पहिलो सगरमाथा आरोहणका अन्तिम साक्षी ‘कान्छा’

पहिलो सगरमाथा आरोहणका अन्तिम साक्षी ‘कान्छा’

तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले सन् १९५३ मे २९ मा सगरमाथा आरोहण गरेको सुन्दा कथाजस्तो लाग्छ। तर, ७० वर्षअघिको त्यो आरोहण अभियानको इतिवृत्तान्त सुन्दा रोमान्चकता र जोश थपिन्छ। काम गर्न प्रेरणा मिल्छ। त्यो कथाले सगरमाथा मुन्तिर बस्ने स्थानीय समुदाय (शेर्पा)मा भएको चामत्कारिक आत्मविश्वास र तागत देखाउँछ। जुन बेला पहिलोपटक सगरमाथा आरोहण भएको थियो। उपल्लो सोलुखुम्बुमा बाटो थिएन। स्थानीयवासीलाई नै सगरमाथा हाम्रो ठाउँमा छ, यहाँ चढे कीर्तिमानी कायम गर्न सकिन्छ भन्ने थाहा थिएन। 

सगरमाथालाई शेर्पा भाषामा चोमोलोङमा भनिन्छ। यो उनीहरूको पूजा गर्ने ठाउँ पनि हो। तेन्जिङ र एडमन्डले आरोहण गरेपछि यसको चर्चा विश्वमै भयो। यो हिमालको काखमा बस्नेहरूको ‘दिन’ फर्कियो। तेन्जिङ र एडमण्ड ३५ जनाको समूहमा सगरमाथाको फेद पुगेका थिए। अहिले एक जनाबाहेक अरू जीवित छैनन् । जीवित इतिहास हुन् ९० वर्षका कान्छा शेर्पा। उनी सगरमाथाको सफल आरोहण गर्ने टोलीका जीवित साक्षी हुन्। उसबेला २० वर्षका ठिटा थिए। जोस जाँगरमा भारी बोकेर सातपटक सगरमाथाको २७ हजार फिटसम्म पुगे। पहिलेको भरिलो अनुहारमा अहिले मुजैमुजा परेको छ। चम्किला आँखा भएका उनी हजुरबा भइसकेका छन्। ४० वर्ष भारी बोकेर हिँडेका कान्छा खुम्बु क्षेत्रको मुख्य व्यापारिक केन्द्र नाम्चे बजारमै जीवन बिताइरहेका छन्। बेला मौका काठमाडौं आउँछन्। त्यही मौकामा उनै जिउँदो इतिहाससँग गरिएको कुराकानीको अंश :


२० वर्षे उमेरमा तेन्जिङ नोर्गेसँग कसरी भेट भयो ? सगरमाथाको पहिलो आरोहण दलमा जोडिने मौका कसरी जुर्‍यो ?

म तेन्जिङलाई भेट्नु दार्जिलिङ गयो। तेन्जिङको घरमा ३ महिना काम गरेँ। त्यसपछि काठमाडौं आएँ। 

तेन्जिङलाई चिन्नुभएको थियो कि ? कसरी दार्जिलिङ जानुभयो ? 
कुरा सुनेको थिएँ। उनका बारेमा भारी बोक्ने साथीहरूसँग कुरा हुन्थ्यो। उनीसँग भेट्यो भने काम पाइन्छ भन्थे। काम पाउँछौं कि भनेर गएको हो। पहिले यता पनि भारी बोकेर गुजरा चलाउने गरेको थिएँ। त्यो समयमा नाम्चेबाट दुई साथीसँगै भागेर गएको म। भागेर जाँदा नाम्चेबाट दार्जिलिङ ४ दिनमा पुगेको। तेन्जिङलाई भेटेँ। मेरो बुबा र उनी साथी रै’छन्। चिन्दो रै’छन्। अनि मलाई घरमै राखे। अरू साथीहरूलाई अन्तै पठाए काममा। 

