हिउँ ६ हजार मिटरमाथि मात्रै

हिउँ ६ हजार मिटरमाथि मात्रै

धनगढी/ओखलढुंगा : बझाङको साइपाल गाउँपालिका–२ का तिलक विक २०६२ सालमा साइपाल हिमाल आरोहणमा गए। बेसक्याम्प आसपासका स्थानमा टम्म हिउँ थियो। बाजा राईढुंगी छेउछाउका हिमनदीमा हिउँकै साँघु थिए।

‘ससाना हिमनदी तर्न हिमसाँघु (हिउँ जमेर बनेका ससाना पुल) थिए। हामी धेरै हिमनदीमा जमेको हिउँको साँघु तरेका थियौं। तर, अहिले ती स्थानमा काठका साँघु बनाइएका छन्’, विक भन्छन्, ‘करिब १ हजार मिटरसम्म हिउँ पग्लिएको छ।’

उक्त हिमाल चीनको तिब्बतसँग जोडिएको क्षेत्र हो। ‘दुई दशकअघि साइपाल हिमाल जाँदा ४ हजार मिटरको उचाइमै हिउँ सुरु हुन्थ्यो’, उनी भन्छन्, ‘तर, अहिले ६ हजार मिटरबाट मात्रै हिउँ देख्न पाइन्छ।’ हिमालमा वैशाख र जेठमा पनि हिउँ भइरहने क्षेत्र घटिरहेको उनको भनाइ छ। जलवायु परिवर्तनका कारण हिउँ पग्लिन थालेपछि हिमताल, हिमझरना पनि सुक्न थालेका छन्। सेताम्मे देखिने पानीका झरनामा पानी घट्न थालेपछि तिनीहरूको सुन्दरतामा ह्रास आएको छ।

दुई÷तीन दशकअघि हिमाल भएको स्थान मरुमूभिजस्तै भएको छ। त्यतिबेला स्थानीयवासी हिउँमा यार्सागुम्बा खोज्न जाने गर्थे। ‘हरेक व्यक्तिले दैनिक १ हजारदेखि १५ सयसम्म यार्सागुम्बा संकलन गरेका उदाहरण छन्। तर, हिमालको आयतन घट्यो, क्षेत्र पनि घट्यो। अहिले दुई–ढाई सय मात्रै यार्सा संकलन हुन्छ’, साइपाल गाउँपालिका अध्यक्ष राजेन्द्रबहादुर धामी भन्छन्।

साइपाल हिमाल ७ सय ३१ मिटर उचाइमा छ। दुई दशकअघि गर्मीयाममा पनि ४ हजार मिटरदेखि हिउँ देखिन्थ्यो। तर, अहिले हिउँ पग्लिएर माथि गएको छ। ‘अहिले ६ हजार मिटरदेखि मात्रै हिउँ सुरु हुन्छ। यो भनेको जलवायुमा आएको परिवर्तन भन्न सकिन्छ’, गाउँपालिका अध्यक्ष धामी भन्छन्, ‘हिमाल जोगाउन संघीय सरकारको कुनै दीर्घकालीन योजना आउनु जरुरी छ।’

सुदूरपश्चिममा बझाङको साइपाल र दार्चुलाको अपी हिमाल मात्रै आरोहणको सूचीकरणमा छन्। अपीको पनि अवस्था दयनीय छ। दार्चुलाको ब्यास गाउँपालिका–४ सुनसेराका शिक्षक पदमराज भट्ट भन्छन्, ‘हिमाल माथि माथि गएको पछिल्ला दुई दशककै अवधीमा देख्न सकिन्छ।’ कांग्रेसका दार्चुला जिल्ला सभापति ललित बोहराको घर ब्यास गाउँपालिका छाङ्रु हो। बोहरा भन्छन्, ‘अहिले हिमपात पनि कम हुन्छ। अघि अपी हिमाल आसपासको पनि हिउँ पग्लिन थालेको छ।’ 

