बसन्त बस्नेतले ल्याए ‘महाभारा’
काठमाडौं: पत्रकार एवं लेखक बसन्त बस्नेतको नयाँ औपन्यासिक कृति ‘महाभारा’ लोकार्पण गरिएको छ। काठमाडौंको बौद्धस्थित तारागाउँ म्युजियममा शनिबार आयोजित ‘महाभारा मेला’ विशेष कार्यक्रममा बस्नेतकी छोरी अनुदिता बस्नेतले पुस्तक लोकार्पण गरिन्।
मेलामा पुस्तक लोकार्पण कार्यक्रमसँगै उपेन्द्र सुब्बाले किताबबारे टिप्पणी गरे। युद्धको क्रूर समयमा हुर्केको सुन्दर प्रेम कथा नै ‘महाभारा’ रहेको उनको भनाइ छ। ‘मलाई त यस्तो लाग्छ, यो पहरामा फुलेको अम्लारी फुङ (सुनाखरी फूल) हो,’ उनले भने।
कार्यक्रममा लेखक बस्नेतसँग पत्रकार एवं लेखक शिवानीसिंह थारुले संवादसमेत गरिन्। संवादमा थारुले पुस्तक लेखनदेखि यसका पात्रहरूको मनोविज्ञानका विविध पक्षमा आधारित रहेर बस्नेतसँग संवाद गरेकी थिइन्।
तत्कालीन युद्धरत पक्ष माओवादी र नेपाली सेना थिए। तिनका बीचमा सर्वसाधारण जनता पिल्सिएका थिए। तर पुस्तकमा लेखकले द्वन्द्वको चित्रण गर्दा सबै पक्षबीच ‘ब्यालेन्स’ मिलाएको पनि थारुको भनाइ छ।
कोभिडका कारण सुरु भएको लकडाउनमा आफूले समय पाएको र त्यही बेला उपन्यास लेखनलाई गति दिएको लेखक बस्नेतले बताए। ‘लकडाउनले धेरैलाई कवि बनायो। मलाई उपन्यासकार,’ उनले भने, ‘एउटा कथानक धेरै अघिदेखि हृदयमा गुम्फिइरहेको थियो, जुनसुकै बेला ल्यापटपमा तप्किन तयार। पहिलो मस्यौदा लेखिइँदा म नेपाल म्यागजिन सम्पादन गर्दै थिएँ। अग्रज आख्यानकार नारायण वाग्लेलाई एकसरो देखाएर सुझाव लिने बेलासम्म पत्रिकाको नेतृत्वबाट बाहिरिइसकेको थिएँ। मसँग उपन्यासका लागि सोच्ने पर्याप्त समय भइदियो। फुर्सदमा व्यस्त बन्न पाएँ। त्यसैले यो किताब तयार हुन सक्यो।’