सगरमाथा जाने कुरा कसरी भयो ?
उनको घरमा काम गरेकै समयमा चोमोलोङमा जाने भन्यो। सगरमाथालाई त्यतिखेरो चोमोलोङमा भन्थ्यो। यो शेर्पा भाषाबाट राखेको नाम हो। तिमी जान्छौं भनेर तेन्जिङले सोधेको, म त धेरै खुसी भएँ। अनि १० जना शेर्पा, तेन्जिङसहितका साथीहरू आयौं। सिलिगुडीसम्म रेलमा आयौं। अनि वीरगन्ज आयौं। त्यहाँबाट हिँडेर काठमाडौं आयौं। त्यतिबेला गाडी थिएन। रेल छोडेपछि हिँडेर आयौं। तीन दिन लाग्यो कि, दुई दिन लाग्यो थाहा छैन। अनि जावलाखेलमा बस्यौं। त्यहाँ एक हप्ता बस्यौं। भोलिपटक एडमण्डहरू आइयपुग्यो। सामान थुप्रो ल्याएर आए। 

कतिदिन काठमाडौं बस्नुभयो ? 
आएको एकहप्तापछि कुल्लीहरूसँग सामान लिएर भक्तपुरबाट हिँडेर गयौं। पाँचखाल हुँदै तीन दिनमा दोलालघाट पुग्यौं। त्यहाँबाट १६ दिनमा नाम्चे पुग्यौं। त्यहाँबाट ६० वटा याकमा सामान हालेर उकालो लाग्यौं। अहिले चार क्याम्पमा माथि पुग्छ। पहिले हामीले ६ क्याम्प गरेको नाम्चेबाट। त्यो समय कसैलाई पनि क्याम्प कहाँ राख्ने थाहा थिएन। हाम्रै अन्सारमा क्याम्प बनायौं। बाटो बनायौं। हामी ६ क्याम्पमा बेस क्याम्पमा पुग्यौं। त्यो समय ग्लेस्यर र घाँस मात्रै थियो। अहिले पो बेसक्याम्प छ त। त्यो समय यति–यति (खुट्टाको घुँडासम्म देखाउँदै) घाँस त्यहाँ हुन्थ्यो। नाम्चेको याक त्यो समय यहाँसम्म पुगेर घाँस खाएर आउँथ्यो रे ! अहिले सबै त्यो ठाउँ हिउँ ढाक्यो। अहिले धेरै चेन्ज भयो। अनि हामी त्यहाँ बसेर बाटो पहिल्यायौं। 

बाटो खोज्न कति समय लाग्यो ? कसरी खोज्नुभयो ?
एक हप्तामा बाटो बनायौं माथि जाने। बाटो पाउन धेरै गाह्रो थियो। यता जाने अनि नभेटेर फर्केर आउने। उता जाने, फर्केर आउने धेरै पटक भयो। सात दिनमा बाटो पहिल्यायौं। त्यहाँ ठूला–ठूला हिमनदी थिए। हामी तीन जना शेर्पाले तल नाम्चेबाट रूख काटेर त्यहाँ लगेर पुल बनाएको हो। त्यहाँ घाँस मात्रै थियो। पुल बनाउने रूख थिएन। हामीले १० वटा रूख काट्यौं। १० जना कुल्ली शेर्पालाई बोकाएर बेसक्याम्पमा पुर्‍याएर पुल बनायौं। अहिले सपना जस्तो लाग्छ। पुल तारेर हिउँमाथि क्याम्प वान लगायौं। क्याम्प टु र थ्रीचाहिँ सजिलो छ। सम्म ठाउँ छ। त्यसभन्दा माथि क्याम्प थ्रीमा सिँडी बनाएर पुग्यौं। त्यहाँबाट क्याम्प फोर गाह्रो। त्यहाँ आइस मात्रै हुन्छ। त्यहाँ पुग्न धेरै दिन लाग्यो। त्यहाँ तेन्जिङले धेरै मिहेनत गरे। कताबाट माथि जाने साउथ पोल पत्ता लगाए। त्यो पोल सजिलो बाटो भएको ठाउँ हो। अहिले पनि त्यो बाटो नै प्रयोग हुन्छ। बाटो पाएपछि म र अरू दुई जना शेर्पालाई अक्सिनजको भारी दिए। हामीले त्यो भारी बोकेर माथि पुर्‍यायौं। माथ्लो क्याम्पमा। त्यहाँबाट फर्किएर पुन: तल आयौं। हामी आएपछि तेन्जिङ र एडमण्ड माथि गए। हामीले रेडी बनाएको माथिल्लो ठाउँमा उनीहरू सुते। हामी तल्लो क्याम्पमा बस्यौं। उनीहरू भोलिपल्ट दिउँसोको १ बजे सक्सेस् भए। सगरमाथाको शिरमा पुगे। हिँडेको जम्मा ४५ दिनमा उनीहरू सफल भएका हुन्।  

