पद्म पुरस्कार विजेता उद्धव भरालीविरुद्ध घरमा काम गर्ने बालिकाले लगाइन् यौन शोषणको आरोप
असम : भारतको प्रतिष्ठित पुरस्कार पद्म पुरस्कार विजेता उद्धव भरालीमाथि बलात्कारको आरोप लागेको छ। बीबीसी हिन्दीका अनुसार भरालीमाथि एक नाबालिगले बलात्कारको आरोपमा मुद्दा लगाएकी हुन्।
भरालीले केही महिना पहिले ती बालिकामाथि बलात्कार गरेको जाहेरीमा उल्लेख छ। उनको घरमा काम गर्ने बेला करिब एक वर्षसम्म उनले यौन शोषण गरेको ती बालिकाले बताएकी छन्।
तर भरालीका वकिलले भने लखिमपुरमा रहेको एक बाल कल्याण समितिसँगको विवादका कारण भरालीलाई फसाउन यो प्रपञ्च रचिएको बयान दिएका छन्। उनले व्यक्तिगत मानहानी भएको भन्दै माफी माग्नुपर्ने समेत बताएका छन्।
भराली असमको विज्ञान तथा इन्जिनियरिङ क्षेत्रमा १४० भन्दा बढी आविष्कार गरेर प्रसिद्ध भएका थिए। उनले सन् २०१९ मा पद्म पुरस्कार पाएका थिए।