जलवायु परिवर्तनको असर अरू क्षेत्रमा पनि पर्न थालेको छ। काफल उच्च लेकाली क्षेत्रमा हुने फल हो। काफल चैतमा पाकेर वैशाखमा सकिने गर्छ। तर, डडेल्धुराको गन्यापधुराका नवराज भण्डारी भन्छन्, ‘माघमा काफल पाकेको छ। काफल फल्ने मौसम चैत भए पनि यसले माघमा त्यहीअनुसारको ताफक्रम पायो र पाक्न सुरु भयो। अथवा जलवायु परिवर्तनका कारण तापक्रम बढेकाले यस्तो भएको हो।’ 

पहाडमा गुराँस पनि चैत र वैशाखमा फुल्छ। सुदूरपश्चिमका ७ पहाडी जिल्ला डडेल्धुरा, बैतडी, दार्चुला, बझाङ, अछाम, डोटी र बाजुराका वनमा पर्याप्त मात्रामा लालीगुराँस पाइन्छ। ‘बैतडीको सिगासका हरिश अवस्थी भन्छन्, ‘माघमा लालीगुराँस फुल्ने गरेको छ। यो जलवायु परिवर्तनकै असर भन्न सकिन्छ।’ 

सोलुखुम्बुको पाङ्बोचेमा एक दशक पहिलेसम्म हिमरेखा देखिन्थ्यो। तर, अहिले त्यो फेरिचेमा मात्रै भेट्न सकिन्छ। हिमरेखा उकालो लागेको महसुस सगरमाथा आरोही पीके शेर्पाले गरेका छन्। पाङ्बोचे करिब ४ हजार मिटर र फेरिचे ४ हजार ५ सय हाराहारी पर्छ। 

यस्तै हो भने अबका दशकमा ५ हजार मिटरमा मात्रै हिमरेखा भेट्न सकिने शेर्पा बताउँछन्। जुन ठाउँमा हिउँ परेर निरन्तर रहिरहन्छ त्यसलाई हिमरेखा भनिन्छ। 

अघिल्ला दशकमा देखिएका ट्री लाइन अर्थात बोटबिरुवा उम्रन तथा बाली फल्न सक्ने लाइन पनि माथि सरेको छ। शेर्पाका अनुसार नाम्चेतिर ८ महिनामा पाक्ने बाली ६ महिनामै पाक्न थालेको छ। बागबानी केन्द्र फाप्लु सोलुखुम्बुका निमित्त बागवानी अधिकृत उपेन्द्र ठाकुर बेलै नभई स्याउ फुल्ने र त्यसरी अगाडि नै फुलेका स्याउको गुणस्तर कम हुने समस्या निरन्तर आएको बताउँछन्। 

कस्ता छन् अध्ययनका निष्कर्ष ?
सरकारी तहबाट यसबारे पर्याप्त अनुसन्धान र जलवायु अनुकूलनका काम हुन सकेको देखिँदैन। जलवायु परिवर्तन नीति २०६७ मा सगरमाथा क्षेत्रमा रहेको हिमरेखा करिब ९ दशकको दौरानमा ३३० फिट उचाइ गलन (भर्टिकल लस्) भएको उल्लेख छ। हिमगलनका कारण नयाँ हिमताल बन्दै गएका तथा नेपालका नदीमा सन् २०३० सम्म केही मात्रामा पानीको वहाव बढे पनि यस शताब्दीको अन्त्यमा ठूलो परिमाणमा घट्ने अनुमान गरिएको छ।

खुम्बुबाहेक हिमालमा पनि तापक्रम वृद्धिको असर फरक छैन। कञ्चनजंघा र मकालु क्षेत्रमा पनि हिमरेखा उकालो लाग्ने र ट्रिलाइन माथि सरेका तथ्य भेटिएका छन्। 

बेलायतको लिड्स र अमेरिकाको एरिजोना विश्वविद्यालयका अध्येताले सन् १९८४ देखि २०१५ सम्म गरेको अध्ययनले खुम्बु क्षेत्रमा सो अवधिमा ३८५ प्रतिशतले हिउँ पोखरी बढेको उल्लेख गरेको पाइन्छ। खुम्बुमा ३० वर्षअघि पोखरीको क्षेत्रफल २८ हजार ७ सय ५५ वर्गमिटर थियो। सन् २०१५ मा बढेर १ लाख ३९ हजार १५ वर्गमिटरमा फैलिएको सोधकर्ताहरूको दाबी छ। यसरी फैलिएका हिमताल फुट्ने र त्यहाँ जम्मा भएको पानीले पहाडदेखि तराईसम्म डरलाग्दो बाढीपहिरोको विपत्ति निम्त्याउने खतरा छ। 