सगरमाथा जाने बाटो कसरी थाहा हुन्थ्यो ? 
भक्तपुरबाट नाम्चेसम्म त अन्दाजमा पुगियो। गाउँमा सोझो बाटो भेटिन्थ्यो। दिउँसो २ बजे ३ बजे नै बास बस्दै गएका थियौं। नाम्चेबाट बेसक्याम्पसम्म हामीले नयाँ बाटो पहिल्याएको हो। बाटोको र क्याम्पको नाम पनि हामीले नै राखेको हो। अहिले सम्झँदा पनि अचम्म लाग्छ। कसरी हामीले थाहा पाएको होला त्यो बाटो ? (मन्द मुस्काउँदै)। हिमालमा त पहिरो आइरहन्छ। भगवान्लाई सम्झने, हिँड्ने हो। बाटो पनि भगवान्ले नै मनमा सम्झाएर थाहा भएको होला। 

तपाईंले बोकेको भारीमा के थियो ? गरुँगो थियो होला नि !
खाना पकाउने ग्यास थिएन त्यो समय। मट्टितेल, चम्पा (उवाको सातु) बोक्ने मेरो भागमा थियो। स्टोप पनि बोकेको थिएँ मैले। सबैले चम्पा नै खान्थ्यौं। अरूको भारीमा पनि यस्तै सामान, लुगा र पैसा थियो। 

तपाईँले छोडेको ठाउँबाट तेन्जिङहरूलाई सगरमाथा पुग्न कति दिन लाग्यो ? 
हामी पुुगेको लास्ट क्याम्प हो। २७ हजार फिट। उनीहरू त्यहाँ सुते। भोलिपल्ट शिरमा पुगे। म पुगेको ठाउँबाट एक हजार फिटमाथि त हो टुप्पो। ५ घण्टामा पुगेर १ घण्टामा उनीहरू तल क्याम्पमा झरेका थिए। सबै डोरी टाँगेर बाटो बनाएको हो हामीले। चढ्न गाह्रो हो। झर्न सजिलो हुन्छ। एक हजार फिटचाहिँ दुई जना मात्रै गएका हुन्। त्यहाँ हामी पहिले ३ जना शेर्पा पुगेका थियौं। मसँग दार्जिलिङका दावा तेन्जिङ शेर्पा र आङ्निमा शेर्पा थिए। अहिले उनीहरू सबैको मृत्यु भइसक्यो। त्यो टिममा बाँचेको म मात्रै हो। ३५ जनाको टोलीमा २० जना शेर्पा थियो। बाँकी विदेशी थिए न्युजिल्यान्डबाट आएका। म चाहिँ भगवान्को कृपाले अझै बाँचेको छु। तपाईंहरूसँग कुराकानी गर्न पाएको छु। 

कत्तिको गाह्रो हुन्थ्यो बाटो बनाउन ? त्यहाँसम्म पुग्न ?
अहिले त धेरै सजिलो छ। हामी पहिलोपटक गएको समयमा केही थिएन। गाह्रो थियो। हिउँ भएको ठाउँमा सबै हामीले डोरी तानेर बाटो बनाएका हौं। हिउँ पहिरो आउँथ्यो। भगवान् सम्झियो, बाटो बनायो। 

