गर्भवती महिलाले बच्चा गुमाएपछि अस्पतालका अधिकारीहरुलाई जागिरबाट निकालियो

गर्भवती महिलाले बच्चा गुमाएपछि अस्पतालका अधिकारीहरुलाई जागिरबाट निकालियो

सियानः चिनियाँ अधिकारीहरुले अस्पतालका अधिकारीहरुलाई जागिरबाट निकाला गरेका छन्। कोभिड लकडाउनका कारण गर्भवती महिलाले आफ्नो बच्चा गुमाउनु परेको भन्दै चीनको शान्सि प्रान्तीय सरकारले सियान अस्पतालका अधिकारीहरुलाई जागिरबाट निकाला गरेको हो।

जनवरी १ मा सुत्केरी बेथा लागेपछि एक महिला सियान गाओसिन अस्पताल पुगेकी थिइन्। उनको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ भए पनि सो रिपोर्ट चार घण्टा पुरानो भन्दै अस्पतालका अधिकारीहरुले उनलाई तत्काल अस्पताल भर्ना गर्न मानेका थिएनन्। भर्ना हुने पालो कुर्दै अस्पतालबाहिर कुरेकी ती महिलाको योनीबाट अत्यधिक रगत बगेको थियो। त्यसपश्चात लगत्तै ती महिलालाई अस्पतालका अधिकारीहरुले भर्ना गराउँदै सुत्केरी गराएका थिए। तर अस्पतालको लापरबाहीका कारण सुत्केरी महिलाको गर्भबाट जन्मेको बच्चाको मृत्यु भइसकेको थियो।

ती महिलाको कथाको भिडियो सामाजिक सञ्जाल वेइवोमार्फत् भाइरल बनेको थियो। बुधबार शान्सि प्रान्त र सियान नगरपालिका स्वास्थ्य आयोगले अनुसन्धान अघि बढाएको थियो भने कोभिड लकडाउनपछि निम्तेको लापरबाहीका कारण बच्चाको मृत्यु भएको पुष्टि गरेको थियो। सोही कारण स्थानीय सरकारले दुईवटा अस्पतालका स्वास्थ्य अधिकारीहरुलाई अस्पतालको जागिरबाट निकालिएको गार्जियनमा खबर छ।

फिलिपिन्समा बालविवाह गैरकानुनी

म्यानिलाः फिलिपिन्स सरकारले बालविवाहमाथि प्रतिबन्ध लगाएको छ। सरकारले बिहीबार बालविवाहसम्बन्धी नयाँ कानुन पारित गरेसँगै सो प्रतिबन्ध लागेको हो।

सरकारले १८ वर्षमुनिको विवाहलाई गैरकानुनी मान्यता दिएको छ। सरकारले १८ वर्षभन्दा माथिको उमेरलाई विवाहयोग्य उमेरको रुपमा नयाँ कानुन पारित गरेको छ। सरकारले पारित गरेको नयाँ नियम उल्लंघन गर्नेलाई अपराधसरह कडा कारबाही गरिने बताइएको छ। सबैभन्दा बढी बालविवाह गर्नेमा फिलिपिन्स संसारको १२औं स्थानमा पर्छ। फिलिपिन्समा अधिकांश किशोरकिशोरीहरुले १२ देखि १८ उमेरभित्रमा विवाह गर्ने गरेको पाइन्छ।

संसारमा खाद्यान्नको मूल्य वृद्धि १० वर्षयताकै उच्च

पेरिसः संसारमा खाद्यान्न सामग्रीको मूल्य वृद्धि १० वर्षयताकै उच्च भएको छ। सन् २०२१ मा मात्र संसारभरि खाद्यान्नको मूल्य वृद्धि १० वर्षयताकै उच्च भएको हो। संयुक्त राष्ट्र संघको खाद्य विभागले बिहीबार सो जानकारी दिएको हो। संघको खाद्य एवं कृषि संगठनद्वारा बिहीबार जारी पछिल्लो तथ्यांकअनुसार संसारभर खाद्यान्नको मूल्यमा वृद्धि भएको छ। खाद्यान्नको मूल्य २८ प्रतिशतले वृद्धि भएको संगठनले जनाएको छ।

कृषिमा कम संलग्नता,  विदेशी विनिमय दर र कोरोना भाइरसका कारण खाद्यान्न सामग्रीमा उच्च दरमा वृद्धि भएको संगठनद्वारा जारी तथ्यांकमा उल्लेख छ।

