पब्जीको लत : प्रेमिकाको हत्यापछि आत्महत्या !

पब्जीको लत : प्रेमिकाको हत्यापछि आत्महत्या !

काठमाडौं : पब्जी खेल खेल्दाखेल्दै संखुवासभाका अनिश जिमी र खोटाङकी युसुना राईको चिनजान भयो। नम्बर साटे। भेट भयो। मायाप्रेम बस्यो। 

छिट्टै लगनगाँठो कस्ने सुरसारमा पनि थिए। दुवै काठमाडौंमा बस्थे। तर, शुक्रबार विहान कपनस्थित घरमा सुतेकै कोठामा युवती मृत भेटिइन्। युवक घाइते अवस्थामा। अस्पताल पुर्‍याउँदा युवकको मृत्यु भयो। युसुनाको शरीरभरि चोट थियो, अनिशको घाँटीमा। हत्या वा आत्महत्या प्रहरीले अनुसन्धान गरिरहेको छ। 

अनिशले प्रेमीका युसुनाको हत्या गरी आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुमान छ। महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी चन्द्र कुँवर खापुङ युवकले युवतीको हत्या गरेर आफूले आत्महत्या गरेको हुन सक्ने बताउँछन्। ‘घटनाको प्रकृति हेर्दा प्रेमिकाको शरीरभरि चक्कु हानेर आफूले पनि आत्महत्या गरेको जस्तो देखिन्छ,’ उनले भने।

शुक्रबार बिहान २ बजे प्रहरी घटनास्थलमा पुग्दा युवतीको मृत्यु भएको थियो। युवकको घाँटीमा चक्कु रोपेको चोट थियो, मन्द गतिमा सास फेरिरहेका थिए। अस्पताल पुर्‍याउँदा चिकित्सकले उनीहरूलाई मृत घोषणा गरे। ‘परिवारले जानकारी दिनसाथ प्रहरी घटनास्थलमा पुगेको थियो। तर, बचाउन सकिएन,’ प्रहरी प्रमुख खापुङले भने। 

हालसम्म घटनाको प्रकृति हेर्दा बाहिरी व्यक्तिको संलग्नता नभएको हुन सक्ने प्रहरीको तर्क छ। ‘घटनामा बाहिरी मान्छेको सहभागिता भए जस्तो लाग्दैन। युवती नग्न अवस्थामा थिइन् भने युवक अर्धनग्न। आपसी झगडा हुँदा आवेशमा युवकले हत्या गरेको जस्तो देखिन्छ,’ उनी भन्छन्।  घाइते अवस्थाका युवकलाई राति नै चाबहिलस्थित हेल्पिङ ह्यान्ड अस्पतालमा पुर्‍याइएको थियो। अस्पतालमा पुर्‍याएपछि उनलाई डाक्टरले मृत घोषणा गरेका थिए। 

संखुवासभा घर भएका अनिश २५ वर्षीय हुन्। खोटाङकी युसुना २२ वर्षीया। प्रहरीका अनुसार इन्टरनेटबाट जोडिएर पब्जी पेज हुँदै प्रेमिप्रेमीका बने। उनीहरू कपनस्थित राधा खतिवडाको घरमा बस्थे। घरभेटी राधा अनिशकी ठूलीआमा हुन्। राधाकै घरमा अनिशका आमाछोरा १५ वर्षयता बस्दै आएका थिए। युसुना र अनिश लिभिङ टुगेदरमा थिए। तीन वटा कोठा उनीहरूले लिएका थिए। सँगै अनिशकी आमासमेत बस्थिन्। 

बिहीबार राति १२ बजे एक्कासि कोठामा ड्याङ्ग–ड्याङ्ग डुङ्ग–डुङ्ग आवाज आएपछि आमाले थाहा पाइन्। ढोका खोल्न लगाउँदा नखुलेपछि हल्ला गरेर छिमेकी बोलाइन्। छरछिमेकी आएर ढोका फोरेर हेर्दा युवती मृत भेटिएकी थिइन्। घटनास्थलमा धारिलो चक्कु थियो।

महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी सुदीप गिरीका अनुसार युवकयुवतीमा पब्जी खेलको लत थियो। युवककी आमाको भनाइलाई उद्धृत गर्दै गिरी भन्छन्, ‘युवकयुवतीबीच खासै लामो चिनजान थिएन। पब्जी खेल्ने क्रममै चिनजान भएर २२ दिन अघिदेखि सँगै बस्न थालेका थिए। अरू दिन पनि उनीहरूको कोठाबाट हान् हान्, मार् मार भन्ने गरेको आवाज आउने गरेको थियो। जुन पब्जीमा भन्दै खेल्ने गरेका हुन्छन्। केही दिनअघि नै आमाले आवाजको बारेमा सोध्दा गेम खेलेको भनेका थिए। 

घटना भएको रात पनि उनीहरूको कोठाबाट हान् हान्, मार् मार् आवाज आइरहेको थियो। जसलाई आमाले सामान्य मानिन् पनि। फुर्सद भयो कि पब्जी खेलमै व्यस्त हुन्थे उनीहरू। पब्जी र फ्रिफायरजस्ता इन्टरनेटबाट खेलिने गेमले मानिसलाई आक्रामक बनाउने बताउने गिरीले भने, ‘कपन घटना पब्जी खेलकै कारण घटेको हुन सक्छ। खेलकै विषयमा झगडा भएर पनि युवक आवेशमा आएको होला।’ 

बिहीबार बेलुका युवतीले खानामा मासु चिउरा खाने भनेपछि उनीहरूसँगै बसेर खाएका थिए। अनिशले आमासँग एक हजार रुपैयाँ मागेर रक्सी पनि किनेको प्रहरीको अनुसन्धानबाट देखिन्छ। मासु, चिउरा र रक्सीको बोतल लिएर कोठा पसेका उनीहरू जीवित फर्किएनन्। मापसे र पब्जीको कारण सामान्य कुरामा विवाद हुँदा घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ। ‘मार्ने र मर्नु पर्ने अन्य कारण नै देखिँदैन। कोठामा अन्य मानिस पनि गएका छैनन्।’

दुवै जनाको शव पोस्ट्मार्टमका लागि शिक्षण अस्पताल महाराजगन्जमा राखिएको छ। मृतक युवतीको परिवार काठमाडौं आइनपुगेको महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी नायब उपरीक्षक डुन्डीराज न्यौपानेले बताए। उनका अनुसार बुवासँग कुराकानी भएको र उनले छोरी काठमाडौंको रेस्टुरेन्टमा काम गर्ने र साथीकोमा बस्ने आफूलाई बताएको प्रतिक्रिया दिए। 

पछिल्लो समय अनिश र युसुना विदेश जाने मनस्थितिमा पनि थिए। दुवैले पासपोर्ट आशमान नेपाल म्यानपावर कम्पनीमा बुझाएका थिए। तर, स्वास्थ्य परीक्षणमा अनिश फेल भएपछि विदेश जान नपाउने भए। यता प्रेमिका विदेश जान मिल्ने र आफू नमिल्ने भएपछि उनीहरूबीच बेलामौकामा विवादसमेत हुने गरेको प्रहरी अनुसन्धानले देखाएको छ। 

युवतीलाई युवकले अमेरिकन चक्कु प्रहार गरेको प्रहरीले बताएको छ। लगातार पब्जी खेल्नेहरूमा मानसिक समस्या देखिने र अरूभन्दा आक्रामक हुने गरेको विभिन्न अनुसन्धानले देखाउँछ। पब्जी अहिले बालबालिका र युवायुवतीले बढी खेल्छन्। मनोरञ्जनका लागि खेलिने यो खेलले पछिल्लो समय युवायुवतीमा गहिरो असर देखिन थालेको छ। सरकारले यो खेल खेल्न प्रतिबन्ध लगाएको तीन वर्ष भयो। तर, ‘भीपीएन’ नामक एप्स प्रयोग गर्दै युवाहरूले खेल्न छाडेका छैनन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.