पहिलोपटक बाटो बनाउनुभयो। त्यसभन्दा अघि यो सगरमाथा हो, यहाँ चढ्दा कीर्तिमान कायम गरिन्छ, भन्ने थाहा थियो कि थिएन ? 
मलाई थाहा थिएन। शेर्पा भाषाबाट चोमोलोङ्मा भन्छ। हामी पूजा गथ्र्याैं। हामीलाई चढ्छौं भन्ने पनि थाहा थिएन। पैसा कमाउने र भारी बोक्ने भन्ने मात्रै थाहा थियो। हिमालको कामै थिएन÷छैन जस्तो लाग्थ्यो। त्यो चढ्दा पैसा आउँदैन थियो। कता भारी बोक्ने त्यतै ध्यान थियो। हामी बसेको वरिपरि सबै हिमाल छ। त्यो केका लागि चाहियो र जस्तो लाग्थ्यो। अहिले त्यो हिमालकै कारण नाम्चेले मुहार फेरेको छ। पहिले त कुन हिमाल के हो केही थाहा थिएन। (हाँस्दै) बाउले भन्छ, चोमोलोङ्मा छ, कहाँ छ कहाँ, केही थाहा थिएन। भरे त त्यहीँ अघि ठडिएको पो रहेछ हाम्रौ गाउँमा। 

सुरुमा सगरमाथा चढ्न जानेभन्दा अचम्म लागेन ? 
खुसी लाग्यो। पैसा, लुगा, ज्याकेट, स्लिपिङ ब्याग दियो। धेरै कमाई हुन्छ भन्ने लागेको थियो। हामी अभावमा हुर्किएकालाई यति पाउँदा त खुसी लाग्यो नि ! दिनको ८ रुपैयाँ मलाई दिन्थ्यो। कुल्लीलाई ५ रूपैयाँ दिन्थ्यो। हामी त खुसी नि ! 

तेन्जिङलाई कसरी थाहा भएछ चोमोलोङ्वा (सगरमाथा) चढ्नुपर्छ र त्यहाँ छ भनेर ? 
उनले कसरी थाहा पाए, मलाई केही थाहा थिएन। चोमोलोङ्वा जाने भनेर उनको घरमा मलाई सुनाए। कहाँ छ भनेको हाम्रो गाउँमा छ भन्यो। म त छक्क परेँ।  

तपाईं काम गर्न दार्जिलिङ जानुभएको कि, फर्किएर यहाँ चढ्न पाइन्छ भनेर त्यहाँ जानुभएको ? 
पहिले यतै (नाम्चे) काम गर्थें। साथीहरूले त्यहाँ काम पाइन्छ भनेपछि हामी त्यहाँ भागेर गएको हो। जता भारी बोक्न र काम लगाउँछन् त्यतै गर्ने सोच बनाएर दुई जना शेर्पासँग म भागेर त्यहाँ गएको थिएँ। पछि आफ्नै गाउँको हिमाल पुग्ने मौका मिल्यो। १९५२ मा मेरो बुबासँग तिब्बत साइटमा सगरमाथा चड्ने प्रयास हुँदा तेन्जिङको भेट भएको रहेछ। मलाई साथीको छोरा भनेर माया गर्थे। 

तेन्जिङ र एडमण्ड हिलारी सगरमाथा चढ्न गएपछि तपाईंहरू त्यहीँ कुरेर बस्नुभयो ? 
हामी क्याम्प टुमा रेस्ट गर्न आयौं। तेन्जिङले सानु ओकेटोके दिएको थिए। उनले हामीलाई सबैलाई भेला पारेर सामान पनि सँगै लिएर क्याम्प टुमा जानु भनेका थिए। हामी सबै जना त्यहाँ कुरेर बसेको थियौं। दिनको एक बजेमा ‘हामी सक्सेस भयौं। क्याम्प टुमा भेटौला। हामी आउँदैछौं’ भने। हामी सबै खुसी भयौं। उनीहरू तल आएपछि चिया र खाना खायौं। त्यहीँ दिन बेसक्याम्प आयौं। त्यसपछि तिमीहरूलाई एक महिनापछि भेट्छौं। हामी घरमा गएर आउँछौं भनेर तेन्जिङ दार्जिलिङ गए। एडमण्ड काठमाडौंतिर। हिलारी एक महिनापछि पुन: नाम्चे आए। सबै सामान ल्यायौं। धेरै पैसा लिएर आए एडमण्ड। पार्टी गरे। पैसा दिए। नाम्चेबाट सबैले सामान लिएर काठमार्डाैं आयौं। हामीले पनि सामान ल्याउन सघायौं। मे महिनाको कुरा हो यो। एक हप्ता त पूरै पार्टी नै चल्यो हिलारीको। बेलायतकी महारानीको मेडल ल्याएर आएका थिए हिलारी। हामी तीन जना शेर्पालाई त्यो मेडल पनि दिए। 