कुकी उल्लंघनको आरोपमा गुगललाई १५० मिलियन युरो जरिवाना

पेरिसः कुकीको नियम उल्लंघन गरेको आरोपमा गुगल कम्पनीले करिब १५० मिलियन युरो जरिवाना तिर्नुपरेको छ। इन्टरनेट प्रयोगकर्तालाई बाधा पुर्‍याउन गुगलले कुकी नियमको उल्लंघन गरेको आरोपमा सो रकम जरिवानास्वरुप तिर्नुपरेको हो।

फ्रान्सको तथ्यांक गोपनियता निगरानी निकाय सिएनआइएलले बिहीबार सो जानकारी दिएको हो। कुकी नियम उल्लंघन गर्दा गुगलले सिएनआइएलसमक्ष सो रकम जरिवाना तिर्नुपरेको अन्तर्राष्ट्रिय मिडियामा खबर छ। कुकीको नियम उल्लंघन गरेकै कारण तीन महिनाको अन्तरालमा अन्य दुई टेक कम्पनीलेसमेत जरिवाना तिर्नुपरेको सिएनआइएलले जनाएको छ।

जापान र अष्ट्रेलियाबीच सुरक्षा सहकार्य सन्धिमा हस्ताक्षर

मेलबर्नः अष्ट्रेलिया र जापानले रक्षा र सुरक्षा सहकार्य सन्धीमि हस्ताक्षर गरेका छन्। दुवै मुलुकले रक्षा र सुरक्षा सहकार्य बलियो पार्न बिहीबार भर्चुअल बैठकमार्फत् सो सन्धिमा हस्ताक्षर गरेका हुन्।

कोभिड-१९ लाई मध्यनजर गर्दै जापानी प्रधानमन्त्री फुमिओ किशिदाले अष्ट्रेलिया र अमेरिकाको भ्रमण रद्द गर्ने निर्णयपछि भर्चुअल समिटबाटै भए पनि दुई मुलुकले सो सन्धिमा हस्ताक्षर गरेको बताइएको छ।

चीनको सैनिक र आर्थिक स्वार्थ बढिरहेको बेला आफ्नो रक्षा र सुरक्षा निकाय बलिया पार्न दुवै मुलुकले सो सन्धिमा हस्ताक्षर गरेको बताइएको छ। दुई देशका शीर्ष नेताले रिसिप्रोकल एक्सेस एग्रिमेन्ट नामक सो सन्धिमा पहिलोपटक हस्ताक्षर गरेको अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले बताएका छन्। सो हस्ताक्षरपछि जापान र अष्ट्रेलियाको रक्षा बलको नयाँ कार्यदिशा हुने मोरिसनले बताएका छन्।

चीनको कारण अष्ट्रेलियाले जापान, भारत, अमेरिका र बेलायतसँग रक्षा सम्बन्ध बलियो बनाइरहेको रोयटर्समा खबर छ।

इन्डोनेसियामा बाढी, ३० हजार मानिस विस्थापित

मेदानः इन्डोनेसियामा बाढीका कारण ३० हजारभन्दा बढी मानिस विस्थापित भएका छन्। नयाँ वर्षको सुरुवातसँगै इन्डोनेसियाली टापु सुमात्रामा अतिबृष्टिपछि आएको बाढीका कारण ३० हजारभन्दा बढी मानिस विस्थापित भएका हुन्।

इन्डोनेसियाको विपद् रोकथाम विभागले बिहीबार दिएको जानकारीअनुसार यस हप्ता भारी वर्षासँगै आएको बाढीका कारण दुई बालबालिकाको मृत्यु भइसकेको छ भने एक हप्ता नवित्दै ३० हजारभन्दा बढी स्थानीय विस्थापित भएका छन्।

यस हप्ता इन्डोनेसियाको पश्चिमी टापु सुमात्राको जाम्बी र आसिह प्रान्तमा भारी वर्षासँगै बाढी आएको थियो। बाढीका कारण ठूलो मात्रामा भौतिक क्षति पुगेको त्यहाँका अधिकारीहरुले बताएका छन्। एकातिर कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रन संक्रमण र अर्कातिर बाढिको चपेटामा त्यहाँका मानिसहरु परिरहेको अधिकारीहरुले जनाएका छन्।

