पुस २७ लाई राष्ट्रिय एकता दिवस मनाउन आग्रह
स्याङ्जा : विश्व हिन्दु युवा संघ स्याङ्जाले पृथ्वी जयन्ती अर्थात पुस २७ गतेका दिनलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाउन नेपाल सरकारसंग आग्रह गरेको छ। संघका अध्यक्ष नवराज पौडेलले पृथ्वीनारायण शाहले टुक्रा टुक्रामा बिभक्त राज्यलाई एकिकरण गरेर नेपाल देश निर्माण गरेको भन्दै एकता दिवसका रुपमा मनाउन आग्रह गरेको जनाएकाे छ।
वालिङ् इलाका प्रशासन कार्यालयमा पुगेर संघका पदाधिकारीसहितको टोलीले अनुरोध सहित ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्र बुझाउन विश्व हिन्दु युवा संघका केन्दीय सदस्य डण्डपानी पंगेनी युवा समाजसेवी प्रेम गुरुङ लगायतका पदाधिकारी सहभागी भएका थिए ।
कार्यालयका सूचना अधिकारी सुवास पौडेललाई अनुरोध पत्र बुझाउदै पृथ्वीनारायण शाहको योगदानको कदर गर्दै नेपाल सरकार, प्रदेश सरकार, स्थानीय सरकारसंग पुस २७ गते सार्वजनिक बिदासहित विभिन्न कार्यक्रम गरी मनाउन आग्रह गरिएको छ।
संघका जिल्ला अध्यक्ष नवराज पौडेलद्धारा हस्ताक्षरित अनुरोधपत्रमा, ‘पृथ्वीनारायण शाहले मुलुक एकिकरण गर्नुका साथै नेपाली नागरिकलाई एउटै मालामा गाँस्ने जस्ता काम गर्नुभएकाले उहाँलाई एकताका प्रतिकका रुपमा मान्दै राष्ट्रिय एकता दिवसका रुपमा मनाउन उल्लेख छ।’
सूचना अधिकारी पौडेलले आफूलाई प्राप्त पत्र तत्काल नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारलाई सो पत्र सम्प्रेषण गर्ने जनाए । साथै नेपालका सनातन धर्महरु र ओमकार परिवार अन्र्तगत रहेको विश्व हिन्दु युवा संघले याङ्जाका ११ वटै पालिकाका विद्यालय तहमा नैतिक शिक्षाका कक्षा तथा संस्कृत भाषाका पुस्तकालय स्थापनाको अभियानमा काम गर्दे आएको जनाएको छ।