एनआरएनएको एजेन्डा बनोस् नेपाली सिनेमा

एनआरएनएको एजेन्डा बनोस् नेपाली सिनेमा

केही देशमा नेपाली चलचित्र कहिलेकाहीँ प्रदर्शन हुने गरेका छन्। यसलाई व्यवस्थित गर्न गैरआवासीय नेपाली संघले मात्र गर्न सक्छ।


जब गैरआवासीय नेपाली संघको अधिवेशन हुने समय आउँछ, तब विभिन्न पदका आकांक्षीहरूको संख्या ह्वात्तै बढ्छ। हरेक दुई वर्षमा नयाँ नेतृत्व छान्ने यस्तो अधिवेशनमा उठ्ने विभिन्न आकांक्षीको आआफ्नै एजेन्डा सुरु हुन्छ। कोही प्रवासी नेपालीहरूको हकहितको पक्षमा यसो गर्छु र उसो गर्छु भन्ने अभिव्यक्ति दिन्छन्। कोही विदेशको लगानीलाई स्वदेशमा ल्याएर विकासमा लगाउने दाबीसहित उम्मेदवारी दिन्छन्। कोही विदेशी सीप र क्षमतालाई स्वदेशमा भित्र्याउने कुरा गर्छन् भने कोही एक पटकको नेपाली सधैंको नेपाली भन्ने नारा उरालेर चुनावमा होमिने गर्छन्। त्यसो त, प्रवासमा रहनु हुने नेपालीले नेपाल र 

नेपालीप्रतिको माया, चाह, सम्मान र सहभागितालाई निरन्तरता दिई नै रहनुभएको छ।

प्रवासमा नेपालीको शान–मान र इज्जत अनि नेपालीको शैली, उपस्थिति र वाहवाही पनि प्रवासमा रहनु भएका नेपालीकै कारण भएको कुरालाई नकार्न पनि सकिँदैन। विदेशमा नेपाल र नेपालीलाई चिनाउन भरमग्दुर प्रयास गर्ने, त्यसका लागि दिलोज्यान दिन तयार हुने जस्ता नारा आउँछन्। त्यसकै बीचमा कसैले पनि यतिबेला मुलुक चिनाउने सशक्त, प्रभावकारी र सबैको रुचि बढ्ने अनि चासो रहने, विदेशमा नेपाल र नेपालीलाई सहजै चिनाउन सक्ने नेपाली चलचित्रको बारेमा कतै कसैले बोलेको र चासो दिएको भने पाइँदैन। न त कुनै उम्मेदवारले आफ्नो एजेन्डा र घोषणापत्रमा नै राखेको पाइन्छ। यसो हुनुमा उहाँहरूले चलचित्रको सशक्तता र यसको प्रभावकारितालाई बुझेको देखिँदैन। तर, आज विश्वमा मुलुकको भाषा, साहित्य र संस्कृति चिनाउने सशक्त माध्यम भने चलचित्र नै हो।

अब हिन्दी चलचित्रकै उदाहरण लिऊँ। के हामीले कहिल्यै विद्यालयमा हिन्दी पुस्तक पढ्यौं ? तैपनि हामीलाई हिन्दी भाषा बुझ्छौं र मोटामोटी बोल्न पनि आउँछ। हिन्दी नपढे पनि र अंग्रेजी पढे पनि हामीलाई सामान्यतया अंग्रेजीभन्दा हिन्दी सहज लाग्छ। हिन्दी भाषामा हामी किन बोल्न र लेख्न सक्ने भयौं त ? यसको ज्वलन्त उदाहरण हो, हिन्दी चलचित्रका दर्शक हामी। यो सबै हामीले हिन्दी चलचित्रबाटै थाहा पायौं र सिक्यौं। यसबाट के प्रष्ट हुन्छ भने चलचित्रको प्रभाव, क्षमता र छाप कत्तिको हुँदो रहेछ भनेर। चलचित्रकै माध्यमबाट आज भारतले आफ्नो भाषा विश्वभर फैलाएको छ। आज हलिउडको चलचित्र विश्वभर नचल्ला तर भारतीय चलचित्रले विश्व–बजारमा दिनप्रतिदिन आफ्नो बजार विस्तार गरिरहेको छ। योसँगै भारतीय भाषा र भारतीय कलाकारहरूको वाहवाही पनि विश्वमाझ भइरहेको छ।