हाइपरसोनिक मिसाइल परीक्षण गरेको उत्तर कोरियाको दाबी

प्योङयाङः उत्तर कोरियाले आफुले बुधबार हाइपरसोनिक मिसाइल सफलतापूर्वक परीक्षण गरेको बताएको छ। उत्तर कोरियाले बिहीबार स्थानीय मिडिया केसीएनएमार्फत् सो जानकारी दिएको हो।

उत्तर कोरियाले करिब चार महिनापछि बुधबार पहिलो पटक सो मिसाइल परीक्षण गरेको हो। सन् २०२२ को सो पहिलो परीक्षण रहेको समेत स्थानीयले मिडियाले जानकारी दिएको छ।

बुधबारको परीक्षणबारे जापान र दक्षिण कोरियाले जानकारी दिएका थिए। उत्तर कोरियाले ब्यालिस्टिक मिसाइल प्रहार गरेको र त्यसबारे अनुसन्धान गरिने दुवै मुलुकले जनाएका थिए।

मूल्य वृद्धिविरुद्धको प्रदर्शनमा १ हजार प्रर्दशनकारी घाइते, दर्जनौं मारिएको दाबी

अल्माटीः काजकिस्तानको सुरक्षा बलले बिहिबार प्रहरीद्धारा दर्जनौ पर्दशनकारी मारिएको दाबी गरेको छ। इन्धनको मूल्य वृद्धिविरुद्ध बुधबार राति जारी प्रदर्शनमा दर्जनौं सरकारविरोधी प्रदर्शनकारीहरु मारिएको दाबी सुरक्षा बलले गरेको हो।

बुधबार दिउँसो प्रदर्शनकारी र प्रहरीबीचको झडपमा परी सुरक्षा बलका १२ सदस्य मारिएको त्यहाँका अधिकारीहरुले बताएका छन्। बुधबार राति अल्माटी सहरमा भएको प्रदर्शनमा प्रहरीद्वारा दर्जनौं सरकारविरोधी प्रदर्शनकारी मारिएको र अन्य १ हजार प्रदर्शनकारी घाइते भएको समेत त्यहाँका पहरी प्रवक्ताले जानकारी दिएका छन्।

काजकिस्तानमा पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासको दोब्बर मूल्य वृद्धि भएको भन्दै आइतबारदेखि राजधानी लगायतका सहरमा सयौं मानिसले सरकारविरुद्ध प्रदर्शन सुरु गरेका थिए। त्यसयता निरन्तर प्रदर्शन उग्र बनेको र मंगलबार काजकिस्तानका प्रधानमन्त्री र उनको मन्त्रिमण्डलले राजीनामा दिएको थियो।

बुधबारदेखि सो प्रदर्शन हिंसामा परिणत भएको र देशभर अशान्ति छाएको बताइएको छ। इनधनको मूल्य वृद्धिको विरोधमा देशभर अशान्ति छाएपछि काजकिस्तानका राष्ट्रपति कास्सिम जोमार्ट तोकायिभले रुससँग सहयोग मागेका थिए। राष्ट्रपतिको सो अपिलपछि रुसी नेतृत्वको सैन्य फौज मद्दतका लागि काजकिस्तान पुगेको अन्तर्राष्ट्रिय मिडियामा खबर छ।

गुजरातमा रसायन उद्योगबाट ग्यास चुहावट हुँदा ६ को मृत्यु

गुजरातः भारतको गुजरातस्थित सुरतमा रसायन उद्योगबाट विषाक्त ग्यास चुहावट हुँदा कम्तीमा ६ मजदुरको मृत्यु भएको छ। बिहीबार बिहानै सो उद्योगबाट ग्यास चुहावट हुँदा कम्तीमा ६ मजदुरको मृत्यु भएको हो।

ग्यास चुहावटका कारण अन्य २० भन्दा बढी मानिस विरामी परेका छन्। विरामीहरुको नजिकैको सुरत सिभिल अस्पतालमा उपचार भइरहेको भारतीय मिडियामा खबर छ। इन्डियन एक्सप्रेसकाअनुसार बिहीबार बिहान सचिन औद्योगिक क्षेत्रमा रसायन ट्यांकरबाट विषाक्त ग्यास चुहिएको थियो। सो ग्यास चुहावटपछि सो क्षेत्रमा कार्यरत मजदुरहरुको निस्सासिएर मृत्यु भएको हो।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.