मणिपालमा अतिरिक्त शुल्क फिर्ता गर्ने सम्झौता, महिना दिनदेखि लागेको ताला खुल्यो
पोखरा : विद्यार्थीसँग बढी शुल्क लिएको भन्दै अनेरास्ववियुले मणिपाल मेडिकल कलेजमा १ महिनाअघि लगाएको ताला बुधबार खुलेको छ। चिकित्सा शिक्षा आयोगले तोकेभन्दा बढी लिइएको शुल्क विद्यार्थीलाई फिर्ता गर्न कलेज सहमत भएपछि अनेरास्ववियुले प्रशासनमा लगाएको ताला खोलिदिएको हो।
मनिपालले विद्यार्थीसँग ६ लाख रुपैयाँ नियमभन्दा बढी शुल्क असुलेको भन्दै एमालेको भातृसंस्था अनेरास्ववियुको गण्डकी प्रदेश कमिटीले तालाबन्दीसहित आन्दोलन गर्दै आएको थियो। विद्यार्थीबाट बढी असुलिएको रकम अर्काे वर्ष उनीहरुले तिर्नुपर्ने शुल्कमा समायोजन गर्ने गरी कलेजले बुधबार अनेरास्ववियुसँग सम्झौता गरेको छ।
विद्यार्थीहरुसँग आयोगले तोकेभन्दा बढी कुनै पनि अतिरिक्त शुल्क नलिने भएपछि १ महिना लामो आन्दोलन स्थगित भएको अनेरास्ववियु गण्डकीका संयोजक प्रकाश पौडेलले बताए।
आगामी दिनमा मणिपाल कलेज र स्थानीय समुदायसँग सहकार्य र हार्दिकतासहित आवश्यक समन्वय गरी अगाडि बढ्ने सम्झौता भएको अनेरास्ववियु सचिव आरके पोखरेलले जानकारी दिए।
कानून विपरीत शुल्क लिएको हुँदा फिर्ता गर्न मनिपाललाई पत्राचार गर्दासमेत बेवास्ता गरेको भन्दै अनेरास्ववियु गण्डकी प्रदेशले मंसिर २० गतेदेखि कलेज प्रशासनमा तालाबन्दी गरेको थियो। चिकित्सा शिक्षा आयोगले चिकित्साशास्त्रको स्नातकका लागि काठमाडौं उपत्यकाभित्र ४० लाख र उपत्यका बाहिर ४४ लाख रुपैयाँ शुल्क तोकेको छ। तर मनिपाल कलेजले प्रतिविद्यार्थी ६ लाख रुपैयाँ बढी लिएको पुष्टि भएको थियो । विद्यार्थीले पहिलो किस्ताबापतको शिक्षण शुल्क कलेजको खातामा जम्मा गरिसकेका थिए। तर कलेजले अरु बहाना बनाएर विद्यार्थीसँग ६ लाख रुपैयाँका दरले असुली गरेको थियो।