त्यस्ता तक्मा कति पाउनुभयो ? 
तक्मा त धेरै किसिमको पो छ मसँग। पाँच किसिमको छ। अस्ति राष्ट्रपतिले पनि तक्मा दिए। सो समयमा लगाएको लुगा, औजार र स्लिपिङ ब्याग त बेचेर खाएँ। पैसाको अभाव थियो त्यो समय। अहिले केही छैन। मात्रै मेडल छ। 

त्यसपछि तपाईंको तेन्जिङसँग भेट भयो कि भएन ? 
धेरै पटक भेट भयो। म घरमा नै बसे पनि उनले भारतीयहरूलाई दुई पटक सगरमाथा चढाउन लिएर आएका थिए। मलाई पनि लिएर गए। त्यसपछि म दुई पटक उनीसँग सगरमाथा जानेको भारी बोकेर गएको छु। उनले सँगै सुताए। सँगै हिँडाए। मलाई माया गर्थे तेन्जिङले। हिलारी पनि पछि पुन: आए। अन्नपूर्ण थ्रीमा पनि मलाई लिएर गए हिलारीले। मकालु पनि मलाई नै लिएर गए। 

तपाईंलाई चाहिँ सगरमाथा चढुँ लागेन ? 
म ७ पटक सगरमाथा जानेहरूको सामान बोकेर २७ हजार फिटसम्म पुगेँ। तर, माथि जाने मलाई मौका मिलेन। अनुमति चाहिन्छ त्यहाँभन्दा माथि जान। त्यो बेला प्रमिसन लिन गाह्रो थियो। पहिलो पटक जाने ३५ जनामा २ जनाले मात्रै प्रमिसन पाए। अहिले त सबैलाई दिन्छ। अहिले पैसा दिन्छ, पैसा पाएपछि प्रमिसन दिन्छ। (मज्जाले हाँस्छन्) त्यो बेला के होला मलाई त दिएन। 

सगरमाथामा तेन्जिङ पहिले पुगे कि एडमण्ड पुगे भन्ने विवाद सुनिन्छ नि ! उनीहरूले केही भने त्यो बेला ?
के फरक पर्छ र ? दुवै जना एकै पटक पुगेका हुन् नि ! तेन्जिङले नेपाली झन्डा गाडे। हिलारीले पिक्चर खिचे। दुवैजना सँगै त छ। बराबर हो। तेन्जिङ दार्जिलिङमा बसे पनि नेपालको माया गर्दा रहेछन्। भारतको झन्डा बोकेनन्। नेपाली झन्डा नै उनले पुर्‍याए। लगेर गाडे। 

तेन्जिङ कस्तो मान्छे लाग्थ्यो तपाईंलाई ? आनिबानी कस्तो थियो ? 
उनी सारै राम्रो मान्छे। शेर्पाका लागि त झनै देउता नै। शेर्पाको भविश्य नै उनले खोलिदिएको हो। शेर्पालाई सारै माया गर्थे। खुम्बु, नाम्चेको विकास सबै तेन्जिङले नै गरेको होभन्दा पनि फरक पर्दैन। त्यो ठाउँमा केही उब्जाउ नहुने। आम्दानी नहुने ठाउँ हो। अहिले सबैभन्दा विकास भएको ठाउँभन्दा पनि हुन्छ। यो सबै तेन्जिङ र हिलारीले नै गरेको हो। दु:ख पाउने ठाउँलाई उनीहरूले नै मलजल गरेका हुन्। आलु–मकै सबै किनेर खानुपथ्र्यो। अहिले त स्विट्जरल्यान्ड जस्तै भयो। 

हिलारीको बानी व्यवहार कस्तो थियो ? तपाईंलाई कस्तो लाग्थ्यो ? 
म त्यो समय अंग्रेजी बुझ्दिन थिएँ। तेन्जिङले ट्रान्सलेटको काम पनि गर्थे। हिलारी पनि धेरै मज्जाका थिए। शेर्पा र भारी बोक्ने सबैलाई माया गर्थे। मलाई त अरू ठाउँमा पनि भारी बोकाएर लगेका हुन् नि ! 

