दुई वर्षपछि महतला भिरमा ट्रयाक खुल्यो, अझै गाडी चलेनन्
बेनी : म्याग्दीको धवलागिरी गाउँपालिका–२ को महतला भिरमा दुई वर्षको प्रयासमा सडकको ट्रयाक खुलेपनि स्थानीयले यातायात सुविधा पाएका छैनन् ।
धवलागिरीको वडा नम्बर १ र २मा पर्ने गुर्जा र लुलाङ तथा बागलुङको ढोरपाटन क्षेत्रलाई गाउँपालिकाको केन्द्र मुनासँग जोड्ने मुना–लुलाङ सडक अन्तरगत पर्ने महतला भिरमा करिब एक सय मिटर सडकको मार्ग खोलिएको छ । अक्करे पहाडमा भौगोलिक कठिनाई, स्थानीयको बिवाद र निर्माण व्यवसायीको ढिलासुस्तिले सडक निर्माण प्रभावित बनेको हो ।
पूर्बाधार विकास कार्यालय म्याग्दीले दरवाङ–बिम–भारबाङ–ताकम–मुना–लुलाङ–गुर्जा सडक आयोजना अन्तरगत महतला भिरमा सडक निर्माणका लागि २०७६ पुष पहिलो हप्ता ठेक्का लगाएको थियो । एक करोड ४९ लाख लागत अनुमान गरिएको योजना काठमाडौको बिएन कन्ट्रक्सनले ७८ लाख ९९ हजार ३१० रुपैयाँमा ठेक्का लिएको थियो ।
विस. २०७७ असार मसान्तसम्म म्याद भएको आयोजना खोरीया, लमसुङ र लुलाङका बासिन्दाको बिवादको बाहनामा सम्झौता भएको १५ महिनापछि २०७७ चैतमा सुरु भएको थियो । पूर्बाधार विकास कार्यालयका प्रमुख सन्तोष अर्यालले महतला भिरमा दुई वटा प्याकेजमा भएको ठेक्का मार्फत सडकको मार्ग खोलिएको बताए ।
‘आर्थिक वर्ष २०७७/७८ मा दुई हजार घनमिटर चट्टान फुटाएर सडकको मार्ग बनाउन माछापुच्छ्रे निर्माण सेवाले ठेक्का लिएको काम गत असारमै सकिएको थियो,’ उनले भने ‘२०७६/७७ मा बिएनले ठेक्का लिएको एक हजार ५०० घनमिटर कडा चट्टान काट्ने काम यसपाली गरेको हो ।’
अक्करे पहाडमा करिब एक सय मिटर दूरीमा चट्टान काटेर मार्ग खोलिएपनि ग्रेड मिलाउन र फराकिलो बनाएर यातायातका साधन चल्न योग्य बनाउन बाँकी छ । खोरिया आधारभूत विद्यालयका प्रअ रामबहादुर पुनले अक्करे पहाड छिचोलेर सडकको मार्ग खोलिएपनि थप मर्मत सुधार गरेर जति सक्दो छिटो यातायात सञ्चालन गर्ने वातावरण बनाउनुपर्ने बताए ।
‘खोरिया भन्दा अगाडि मरेनी र लमसुङसम्म सडक पुगेको छ,’ उनले भने ‘महतलाको भिरमा खुलेको ट्याकलाई यातायात सञ्चालन योग्य बनाएमा आवत जावत र ढुवानीमा सहज हुने थियो ।’ सडक भएपनि पैदलयात्रा गर्न बाध्य छन् । ढुवानीका लागि भरिया र खच्चरमा निर्भर छन् । महतलामा दुई वर्षअघि सडक पुगेको थियो ।
निर्माण कम्पनी बिएन कन्ट्रक्सनका सञ्चालक नारायण जिसीले महतला भन्ने ठाउँमा पुगेको सडक कताबाट खन्ने भन्ने विवादले समयमा काम गर्न नपाउँदा ढिलाई भएको बताए ।
महतला देखि केही तलबाट दरखोलाको दायाँ किनारबाट सडक खन्नुपर्ने माग गर्दै आएका लुलाङ, लमसुङ र खोरियाका बासिन्दाबीच गत वर्ष गाउँपालिकाको पहलमा महतला भन्दा अगाडी रोखियाको फेदीबाट लमसुङतर्फ जाने सडक बनाउने सहमति भएको थियो ।
सहमति अनुसार गत वर्ष गाउँपालिकाले बिनियोजन गरेको चालिस लाख बजेटबाट खोरियाको फेदीदेखि लमसुङको सिमानासम्म पुगेको सडकलाई पूर्णता दिनुपर्ने लमसुङका ओम बिकले बताए । महतला भिरमा खोलिएको सडक मार्गलाई सुधार गरेमा खोरीया हुँदै लमसुङको सिमानासम्म गाडी गुड्न सक्छन् ।
महतलाको अप्ठ्यारो भिरलाई छाडेर संघीय सरकारको सडक डिभिजन कार्यालय बागलुङले खोरीया हुँदै कासम खोलासम्म गत वर्ष साढे तीन किलोमिटर भन्दा बढी सडक खनिसकेको छ । खोरीयाबासीले चन्दा संकलन गरेर ढोरपाटन जाने मूल सडकदेखि लमसुङ जोड्ने सहायक सडकको ट्रयाक पनि खनेका थिए ।
धवलागिरी गाउँपालिकाका अध्यक्ष थमसरा पुनले महतलाको भिरमा खुलेको मार्गलाई चक्लाएर र ग्रेड सुधार गरेर यातायात सञ्चालन योग्य बनाउन तथा गुर्जातर्फ जाने सडक निर्माणका लागि विभिन्न बिकल्पमा छलफल र पहल भैरहेको बताए । ग्रेड मिलाउन जग्गाधनीसँग सोमबार गाउँपालिकाले छलफल गरेको थियो ।
प्रदेश सरकारले सो सडकलाई यस वर्ष तीस लाख बिनियोजन गरेको छ । पूर्बाधार विकास कार्यालयका प्रमुख अर्यालले सो बजेटबाट पहिलेको ठेक्काको भुक्तानी दिइने बताए ।