जापनाको नागोया विश्वविद्यालयका प्राध्यापक केइजी हिगुचीले सन् १९६३ मै नेपालका ग्लेसियरबारे अध्ययन गरी हिमनदी सानो हुँदै गएको तथ्य बाहिर ल्याएका थिए। उनले २० वर्ष अवधिमा ग्लेसियर २ सय मिटर माथि सरेको उल्लेख गरेका छन्। 

तापक्रम वृद्धि
इसिमोडको अध्ययनले भने पृथ्वीभन्दा नेपालको हिमाल क्षेत्रको तापक्रम वृद्धिदर धेरै हुने प्रक्षेपण गरेको छ। विश्वको तापक्रम वृद्धिदर १.५ डिग्रीमा रोक्न सके पनि हिन्दु–कुश क्षेत्रको हिमालमा त्यसको तुलनामा ०.३ डिग्री उच्च तापक्रम रहनेछ। हिमाली भेगमा कुनै बेला तापक्रम उच्च हुने त कुनै बेला चिसो हुने गरेको छ। कहिले पुस नलाग्दै हुने हिमपात कहिले चैतसम्मै हुन थालेको छ। 

बढ्दो तापक्रमको पहिलो असर हिमालमा पर्ने गरेको छ। यसले नेपालजस्तो भूगोल भएको देशलाई ठूलो असर पर्ने विज्ञको बताउँछन्। पहाडका सुक्खा र भिरालो जमिन भएका भूगोलमा अत्यधिक वर्षा हुँदा बाढीपहिरो जाने, कतै पानी नपर्दा मुहान सक्दै जाँदा काकाकुल भोग्नुपर्ने बाध्यता छ।

सन् २०२० मा नेपालसहित चीन, भारत, म्यानमार, अफगानिस्तान, पाकिस्तान, भुटानका ग्लेसियरको बृहत् अध्ययन गरेको इसिमोडको अध्ययन प्रतिवेदनले ४७ वटा खतरनाक हिमतालमध्ये नेपालमा २१ वटा फुट्न सक्ने जोखिम औंल्याएको छ। सो अध्ययनले हिउँ पग्लिएर बनेको इम्जा र च्छो रोल्पालाई सबभन्दा जोखिमपूर्ण भनेको छ। सबैभन्दा जोखिम रहेको इम्जा क्षेत्रमा सन् १९८८ देखि सन् २००८ सम्ममा १ डिग्री सेल्सियसले तापक्रम वृद्धि भएको देखाएको थियो। लगत्तै सन् २०१६ मा इम्जा तालबाट ३.४ मिटर ताल पानीको सतह घटाइएको थियो।

पर्यटन मन्त्रालयका अनुसार नेपालमा ६ हजार मिटरभन्दा बढी उचाइका १ हजार ३ सय १० भन्दा बढी हिमाल छन्। जुन नेपालको उत्तरतर्फ पूर्वदेखि पश्चिमसम्म फैलिएको छ। नेपालको चौडाइ करिब २ सय किलोमिटरले मात्र फैलिएको छ। कुनै पनि हिमताल फुट्यो भने हिमतालबाट बगेर जाने नदी आसपासको बस्ती हिमालदेखि तराईसम्मै बगाउने जोखिम उत्तिकै छ। 

यो वर्ष कात्तिकसम्म भएको भारी वर्षाले पहाडदेखि तराईसम्मै बाढीपहिरो नित्याउनु, पहाडमा नयाँ–नयाँ प्रजातिका बोट बिरुवा भेटिनु पनि जलवायु परिवर्तनको असर भएको डब्लूडब्लू एफ नेपालका जलवायु र ऊर्जा कार्यक्रमका प्रमुख दिपेश जोसी बताउँछन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.