गोरखामा अन्तराष्ट्रिय नेपाली साहित्य समाजको काव्ययात्रा तथा सांस्कृतिक कार्यक्रम
गोरखा : काव्ययात्रा तथा सांस्कृतिक कार्यक्रम अन्तर्गत अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज(अनेसास) नेपाल च्याप्टरकाे टोली बुधबार गोरखा पुगेको छ । पृथ्वीजयन्तीको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत बुधबार पहिलो दिन गोरखामा साहित्यकारहरुको काव्ययात्रा तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको हो ।
नेपाल च्याप्टरकी अध्यक्ष सन्ध्या पहाडीको नेतृत्वमा १७ जना साहित्यकारहरुको टोली गोरखा पुगेको हो । टोलीले गोरखा सदरमुकामको होटल सत्यममा काव्य गोष्ठी तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ ।
गोष्ठीमा अनेसास नेपाल च्याप्टरकी अध्यक्ष पहाडी, यात्रा टोलीमा सहभागी भएका लीला लुइँटेल, शान्ता बस्नेत, रेणुका सोलु, कल्पना खरेल, बिमला निरौला, सुष्मा आचार्य, जयदेव भट्टराई, मणि लोहनी, गीता कार्की, गीता मैनाली, एलिशा ढुंगाना, गीता खत्रीले कविता, गजल, मुक्तक बाचन गरेका थिए ।
त्यस्तै गोरखाका स्रष्टाहरु नारायणप्रसाद पोखरेल, प्रदीप रोदन, सुरेन्द्र देवकोटा, यदु अधिकारी, विजय उपाध्याय तिवारी, राज गुरुङ, उदय भट्ट लगायतले रचना वाचन गरेका थिए ।
सो कार्यक्रममा राष्ट्रिय कलाकार देवु बोहोराको सांस्कृतिक टोलीले छलिया तथा टप्पा नाच प्रस्तुत गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले अनेसासको गोरखा काव्ययात्राका कारण गोरखाको पर्यटन विकास हुनेमा विश्वास व्यक्त गरे । त्यस्तै अनेसाससँगको सम्बन्ध स्थापित गरी गोरखाको साहित्य विकासमा टेवा पुग्ने विश्वास पनि व्यक्त गरे । गोरखा नगरपालिकाको साहित्य र संस्कृतिको विकासमा नगरपालिका सँधै सहयोगी बन्ने उनको भनाइ थियो ।
त्यस्तै उपमेयर बिनाकुमारी श्रेष्ठले साहित्य यात्राका कारण गोरखाको प्रचारप्रसार हुने भन्दै आगामि दिनमा पनि यस्ता कार्यक्रम गरिरहनु आग्रह गरिन् । साहित्य र संस्कृतिको विकासमा नगरपालिका सँधै लागिपर्ने उनको भनाइ थियो ।
कार्यक्रममा बोल्दै कवयित्री लिला लुइँटेलले साहित्यका कारण पर्यटन विकास हुने र पर्यटनका कारण साहित्यको विकास हुने हुँदा काव्य यात्राको आयोजना गरिएको बताइन् ।