एमाले दैलेखको अध्यक्षमा शर्मा र शाहीबीच प्रतिस्पर्धा हुने
दैलेख : नेकपा एमाले दैलेखको अध्यक्षमा रविन्द्रराज शर्मा र सूर्यबहादुर शाहीबीच प्रतिस्पर्धा हुने भएको छ। छैठौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका शर्मा र शाहीबीच अध्यक्षका लागि प्रतिस्पर्धा हुने भएको हो। शर्मा प्रतिनिधि सभा सदस्यसमेत हुन्। जिल्ला विकास समितिका पूर्व उपसभापतिसमेत रहेका शाही केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा गठित भूमि सम्बन्धी समस्या समाधान आयोग जिल्ला समिति दैलेखका अध्यक्ष थिए।
अध्यक्ष पदका लागि सुरुमा ६ जनाको उम्मेदवारी परेको थियो। चामुण्डाविन्द्रासैनी नगरपालिकाका मेयर सूर्यबहादुर शाही, ठाटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाही, कर्णाली प्रदेश सभा सदस्य शुसिल थापा र एमाले नेता कर्णबहादुर खड्कालेसमेत एमाले दैलेखको अध्यक्ष पदका लागि उम्मेदवारी दिएका थिए। उनीहरु चारै जनाले उम्मेदवारी फिर्ता लिएपछि शाही र शर्माबीच मात्रै चुनावी प्रतिस्पर्धा हुने भएको हो।
शुक्रबारबाट सुरु भएको सातौँ जिल्ला अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि निर्वाचन हुन लागेको हो। अधिवेशन उद्घाटनसँगै सर्वसम्मत नेतृत्व चयनका लागि भएका प्रयासहरु असफल भएका हुन्।
एमाले दैलेखको उपाध्यक्षमा भने नन्दकिशोर बस्नेत निर्विरोध निर्वाचित भएका छन्। उपाध्यक्षका लागि उम्मेदवारी दर्ता गराएका आठबीस नगरपालिकका मेयर खड्गराज उपाध्यायले उम्मेदवारी फिर्ता लिएसँगै बस्नेत निर्विरोध निर्वाचित भएको निर्वाचन कमिटिका प्रमुख निर्वाचन अधिकृत हिमालयजंग शाहले बताए। बस्नेत औधोगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्षसमेत हुन्।
यस्तै एमाले दैलेखको सचिवमा रुद्धबहादुर शाही र तिलक प्रसाद रिजालबीच चुनावी प्रतिस्पर्धा हुनेभएको छ। उपसचिव पुरुष (खुला)तर्फ गंगाराम दाहाल, चन्द्रप्रसाद दाहाल, जनक न्यौपाने, कविराज खत्री, प्रेमबहादुर खड्का, विष्णुबहादुर शाही र लोकेन्द्रजंग शाहीबीच चुनावी प्रतिस्पर्धा हुनेभएको छ। उपसचिव महिलातर्फ कलावती न्यौपाने र लक्ष्मीकुमारी कार्कीको उम्मेदवारी परेको प्रमुख निर्वाचन अधिकृत शाहले बताए। न्यौपाने र कार्कीबीच उपसचिव महिलाका लागि चुनावी प्रतिस्पर्धा हुने भएको हो।
एमाले दैलेखको नयाँ नेतृत्व चयनका लागि सोमबार मतदान हुँदैछ। प्रमुख निर्वाचन अधिकृत शाहका अनुसार सोमबारै मतदान सकिने बताए। उनका अनुसार नयाँ नेतृत्व चयनका लागि जिल्ला सदरमुकामस्थित कबर्ड हलमा मतदान हुनेछ।