उनीहरू दुई जनाको कसरी भेट भएछ ?
पहिलेदेखि नै तेन्जिङ विदेशीलाई हिमाल डुलाउने मान्छे हो। सगरमाथा चढाउने प्रयास गर्ने मान्छे हो। मलाई यसरी भेट भयो भनेर त भनेनन्। तर, यस्तै सिलसिलामा उनीहरूको भेट भएको हुनुपर्छ। तेन्जिङ बाठो मान्छे हो। पहिले मेरो बुबासँग भेट भएको बेला पनि उनी विदेशी लिएर तिब्बततर्फको बाटो हुँदै सगरमाथा आरोहण गर्न खोजेको मान्छे हो नि ! 

सन् १९५३ मा पहिलोपटक सगरमाथा आरोहण गरेको टोली । कान्छा शेर्पा रातो घेरामा छन् ।  तस्बिर : अलफ्रेड ग्रेगोरीररोयल जियोग्राफिकल सोसाइटी

३५ जनाको तपाईंहरूको टोलीमा को–को कहाँ–कहाँको क्याम्प पुगे ? 
हामी तीन जना २७ हजार फिटसम्म पुग्यौं। अरू ३३ जनामा कोही क्याम्प टु, क्याम्प थ्रीमा बसे। त्यहाँ केही काम हुँदैन। १५ जना हिलारीका साथी थिए। बाँकी सबै शेर्पाको टोली हो। १० जना क्याम्प वान र टुमा काम गर्ने थिए। अरू बाँडिएर बसेको हो। 

त्यो बेला खर्च, पैसा बोक्नुपथ्यो होला। कसरी बोक्थे ? कस्तो पैसा चलाउने चलन थियो ?
पैसा क्वाइन् (ढक्का) थियो। एक÷एक रुपैयाँको क्वाइन हुन्थ्यो। २५ जना कुल्लीले त क्वाइनको भारी मात्रै बोकेको हो। त्यो सबै नाम्चेमा नै सकिएको थियो। त्यो क्वाइन् चाँदीको डब्बु हो। एक दिनको म आठवटा पाउँथे। कुल्लीले पाँचवटा। त्यो समयको एउटा पनि क्वाइन छैन। अहिले। सबै सकियो।

त्यो समय १ रूपैयाँले के–के आउँथ्यो नाम्चेमा ? 
त्यो हिमाली ठाउँ। के पाउनु र ? एक पाथी चामल किन्न पनि १२ रूपैयाँ पथ्र्यो। एक पाथी किन्न दुईदिन काम गर्नुपथ्र्याे मैले। कुल्लीले त दुई दिन काम गरेकोले पनि पुग्दैन थियो। 

नाम्चेभन्दा माथिको बाटोमा अहिले र पहिले के फरक छ ?
पहिले घाँस हुन्थ्यो घुँडासम्म आउने। याक चर्थे। अहिले त हिउँ पग्लिएर सबै हिउँले ढाकेको छ। झार पनि उम्रँदैन। हिमालमा माथि हिउँ पर्न छाड्यो। के भएको हो, यस्तो मलाई थाहा छैन। 

तपाईंले हिमाल चढ्न तालिम लिनुभएको थियो ? 
सगरमाथा भन्ने त थाहा थिएन। के तालिम लिनु र ? माथि लेक लाग्छ भन्ने थाहा थियो। तर, हामीले सातु खाएर नै गयौं। २७ हजार फिटसम्म मैले अक्सिजन पनि लिइनँ। अहिले त अक्सिजन लगाइहाल्छन्। हिमालमा जन्मिएको हुर्केको भएर होला। मलाई त्यति माथि जाँदा पनि असहज नभएको होला। 

तेन्जिङ र एडमण्ड सगरमाथाको चुचुरोमा कति समय बसेहोलान् त्यो समय ? 
उनीहरूले झण्डा गाडे। फोटो खिचे। हामीलाई ओकेटोकेबाट भने। करिब १० मिनेट बसे होलान्। त्यहाँ धेरै समय बस्न गाह्रो हुन्छ। हावा अत्यधिक चल्छ। मौसम राम्रो थियो। मान्छे बिरामी भएनन्। त्यो नै खुसीको कुरा हो नि ! 