आज हिन्दी चलचित्र विश्वका अधिकांश मुलुकमा चल्छन् भने उनीहरूका कलाकारको विदेशमा रहेका भारतीयमाझ पनि राम्रो क्रेज छ। चलचित्रकै माध्यमका कारण आज भारतीय भाषा र संस्कृतिले विश्वमाझ विस्तार हुने अवसर पाएको छ। यसमा महत्वपूर्ण हात या भूमिका छ त एनआरआई अर्थात् गैरआवासीय  भारतीयको। विदेशमा रहेका भारतीयहरू जहाँ जान्छन् आफ्नै चलचित्रको बारेमा कुरा गर्छन्। आफ्नै कलाकारहरूको बारेमा चर्चा–परिचर्चा गर्छन्। परिवारमा होस् या कुनै समारोह या जमघट, जता होस्, आफ्ना चलचित्रको बारेमा खुलेर कुरा गर्छन् र गर्व पनि गर्छन्। तर, यता गैरआवासीय नेपालीले नेपाली चलचित्रको महत्त्व, आवश्यकता र प्रभावबारे बुझ्न सकेको देखिँदैन। यसतर्फ उहाँहरूको ध्यान जाओस् भन्ने कामना नेपाली चलचित्रकर्मीले गरेका छन्। गैरआवासीय नेपाली संघ नै हो जसले नेपाली चलचित्रमार्फत प्रवासमा नेपाली भाषा, साहित्य र संस्कृतिको विस्तार गर्न सक्छ। जसले विदेशमा जन्मिएका र हुर्कंदै गरेका दोस्रो पुस्ताका नेपालीलाई चलचित्रमार्फत नेपाल, नेपाली भाषा, शैली र परम्पराका बारेमा जानकारी या ज्ञान दिन सक्छ।

विदेशमा नेपाली भाषा र संस्कृतिलाई चिनाउनु पर्‍यो भनेर जति भाषण गरे पनि चलचित्रभन्दा सशक्त र बलियो माध्यम अरू कुनै हुनै सक्दैन। आजका बालबालिकालाई हिन्दी चलचित्रले यसरी प्रभाव पारेको छ कि उनीहरूको मस्तिष्कमा सत्ययुगमा भगवान्हरू पनि साँच्चिकै हिन्दी बोल्थे कि कसो हो भन्ने भान पर्न थालेको छ। यसको मूल कारण हो भारतीय चलचित्र। त्यसैले त बालबालिका भगवान् र राक्षसको खेल खेल्दा हिन्दी संवाद बोल्न छुटाउँदैनन्। गैरआवासीय नेपाली संघ र यो संघलाई हाँक्न तयार भएका अग्रजहरूको पनि अब आफ्नो एजेन्डा र घोषणापत्रमा नेपाली सिनेमाको बारेमा उल्लेख गर्नु पर्‍यो। प्रवासमा हुर्कंदै गरेको दोस्रो पुस्तालाई घरमा नेपाली बोल्न सिकाएर मात्र भएन, नेपाली चलचित्रप्रति उनीहरूको चाह बढाएर प्रवासमा नेपाली सिनेमाको प्रभाव बढाउँदै अर्कोतिर यसको बजार पनि विस्तार गर्नुपर्ने भएको छ।

व्यक्तिगत रूपमा त केही देशमा नेपाली चलचित्र कहिलेकाहीँ प्रदर्शन हुने गरेको छ, तर यो कहिलेकाहीँलाई व्यवस्थित गर्नु पर्ने भएको छ। यसरी संस्थागत रूपमा कसैले सक्छ भने त्यो एनआरएनए अर्थात् गैरआवासीय नेपाली संघले मात्र गर्न सक्छ। भाषाको पक्षमा चाँडै नै प्रभाव पार्न सक्ने नेपाली चलचित्रप्रति चासो बढाउने खालका कार्यक्रमहरू ल्याउनु पर्छ। त्यसो गर्न सकेमा स्वतः एकातिर नेपाली सिनेमाको व्यावसायिक बजार पनि प्रवासमा विस्तार हुन्छ। विस्तारै–विस्तारै सिनेमाको आडमा नेपाली भाषाले पनि विदेशमा रहेका दोस्रो पुस्ताको मन र मस्तिष्कमा बास गर्न सक्ने वातावरणको सिर्जना हुन्थ्यो ? यसतर्फ पनि गैरआवासीय नेपाली संघले केही सोच्ने कि ?


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.