मान्द्रेढुङ्गाका युवा सामूहिक बंगुरपालनमा
बेनी : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मान्द्रेढुङ्गाका युवाले सामूहिक बंगुरपालन सुरु गरेका छन् । गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री जलवायु मैत्री नमुना कृषि गाउँ कार्यक्रमको सहयोगमा लेकाली बहुउद्देश्यीय कृषक समूह मार्फत बंगुरपालन सुरु गरेका हुन् ।
समूहका सदस्य गोबिन्द पुर्जाले २२ जना मिलेर उपल्लो गाउँफाँटमा आधुनिक खोर निर्माण गरी बंगुरपालन सुरु गरेको बताए । ‘१८ जना बिदेशबाट फर्किएका र गाउँमै भएका युवाहरु छौ,’ उनले भने ‘फार्ममा आलोपालो काम गरेर बंगुरको स्याहार सुसार गरेका छौ । काम गर्नेले ज्याला र आम्दानी समान हिसाबले वितरण हुन्छ ।’
पचास/पचास हजार रुपैयाँका दरले नगद संकलन गरिएको समूहलाई सहकारीमा रुपान्तरण गर्ने प्रक्रियामा लगिएको अर्का सदस्य रामबहादुर पाईजाले बताए । दक्षिण कोरीयामा बंगुर फार्ममा काम गरेका बिमल र अनिल फगामीको अगुवाइमा बंगुरपालन गरिएको हो ।
बंगुरपालनलाई विस्तार गरी स्वरोजगारसँगै आयआर्जन गर्ने युवाहरुको योजना छ । पाठापाठी, वयस्क, गर्भवति, सुत्केरी र भाले बंगुरलाई छुट्टा-छुट्टै राख्न मिल्ने १० वटा कोठा भएको ब्यवस्थित खोर बनाइएको छ ।
एक सय वटा क्षमताको खोरमा हाल ५३ वटा ल्याडरेश र पाख्रिबास जातका बंगुर छन् । खोरसँगै समूहको कार्यालय र दाना भण्डारण गर्ने अर्को भवन बनाइएको छ । कार्यक्रमकी कृषि प्राविधिक जेनिसा चोखालका अनुसार समूहमार्फत बंगुरपालनका साथै ठूलोबगरमा १० रोपनी जग्गामा १२ वटा सेमिहाइटेक प्रबिधिको पलास्टिक घर(टनेल) बनाएर व्यावसायिक तरकारी खेती सुरु गरेका छन् ।
‘प्रदेश सरकारको ८५ र समूहका १५ प्रतिशत लगानीमा बंगुरपालन गरेका हुन्,’ उनले भनिन् ‘गत वर्ष चालिस लाख रुपैयाँ बिनियोजन भएको कार्यक्रमका लागि यस वर्ष पन्ध्र लाख रुपैयाँ बिनियोजन भएको छ ।’
तरकारी खेती र बंगुरपालन गर्न ६० घरधुरी कृषकहरु कार्यक्रममा आवद्ध भएका छन् । मान्द्रेढुङ्गा र ठूलोबगर पर्यटकीय स्थल भुरुङ्ग–तातोपानी तथा गाउँपालिकाको केन्द्र पोखरेबगर नजिकैका बस्ती हुन् । बजार नजिकै भएकाले तरकारी तथा बंगुर बिक्रीमा सहज हुने समूहका उपाध्यक्ष लोकबहादुर पुर्जाले बताए ।
बिषादी र रासायनिक मलको प्रयोग बिना जैविक प्रबिधिको प्रयोग गरेर खेती गरी वातावरण संरक्षण तथा कृषकको आयआर्जन सुधार गर्ने उद्देश्यले प्रदेश सरकारले सबै स्थानीय तहमा सञ्चालन गरेको कार्यक्रम प्रभावकारी बनेको कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख किरण सिग्देलले बताए । बेनीको सिंगा सुर्केमेला, बास्कुना, मंगलाको कोत्रवाङ, सिम, तोराखेत, सातबिसे, पोक, मालिकाको बिम, धवलागिरीको खिबाङ–खाम्ला र रघुगंगाको भगवती घट्टटोलमा मुख्यमन्त्री वातावरणमैत्री नमुना कृषि गाउँ कार्यक्रम सञ्चालन भएको छ ।