अहिले पनि सोलुखुम्बुमा नै बस्नुभएको छ। ७ पटकसम्म सगरमाथा जानुभयो। त्यो बेला र अहिलेमा फरक के देख्नुहुन्छ ? 
धेरै फरक छ नि ! त्यो बेला पैसा कम थियो। सारै दु:ख गर्नुपर्‍यो। अहिले त यहाँ पैसै–पैसा छ। यहाँका मान्छे देश–विदेश पुगे। अहिले सगरमाथा जाँदा पनि ५०÷६० जना सँगसँगै जान्छन्। नाम्चेमा व्यवसाय गर्ने ठाउँ भयो। गरिब दु:खीको दिन फिरेको छ यहाँ। 

सगरमाथा चड्नु जोखिमपूर्ण छ। भारी बोकेर जाँदा अझै गाह्रो पर्छ। २० वर्षको उमेरमा नै त्यसरी जाँदा परिवारले नजानु भनेनन् ? 
मेरो आमाले भन्नुुभयो। नजा छोरा भन्नुुभयो। हिमालमा नजानु भारी बोके पनि अन्यन्त्र जानु भन्नुहुुन्थ्यो। तर, हामीलाई सहज काम पाउँदैन थियो। आमाले भनेर मात्रै मन मान्दैन थियो। पैसा र चामल लिएर आएपछि आमा त खुसी भै हाल्नुुहुुन्थ्यो नि (हाँस्दै)। कहाँबाट आयो भन्नुहुुन्थ्यो। सकियो। 

पहिलोपटक सगरमाथा जाँदा कति कमाउनुभयो ?
हामीलाई जम्मा ४५ दिन राख्यो। ९० दिनको पैसा दियो। तीन महिनाका लागि भनेर हामीलाई लिएर हिँडेको थियो। ४५ दिनमा नै सक्सेज भए पनि तीन महिनाको पैसा पाएँ। त्यसपछि टिप्स् पनि दियो। टिप्स् चाहिँ कति दियो भन्ने भुलें मैले। पार्टी पनि महँगो गर्‍यो सात दिनसम्म। हामीलाई त खुसी लाग्यो। 

त्यतिबेला विवाह गर्नुभएको थिएन ? 
म २० वर्षको थिएँ। २३ वर्षको हुँदा बिहे गरेँ। श्रीमती उसको घरमा नै बस्थ्यो। म भारी बोकेर हिँड्थे। बिहे गरेपछि श्रीमतीले नजानु भन्थ्यो। आमाले पनि। १९५३ देखि १९७३ सम्म रेगुलर गएँ। त्यसपछि गइनँ। ४० वर्षको उमेरसम्म भारी नै बोकेँ। भारी बोक्ने धेरैलाई हिउँले पुर्‍यो। धेरै मरे। त्यसपछि श्रीमती र आमाको करले मचाहिँ बसेँ। 

सगरमाथा जानेक्रममा धेरै दुर्घटना हुन्छ। त्यसबाट जोगिन के गर्नुपर्छ ? 
त्यहाँ के गरेर रोक्ने र ? भगवान् भरोसो हो, त्यो ठाउँमा काम गर्नु। मौसमलाई ख्याल गर्नुपर्छ। हिउँ पहिरो जुन समय पनि झर्न सक्छ। म सात पटक गएँ, केही भएन। म त भगवान् केही नहोस् भनेर दिनै जप्थेँ÷सम्झन्थेँ। 

