी भएको अन्तर्राष्ट्रिय मिडिया खबर छ। आगलागी भने हाल नियन्त्रणमा आइसकेको बताइएको छ।

करिब १३० वर्षअघि निर्मित सो भवन ऐतिहासिक मानिन्छ। सो भवनमा आगलागीको वास्तविक कारण हालसम्म पत्ता नलागे पनि प्रहरीले सोमबार ४९ वर्षीय पुरुषलाई पक्राउ गरेको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.