सगरमाथा जाने, लाने धेरै शेर्पा त विदेश पलायन भए। भारी बोक्ने बाटो देखाउने काम छाडे। तपाईँ विदेश जानुभएन ? 
अब किन जानु र विदेश ? काम आफ्नै ठाउँमा पाउँछ। म घुम्न भारत, तिब्बत र डेनमार्क गएँ। अहिले शेर्पाले भारी बोक्न छाडे। अहिले त अरू नै आउँछन्। सबै विदेश गए। पेशाबाट पलायन भए। 

त्यो टिमको त तपाईँ मात्रै हुनुहुन्छ। त्यो समयको अनुभव सोध्न विदेशी आउँछन् ? 
कति आउँछन् कति। मेरो घरमा लज पनि छ। त्यहाँ आउने, बस्ने। सोध्ने धेरै छन्। म सबै अनुभव सुनाउँछु। खुसी भएर जान्छन्। सपना जस्तो कुरा हो त्यो समयको। मेरो विषयमा अमेरिकाको मान्छेले किताब पनि लेखेको छ। डेनमार्कको मान्छे आएर डकुमेन्ट्री पनि बनाए। विदेशीले खोजेर आउँछन्। सोध्छन्। लेख्छन्। मलाई लेख्न, पढ्न आउँदैन। तर, धेरै लेखेका छन् रे। 

अनि अंग्रेजी शब्द त राम्रो बोल्नु हुन्छ। कति भाषा आउँछ ? 
विदेशीसँग हिँडेर सिकेको हुँ। म विदेशीसँग अंग्रेजीमा कुरा गर्न सक्छु। मलाई नेपाली, तिब्बतीयन, अंग्रेजी र शेर्पा भाषा आउँछ। लेख्न आउँदैन। बोल्दा–बोल्दा बानी भयो। 

अहिले धेरै जना सगरमाथा चढ्छन्। भीड नै लाग्छ। यस्तो हुँदा यसको गरिमा घट्छ जस्तो लाग्दैन तपाईँलाई ?
पहिले त पूजा गथ्र्याैं। चोमोलोङ्मा भनेको देउता हो। तर, अहिले यहाँ चुरोट खाने, फोहोर गर्ने क्रम बढेको छ। फोहोर बढ्यो। यहाँ सफा गर्नुचाहिँ पर्छ। व्यवस्थित गर्नुपर्छ। मान्छे रोकेर हुँदैन होला।

सगरमाथा नेपालमा नै छ। धेरै हिमालहरू छन्। शेर्पाहरूले दु:ख गरे भारी बोके, नेपाल चिनाए। सत्कार गरे। अब यहाँबाट फाइदा लिन र विकास गर्न नेपालले के गर्नुपर्छ ? 
जति मान्छे आयो उति राम्रो हो। यसको प्रचार र व्यवस्थित गर्नुपर्छ। विदेशी धेरै बोलाउनुपर्छ। 

तपाईंलाई राजनीतितर्फ चासो लाग्यो कि लागेन ? 
मलाई थाहा छैन। मान्छे कुरा गर्दा सुन्छु। मैले केही पढेको छैन। भगवान्ले भारी बोक्न सिकायो, यतिमा नै खुसी भएँ। राजनीतिको कुरा हामीलाई थाहा नै दिँदैनन्। भन्दैनन्। 

देशको अवस्था तपाईंलाई थाहा छ ? देश किन गरिब भयो भन्ने लाग्छ ? हामीले विकास गर्न सकेनौं भन्ने सोच्नुभएको छ ?
नेपाल गरिब छ भन्ने अलिकत सुनेको छु। आउने ठाउँ छैन अनि गरिब भयो भन्ने लागेको हो। काम गर्दैनन् अनि गरिब भएको हो। काम गरे त सबै धनी भइहाल्छन् नि ! 

९० वर्षको हुनुभयो। खानेकुरा मिठो के लाग्छ ? 
म सामान्य खानेकुरा मात्रै खान्छु। सादा खाना मिठो लाग्छ। समयमा खान्छु। पहिला थोरै तोङ्बा (मदिरा) खान्थें। २० वर्ष पहिल्यै छाडें र त अहिलेसम्म बाँचे। नत्र म पहिले नै मरिसक्थें। जाडो भए तातो पानी खान्छु। त्यसैले म अहिले पनि स्वस्थ छु। खुसी छु।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.